मोदी मन्त्रीमण्डलमा एस. जयशंकर बने विदेशमन्त्री, अमित शाह र राजनाथ सिंहलाई गृह र रक्षाको जिम्मेवारी
सारांश
- भारतको नवगठित मन्त्रिपरिषदको कार्य विभाजन गरिएको छ ।
- भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह नयाँ गृहमन्त्री बनेका छन् भने पूर्व गृहमन्त्री राजनाथ सिंहलाई रक्षा मन्त्रालयको जिम्मेबारी दिइएको छ ।
- राजनीतिक वृतलाई अचम्ममा पार्दै मन्त्रीका रुपमा सामेल गरिएका एक मात्र गैर सांसद तथा पूर्व विदेश सचिव एस जयशंकर मोदी सरकारका विदेश मन्त्री बनेका छन् ।
भारतको नवगठित मन्त्रिपरिषदको कार्य विभाजन गरिएको छ । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह नयाँ गृहमन्त्री बनेका छन् भने पूर्व गृहमन्त्री राजनाथ सिंहलाई रक्षा मन्त्रालयको जिम्मेबारी दिइएको छ । राजनीतिक वृतलाई अचम्ममा पार्दै मन्त्रीका रुपमा सामेल गरिएका एक मात्र गैर सांसद तथा पूर्व विदेश सचिव एस जयशंकर मोदी सरकारका विदेश मन्त्री बनेका छन् । नेपालमा संविधान जारी हुनुभन्दा दुई दिन अघि मात्र विदेश सचिवका रुपमा आई संविधान तत्काल जारी नगर्न सन्देश दिएका जयशंकरलाई खास गरी त्यस बेलाको सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेससँगै तत्कालीन एमाले र माओवादीले एक ‘हस्तक्षेपकारी’ व्यक्तिका रुपमा प्रस्तुत गर्दै आएका छन् ।
जयशंकरको आग्रहलाई उपेक्षा गर्दै शुसिल कोइरालाको नेतृत्वको सरकार र दोस्रो संविधान सभाले संविधान जारी गरेको दुई सातामा नै पूर्व राजनीतिक सहमति अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेका थिए ।
उनको कार्यकालको प्रारम्भिक पाँच महिनासम्म नेपालले संविधान जारी गरेवापत् भारतको आर्थिक नाकान्दीको सामना मात्रै गरेन, भारत नेपाल सम्बन्धमा अभूतपूर्व रुपमा गिरावट पनि आएको थियो ।
संयोग विदेशमन्त्रीका रुपमा जयशंकरको नियुक्तिका अवसरमा उनका सबैभन्दा बढी आलोचक केपी शर्मा ओली प्रधानमन्त्री मोदीका अतिथिका रुपमा शपथ ग्रहण समारोहमा उपस्थित थिए ।
भारतको राष्ट्रपति भवनबाट जारी विज्ञप्ति अनुसार निर्मला सिता रमन अर्थ, रवि शंकर प्रसाद कानुन, नरेन्द्र तोमक कृषि, स्मृति इरानी महिला तथा बाल विकास, प्रकाश जाभेदकर सूचना तथा प्रसार, पियुस गोयल रेल मन्त्री, नितिन गडकरी सडक परिवहन मन्त्री बनेका छन् ।
२५ क्याविनेटसहित ५८ सदस्यीय मन्त्रिपरिषद्लाई बिहीबार करिव ६ हजार आमन्त्रित व्यक्तिहरुको उपस्थितिमा राष्ट्रपति भवन अगाडिको चउरमा राष्ट्रपति रामनाथ कोबिन्दले शपथ गराएका थिए ।
प्रतिक्रिया