लालबाबु पण्डितका अगाडि टिक्ला त कोईरालाको विरासत ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
|
१९ पटक हेरिएको
Shares
लालबाबु पण्डितका अगाडि टिक्ला त कोईरालाको विरासत ?

सारांश

  • मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये यो चुनावमा बढी चासोका रूपमा हेरिएको क्षेत्र हो– ६ नम्बर ।
  • यहाँ दुई चर्चित नेताले प्रतिस्पर्धा गर्दैछन् ।
  • कांग्रेसबाट कोइराला परिवारको विरासत थाम्नेमध्ये एक मानिएका शेखर कोइराला छन् ।

मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये यो चुनावमा बढी चासोका रूपमा हेरिएको क्षेत्र हो– ६ नम्बर । यहाँ दुई चर्चित नेताले प्रतिस्पर्धा गर्दैछन् । कांग्रेसबाट कोइराला परिवारको विरासत थाम्नेमध्ये एक मानिएका शेखर कोइराला छन् । उनलाई इमानदारी र सुधारका पक्षधर मानिएका एमाले नेता लालबाबु पण्डितले वाम गठबन्धनबाट चुनौती दिएका छन् । निर्वाचनमा दुई चर्चित नेताबीच प्रतिस्पर्धा हुँदै गरेको यो क्षेत्रमा पहिलेभन्दा फरक स्थान गाभिएका छन् । त्यसैले पनि दुवै उम्मेदवारले मतदातालाई आफ्नो पक्षमा पार्न निकै मेहनत गर्नुपर्ने छ ।

‘वाम गठबन्धनले भोलिका दिनमा एकदलीय शासन लाद्ने दुष्प्रयास गर्दैछन्, लोकतन्त्रप्रेमी जनतालाई यो स्वीकार्य छैन,’ कोइरालाले भने, ‘त्यसैले यसविरुद्ध लडाइँमा मतदाताले कांग्रेसलाई साथ दिनेछन् ।’ राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रतालाई अक्षुण्ण राख्दै लोकतन्त्रको सुदृढीकरण आफ्नो र पार्टीको मुख्य एजेन्डा भएको उनले बताए ।

कोइरालाको चुनौती बनेका पण्डित भन्छन्, ‘मैले गरेका सबै कामको प्रतिफल जनमानसमा पुगेको छ, मलाई मतदाताबीच नयाँ परिचयको खाँचो छैन ।’

 स्थानीय तह निर्वाचनको परिणामका आधारमा यो क्षेत्रमा वाम गठबन्धन कांग्रेसको तुलनामा झन्डै १५ सय मतले पछि छ । तर मतदाता सधैं एकै ठाउँमा केन्द्रित नहुने भएकाले चुनाव जित्न आफूलाई गाह्रो नभएको पण्डितको बुझाइ छ । कांग्रेस र तत्कालीन फोरम लोकतान्त्रिकको प्रभाव क्षेत्र रहेको यहाँ कोइराला दुई पटक संविधानसभा निर्वाचनमा विजयी भएका थिए । पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसबाट असन्तुष्ट भएर तत्कालीन मधेसी जनअधिकार फोरममा प्रवेश गरेका विजयकुमार गच्छदार तत्कालीन मोरङको हालको ६ र तत्कालीन ७ तथा सुनसरीको ३ बाट विजयी भएका थिए । त्यसबेला मोरङ ७ मा गच्छदारका प्रतिस्पर्धी कोइराला नै थिए । दुई ठाउँमध्ये गच्छदारले मोरङ छाडेपछि भएको उपनिर्वाचनमा कोइरालाले फोरमका चुमनारायण तबदारलाई हराएका थिए । त्यसैगरी दोस्रो संविधानसभा निर्वाचनमा कोइरालाले तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई हराएका थिए ।

पण्डित २०४८ र ०५६ सालको संसदीय निर्वाचनमा मोरङको तत्कालीन क्षेत्र ३ बाट विजयी भएका थिए । एमाले पोलिटब्युरो सदस्य उनी संविधानसभा पहिलो र दोस्रो निर्वाचनमा समानुपातिकबाट सभासद बनेका थिए । आदिवासी, जनजाति, मधेसी, पिछडावर्गलगायत केही समुदायका मुद्दा अझै संविधानमा समेट्न नसकिएको उल्लेख गर्दै कोइरालाले यसलाई समेटेर संविधान सर्वस्वीकार्य बनाउने अभियान आफ्नो पार्टीको भएकाले सबै समुदायको साथ पाउने दाबी गरे । ‘विराटनगर र समग्र मोरङ कांग्रेसको जन्मथलो हो । बीपी, गिरिजाप्रसादको कर्मथलो हो, यहाँका जनता लोकतन्त्रप्रेमी छन् । सात सालदेखि लोकतन्त्रका लागि लडदै आएका छन् र यसमा कांग्रेसलाई साथ दिँदै आएका छन्,’ उनले भने, ‘यही कारण जनताले कम्युनिस्ट शासन स्वीकार्नेवाला छैनन् । उनीहरूको समर्थन कांग्रेसलाई सधैंझैं प्राप्त हुनेछ ।’

चुनावका मुखमा मत विभाजन हुने अनुमान गर्दै कांग्रेस, एमाले र माओवादी केन्द्रले हालसम्म कुनै औपचारिक धारणा सार्वजनिक नगरे पनि प्रादेशिक राजधानी बनाउने कुरालाई दुवैले चुनावी मुद्दा बनाएका छन् । उनीहरू सबै पूर्वाधारयुक्त भएकाले विराटनगरलाई प्रदेश १ को राजधानी बनाउने प्रतिबद्धताका साथ मतदातामाझ पुगिरहेका छन् ।

वर्षामा विराटनगर र आसपास क्षेत्र डुबानबाट पीडित हुने अवस्था रहेकामा केसलिया, बुढी, सिंगिया र गछिया खोला कारक रहेको भन्दै कोइरालाले ती खोलामा तटबन्ध बनाउने कामलाई आफ्नो एजेन्डा बनाएका छन् । ‘यसका लागि प्रारम्भिक अध्ययन गरी तयार पारिएको प्रतिवेदन योजना आयोगमा दिइएको छ,’ उनले भने, ‘अब ठोस रूपमा काम गर्ने पहल प्राथमिकतामा छ ।’

यसैगरी आफ्नो क्षेत्रमा पर्ने मोरङको बुढीगंगा गाउँपालिकालाई नगर बनाउने, पूर्वाञ्चल विश्वविद्यालयमा यसै वर्षदेखि मेडिकल कलेज सञ्चालन गर्ने, विपन्न आय भएका नागरिकको ५ वर्षभित्रमा जीवनस्तर उकास्ने कार्यक्रम ल्याउने कोइरालाको चुनावी मुद्दा छ । क्षेत्र ६ मा बसोबास भएका विभिन्न जाति र समुदायको पहिचान झल्कने गरी जातीय संग्रहालय बनाउने योजना पनि कोइरालाले अघि सारेका छन् ।

पण्डितले विराटनगरलाई प्रदेशको राजधानी बनाउने अनि इटहरीसहितको क्षेत्रलाई जोडेर ‘मेघा सिटी’ मा परिणत गर्ने मतदातामाझ बताइरहेका छन् । विराटनगरमा बाइपास सडकको व्यवस्था गर्ने, निर्माणधीन रिङरोडको सतहलाई उचो पारेर ‘डयाम’ को रूपमा विकास गरी महानगर डुबानको समस्या हटाउने उनको भनाइ छ । खस्कँदो औद्योगिक सहरको स्तरोन्नति गरेर युवालाई विदेशिनबाट रोक्ने, विकास निर्माणका कामलाई गुणस्तरीय बनाएर कमिसनको अन्त्य गर्ने, दण्डहीनताको अन्त्य गर्ने, सामाजिक र राजनीतिक सद्भाव कायम गर्ने आफ्नो मूख्य चुनावी मुद्दा भएको पण्डितले बताए ।

स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले १८ हजार ८ सय ९०, एमालेले १७ हजार ६०, फोरम लोकतान्त्रिकले ७ हजार ९ सय १५, माओवादी केन्द्रले ७ हजार ८ सय ६६ र संघीय फोरमले ७ हजार २ मत पाएका थिए । यही मतपरिणामलाई हेर्ने हो भने कांग्रेसको २६ हजार ८ सय ५ र वाम गठबन्धनको २४ हजार ९ सय २६ मत देखिन्छ । क्षेत्र ६ मा विराटनगर महानगरपालिकाका वडा ४, ५, ६, ७, ९ र ११ सहित बुढीगंगा गाउँपालिका र सुन्दर हरैचा नगरपालिकाका २ देखि ७ वडा समावेश छन् ।

माधव घिमिरे र विनाेद भणडारि ले कान्तिपुर दैनिकमा लाखेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?