माओवादी केन्द्रका राष्ट्रियसभा सदस्यका उम्मेदवार को कस्ता ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
२८ पटक हेरिएको
Shares
माओवादी केन्द्रका राष्ट्रियसभा सदस्यका उम्मेदवार को कस्ता ?

सारांश

  • काठमाडौं, ११ माघ ।
  • २४ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि माओवादी केन्द्रका १३ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।
  • एमालेसँग गठबन्धन गरेर उम्मेदवारी दर्ता गरेको माओवादीले राष्ट्रियसभामा १४ सिट पाएको थियो।

काठमाडौं, ११ माघ । २४ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि माओवादी केन्द्रका १३ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। एमालेसँग गठबन्धन गरेर उम्मेदवारी दर्ता गरेको माओवादीले राष्ट्रियसभामा १४ सिट पाएको थियो। तर प्रदेश २ मा नरेन्द्र साहले उम्मेदवारी दर्ता गराउन पाएनन्।

माओवादीले प्रदेश १ बाट विना पोखरेल, प्रदेश २ बाट शशिकला दाहाल, प्रदेश ३ बाट रामबहादुर थापा ‘बादल’ र गंगा पराजुलीलाई उम्मेदवार बनाएको छ। यस्तै, प्रदेश ४ बाट दिनानाथ शर्मा र खिमकुमार विक तथा प्रदेश ५ बाट राजकुमार कुँवर र चन्द्रबहादुर खड्कालाई उम्मेदवार बनाएको छ।

यसैगरी प्रदेश ६ बाट जीवन बुढा, युटुल लामा र कालीबहादुर मल्ल तथा प्रदेश ७ बाट महेशकुमार महरा र हरिराम चौधरीलाई उम्मेदवार बनाएको छ। माओवादी केन्द्रले चुनाव हारेका तथा समानुपातिक सूचीमा रहेकालाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार नबनाउने मापदण्ड बनाएको थियो।

रामबहादुर थापा ‘बादल’
माओवादी केन्द्रका वरिष्ठ नेता बादल प्रदेश ३ बाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनेका छन्। यसअघि प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगरेका उनलाई माओवादीले राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनाएको हो।

२०३७ सालदेखि राजनीतिमा होमिएका थापा माओवादी जनयुद्धमा सक्रिय सहभागी भएका थिए। उनी शान्ति प्रक्रियाका लागि माओवादी र सरकारबीच भएको वर्ता टोलीका सदस्यसमेत हुन्।

उनी तत्कालीन माओवादीका महासचिवसमेत हुन्। उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनका चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। उनले एक पटक रक्षामन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने थापा मोहन वैद्य ुकिरणु नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा थिए। उनले त्यस समय निर्वाचन बहिष्कार गरेका थिए।राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेका थापा राष्ट्रियसभा अध्यक्षका दाबेदारसमेत भएको माओवादीभित्र चर्चा छ।

दीनानाथ शर्मा
माओवादी केन्द्रका नेता शर्मा प्रदेश ४ बाट राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनेका छन्। उनी २०४२ सालदेखि भूमिगत राजनीतिमा लागेका थिए। उनी लामो समयसम्म मोहनविक्रम सिंहको मसालमा रहेर प्रवक्ताको जिम्मेवारीसमेत पाइसकेका छन्।

उनी माओवादी जनयुद्ध सुरु भएपछि माओवादीमा प्रवेश गरेर जनयुद्धमा सक्रिय भूमिका खेलेका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा बागलुङबाट निर्वाचित शर्मा डा बाबुराम भट्टराईको मन्त्रीमण्डलमा शिक्षामन्त्री भएका थिए। उनी बिरामी भएका कारण २०७० सालको निर्वाचनमा भने प्रतिस्पर्धा गरेनन्।

गंगा पराजुली
प्रदेश ३ बाट राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दिएकी माओवादी नेतृ पराजुली पूर्व सभासद हुन्। उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीबाट समानुपातिक सांसद बनिन्। उनले २०७० सालको संविधानसभा निर्वाचनमा भने प्रतिस्पर्धा गरिनन्।

विद्यार्थी जीवनबाटै राजनीतिमा प्रवेश गरेकी पराजुली २०५४ सालमा अनेमसंघ क्रान्तिकारीको काभ्रे जिल्ला अध्यक्ष हुँदै २०५५ देखि २०६३ सालसम्म केन्द्रीय कोषध्यक्ष भइन्। उनी हाल माओवादी केन्द्रको कन्द्रीय सदस्य छन्।

खिमबहादुर विक
माओवादी केन्द्रका तर्फबाट प्रदेश( ४ सदस्य उम्मेदवार विक माओवादीका पुराना नेता हुन्। उनी अहिले ४ नम्बर प्रदेशको पार्टी सहसंयोजक छन्। उनले माओवादीको १० वर्षे जनयुद्धका बेलामा महत्त्वपूर्ण भूमिका खेलेका थिए।

विक स्याङ्जाका पुराना नेता हुन्। उनले युद्धकालमा नै पार्टीको स्याङ्जा सेक्रेटरीका रूपमा काम गरिसकेका छन्। दलित आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका विकले हालसम्म कुनै लाभको पद लिएका छैनन्।

विना पोखरेल
प्रदेश १ बाट महिला कोटामा राष्ट्रियसभा सदस्य उम्मेदवार बनेकी पोखरेल माओवादी केन्द्रको प्रदेश १ का इञ्चार्ज सावित्रीकुमार काफ्लेकी श्रीमती हुन्। उनी हाल माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार छन्।

पोखरेललाई उम्मेदवार बनाएपछि यतिबेला सामाजिक सञ्जालमा उनको विरोध सुरु हुन थालेको छ। काफ्लेले प्रतिनिधिसभा निर्वाचनमा मोरङ ३ बाट प्रतिस्पर्धा गर्ने मनस्थिति बनाए पनि पाएनन्। आफूले नपाएपछि श्रीमतीलाई राष्ट्रियसभा सदस्यका लागि उमेदवार बनाएको भन्दै माओवादी केन्द्रभित्र विरोध सुरु भएको छ।

तर विनाले माओवादी आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको श्रीमान काफ्ने बताउँछन्। उनले जनयुद्धदेखि नै पार्टीको विभिन्न समितिमा बसेर काम गरिसकेको दाबी गरे।

कालीबहादुर मल्ल
प्रदेश ६ बाट राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दिएका मल्ल २०३९ सालबाट कम्युनिष्ट आन्दोलनमा प्रवेश गरेका हुन्। उनले विभिन्न समयमा पार्टीका विभिन्न पदमा रहेकर जिम्मेवारी सम्हालिसकेका छन्।

उनी अहिले पार्टीको सचिवालय सदस्य छन्। मल्ल २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा जाजरकोटबाट निर्वाचित भएका थिए।

हरिराम चौधरी
माओवादी केन्द्रका प्रदेश ७ बाट राष्ट्रियसभा सदस्य उम्मेदवार बनेका चौधरी २०५७ सालदेखि माओवादीमा आवद्ध छन्। उनी माओवादी केन्द्रको कैलाली जिल्ला अध्यक्ष हुँदै हाल जिल्ला संयोजक छन्।

उनले हालसम्म कुनै पनि निर्वाचनमा प्रतिस्पर्धा गरेका छैनन्। जिल्लाको राजनीतिमा सक्रिय चौधरी थारू राष्ट्रिय मुक्ति मोर्चाका महासचिव हुन्।

चन्द्रबहादुर खड्का
खड्काले माओवादी केन्द्रका तर्फबाट प्रदेश– ५ बाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। उनी पार्टीको विभिन्न तहमा काम गर्दै आएका नेता हुन्। उनी २०३७ सालबाट विद्यार्थी राजनीतिबाट कम्युनिष्ट आन्दोलनमा प्रवेश गरेका हुन्। उनले २०४८ सालको कर्मचारी आन्दोलनमा समेत सक्रिय भूमिका खेलेका थिए।

खड्का २०४९ सालको स्थानीय निकायको निर्वाचनमा अर्घाखाँचीको बाँगी गाविसको उपाध्यक्ष निर्वाचित भएका थिए। उनले २०५३ सालसम्म उपाध्यक्ष, कार्यवाहक अध्यक्ष हुँदै जनप्रतिनिधिका रूपमा काम गरे।

उनले २०५३ सालपछि माओवादीको १० वर्षे जनयुद्धमा सक्रिय रूपमा काम गरे। उनी माओवादीको अर्घाखाँची जिल्ला इञ्चार्ज हुँदै हाल केन्द्रीय कार्यालय सदस्य छन्।

जीवन बुढा
माओवादी केन्द्र प्रदेश ६ बाट राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनेका बुढा माओवादी आन्दोलनका घमइते हुन्। आन्दोलनका समयमा उनलाई १३ पटक गोली लागेको थियो। उनको शरीरमा अहिले पनि गोलीको छर्रा छ। उनी आन्दोलनका क्रममा बम विस्फोटको आवाजले गर्दा बायाँ कान पनि राम्रो सुन्दैनन्।

उनी माओवादी जनयुद्धको सुरुवात २०५२ सालबाट राजनीतिमा प्रवेश गरेका थिए। उनी पार्टीका विभिन्न मोर्चा सम्हाल्दै जनमुक्ति सेनाको कैलालीको सातौँ डिभिजन कमाण्डरसमेत भए। हाल उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य छन्।

युटोल लामा
लामा २०५७ सालदेखि माओवादीमा आवद्ध छन्। उनी यस पटक माओवादी केन्द्रका तर्फबाट प्रदेश ६ बाट राष्ट्रियसभा निर्वाचनमा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन्। उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सूचीमा परेकी थिइन् तर सभासद भने बन्न सकिनन्।

यस्तै, स्थानीय तहको निर्वाचनमा मुगुको मुगुमकर्मारोंग गाउँपालिकाको उपाध्यक्ष प्रतिष्पर्धा गरेकी थिइन् उनले। उनी हाल अनेमसंघ क्रान्तिकारीको केन्द्रीय सदस्य छन्।

महेशकुमार महरा
प्रदेश ७ बाट राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दिएका महरा माओवादीका पूर्व लडाकु हुन्। उनी २०५६ सालबाट विद्यार्थी राजनीतिबाट जनयुद्धमा प्रवेश गरेका थिए। उनी २०५७ सालदेखि पार्टीको पूर्णकालीन राजनीतिमा प्रवेश गर्दै भूमिगत भए। उनी यस पटक अपांग कोटाबाट राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनेका छन्।

माओवादी जनयुद्धका क्रममा २०६० सालमा माओवादी र सरकार पक्षबीच भएको भीडन्तमा उनी घाइते भएका थिए। उनको टाउकोमा अहिले पनि निकाल्न नमिल्ने गोलीको छर्रा रहेको छ। उनी हाल डडेल्धुराबाट माओवादी केन्द्रको राजनीति गरिरहेका छन्।

शशिकला दाहाल
दाहालले माओवादी केन्द्रका तर्फबाट प्रदेश( ३ मा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छन्। उनी माओवादी केन्द्रको भ्रातृ संगठन नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनकी उपाध्यक्ष हुन्।

यस्तै, उनले अनेमसंघ क्रान्तिकारीको केन्द्रीय संयोजकको रूपमा काम गरिसकेकी छन्। लामो समय शिक्षण पेसा गरेकी दाहाल २०६४ सालमा पार्टीले समानुपातिक सूचीमा राखेपछि पेसाबाट अलग भएकी थिइन्। उनी २०७० सालमा पनि समानुपातिक सूचीमा परे पनि अहिलेसम्म सांसद भएकी छैनन्।

राजकुमार कुँवर
माओवादी केन्द्रका तर्फबाट कुँवरले प्रदेश ५ बाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। उनी पार्टीमा विभिन्न जिम्मेवारीमा काम गर्दै आएका नेता हुन्।

उनी जनयुद्धका घाइतेसमेत हुन्। युद्धका क्रममा उनको खुट्टा फ्र्याक्चर भएको छ। थाहाखबरबाट साभार

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?