यसकारण बाबुरामकै रोलनम्बर एक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
२४ पटक हेरिएको
Shares
यसकारण बाबुरामकै रोलनम्बर एक

सारांश

  • दीपक खनाल आज म यी गन्थनहरू एउटा कोठेकर्मचारी भएर लेखिरहेको छैन ।
  • म एक स्वतन्त्र नागरिकको हैसियतमा याने एक स्वतन्त्र पत्रकार हुनुको नाताले एकदमै भावुक र गम्भीर भएर लेखिरहेछु ।
  • सङ्कीर्ण नबनौँ, क्षेत्रीयतावादी नहोऔँ भन्दा पनि परिस्थितिले कहिलेकाँही सङ्कीर्ण र क्षेत्रीयतावादी बनाउँदोरहेछ ।
  • दीपक खनाल

आज म यी गन्थनहरू एउटा कोठेकर्मचारी भएर लेखिरहेको छैन । म एक स्वतन्त्र नागरिकको हैसियतमा याने एक स्वतन्त्र पत्रकार हुनुको नाताले एकदमै भावुक र गम्भीर भएर लेखिरहेछु । सङ्कीर्ण नबनौँ, क्षेत्रीयतावादी नहोऔँ भन्दा पनि परिस्थितिले कहिलेकाँही सङ्कीर्ण र क्षेत्रीयतावादी बनाउँदोरहेछ । त्यसैले आज म सङ्कीर्ण र क्षेत्रीयतावादी कुरा गर्न गइरहेछु ।

म नयाँ शक्ति पार्टीको कुनै प्रवक्ता होइन, त्यो पार्टीसँग मेरो नङ–नाता पनि छैन । त्यसैले मैले यी हरफहरू त्यो पार्टीका संयोजक बाबुराम भट्टराईको होइन मैले चिनेको, देखेको गोरखाली बाबुरामको विषयमा लेख्न गइरहेको छु । उनको बारे व्यक्तिगतरूपमा यी कुरा लेख्न गइरहेको छु । बाबुराम भोलि फेरि पदमा आउलान् र मेरा केही स्वार्थहरू पूरा गरिदेलान् भन्ने लोभमा पनि यी कुराहरू लेख्न गरहेको छैन ।

हुन त कतिपय मान्छेहरू बाबुरामलाई पराईको मान्छे भनेर पनि आरोप लगाउँछन् । उनका केही एकदुइटा व्यवहारले विरोधीलाई त्यसरी आरोप लगाउने मौका मिलेको हुनसक्छ । यदि उनी पराईकै मान्छे रहेछन् भने पनि आत्मग्लानीको अग्निमा जलेर आफैँ खरानी हुनेछन् तर, त्यही आरोपको आधारमा गोरखाले बाबुरामलाई बहिष्कार र तिरस्कार गर्न सक्दैन, हुँदैन । उनको ‘टाबर पर्सनालिटी’का अगाडि अरू केही पनि होइनन् ।

बाबुरामलाई तपाईँ र मलाईजस्तो काठमाडौँ जस्तै शहरहरूमा घर–घडेरी जोडौँ भन्ने लोभ छैन, त्यो बाध्यता पनि छैन उनलाई । डकैती गरेर या मान्छेलाई हाकाहाकी फसाएर धनदौलत जुटाऔँ भन्ने लालचा पनि छैन । न उनलाई छोरी पढाउने चिन्ता छ न त भाइबुहारीलाई जागीर लगाइदिऊँ भन्ने नै पिरलो छ । ०५८ मा बाबुरामले जनताको मन मनमा गणतन्त्र जन्मिसक्यो भनेर लेख लेख्दा अनि त्यही लेख छापेको बहानामा कान्तिपुरका युवराज घिमिरेलाई हनुमानढोका लगिँदा कुन माइकलाल थियो नेपालमा गणतन्त्र आउँछ भनेर पत्याउने ? संवैधानिक राजतन्त्रको डोरीमा पिङ खेलेर चचहुई चचहुई गर्न पाउँदा मख्ख पर्ने ‘बालक’ हरूले राजतन्त्र ढल्ला भन्ने कुनै सपना देखेका थिए ? तर त्यो सपना ७ वर्ष अगाडि नै बाबुरामले देखेका थिए ।

दिपक खनाल
हो, बाबुराम नेताभन्दा बढी योजनाकार हुन् । उनमा सङ्गठक नेता बन्ने केही गुणको कमी छ भन्ने कुरा उनको पार्टीमा आएको ‘कृष्णभीरको जस्तो पहिरो’ बाट पनि पुष्टि भइसक्यो । तर यति भन्दैमा सक्षम योजनाकारलाई, दूरदर्शकलाई बहिष्कार गर्न सक्दैन गोरखा र गोरखालीले ।

हो, बाबुराम कतिपय विकासका सन्दर्भमा अलिकति सङ्कीर्ण पनि बनेका छन् । खोप्लाङ, लुँइटेल, सातदोबाटोतिर जति विकासका चामल बाँडेका छन् त्यति नै विकासका कनिकासम्म मिरकोट या गाइखूर, धुँवाकोटतिर बाँडेका छैनन् उनले । त्यसमा दोष उनको मात्रै पनि होइन । उनीकहाँ दवाब वा प्रस्ताव पुर्‍याउन नसक्ने हाम्रो पनि कमजोरी हो । तर भच्चेक जस्ता दुर्गम ठाउँमा त विकास गरेरै देखाइदिए त । आखिर जुनसुकै ठाउँका जनता विकास चाहन्छन् फलानोकोमा गरिस् हाम्रोमा गरिनस् भनेर रिस गर्नुहुन्न हामीले । जसले चाखे पनि जहाँकाले चाखे पनि जनताले नै चाखेका छन् विकासको स्वाद । हाम्रोतिर हिजो हुन सकेन अब गरौँला के फरक पर्छ ।

दुनियाँका रोलमोडल हुन् बाबुराम विभिन्न तबरबाट । एउटा अध्ययनको क्षेत्रमा । अहिलेसम्मका बच्चाबच्ची आज पनि बाबुरामलाई अध्ययनका ‘मिथक’ नै मान्दछन् । अर्का इमान्दार नेता हुन् । हिसिलाका कुरा यो प्रसङ्गमा नगरौँ । तर अर्थमन्त्री र प्रधानमन्त्री हुँदा उनले राष्ट्र ढुकुटी रित्याउने कुन काम गरे, के व्यक्तिगत स्वार्थ लुटे कसैसँग प्रमाण छ ? राउटे आउँदा आफ्नै पकेट खर्चबाट बाटो खर्च दिए तै राष्ट्रको सम्पत्ति दुरुपयोग गरेनन् ।
अर्का कुशल योजनाकार हुन् काठमाडौँको सडक चौडा गर्न साहस कसले गर्‍यो भन्ने इतिहास मेटिएको छैन् । अर्का तर्कका पर्याय हुन् । उनका विज्ञानसम्मत् तर्क काट्ने माइकलाल सायदै जन्मेका छन् ।

हो, बाबुरामले केही त्रुटी गरेका छन् । जिन्दगीको आधाभन्दा बढी कालखण्ड कम्युनिष्ट नै भएर बिताए पनि आफूलाई कम्युनिष्ट होइन भनेका छन् । कम्युनिष्ट सिद्धान्तबाट किन विचलित भएँ भनेर आमजनताका अगाडि अहिलेसम्म प्रष्टीकरण दिएका पनि छैनन् । यो उनको सबैभन्दा ठूलो गल्ती हो ।
हो, भ्रष्टाचारी राजनीति, भ्रष्टाचारी पार्टी, भ्रष्टाचारी कर्मचारीतन्त्र, भ्रष्टाचारी मानसिकताबाट वाक्कदिक्क भएर भएर उनले सदाचारी बाटो रोजेका हुनसक्छन् । तर कम्युनिष्ट सिद्धान्त छोडेको कुरा उनले घोषणा नगरेको भए अर्थात् जनताका अगाडि स्पष्ट प्रष्टीकरण दिएको भए सायद धेरै इमान्दार कम्युनिष्ट उनको पछि लाग्ने थिए तथापि आफूलाई मार्क्सवादी होइन भन्न छाडेका छैन उनले । यति भन्दैमा जित्ने योग्यता गुमाइसकेका छैनन् उनले ।
हुन त गोरखाले विषयवस्तुलाई सटिक विश्लेषण गर्ने क्षमता भएको नारायणकाजी श्रेष्ठ, लगनशील हितराज पाण्डे, श्रीनाथ अधिकारी जस्तो कुशल प्रशिक्षक, जुझारु लेखनाथ न्यौपाने (जो मेरा मित्र पनि हुनुहुन्छ), निरन्तर महिला नेतृ कमला पन्त, खनालहरूको गौरव रविकला न्यौपाने खनाल, बोल्ड सुरेन्द्र पाण्डेजस्ता नेता पाएको छ । डा.लक्ष्मीप्रसाद देवकोटा, डा.दिनेशचन्द्र देवकोटाजस्ता विकासविद् पाएको छ । तैपनि हालसाललाई बाबुरामकै रोलनम्बर अगाडि आउँछ । त्यसैले गोरखालीहरू अब काँग्रेस, एमाले, माओवादी, नयाँ शक्ति, राप्रपा आदि पार्टीमा विभाजित हुने होइन एक भएर विकासमा जुट्ने हो ।

अब पनि सानो स्वार्थ, गुट–उपगुटमा लागेर विकासको स्वाद कहिले चाख्ने हो ? आर्थिक समृद्धि कहिले गर्ने हो ? जीवनले सन्तुष्टि कुन जुनीमा पाउने हो ? हेर्दै जानुहोला अबको राजनीतिक डिस्कोर्स पार्टीका लौरा हेरेर होइन सक्षम, इमान्दार र विकासवादी ‘दूर दृष्टि’ भएका नेताहरूलाई हेरेर अगाडि बढ्नेछ । त्यसैले यसपालि हामी सबै गोरखाली एक भएर बाबुरामलाई जनताको पुनः सेवा गर्ने अवसर दिनुपर्छ ।

(लेखकको नितान्त व्यक्तिगत विचार,लेखककै फेसबुक वालबाट साभार गरिएको)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?