विद्यादेवी भण्डारीमार्फत गोकुल बास्कोटाले ओलीलाई देखाएकाे शक्ति
सारांश
- काठमाडौं।
- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार आफ्नाो पूर्वपार्टी नेकपा एमालेको एउटा जिल्लाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर औपचारिक रुपमा राजनीतिमा फर्किएकी छन्।
- शुक्रबार एमाले काभ्रे जिल्ला कमिटीले धुलिखेलमा जननेता मदनकुमार भण्डारीको ७३औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएकी हुन्।
काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार आफ्नाो पूर्वपार्टी नेकपा एमालेको एउटा जिल्लाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर औपचारिक रुपमा राजनीतिमा फर्किएकी छन्।
शुक्रबार एमाले काभ्रे जिल्ला कमिटीले धुलिखेलमा जननेता मदनकुमार भण्डारीको ७३औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएकी हुन्।
विद्या स्वर्गीय मदनकी धर्मपत्नी हुन्। २ कार्यकाल मुलुकको राष्ट्रपति भएर एक वर्षअघि बिदा भएकी उनी एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चा लामो समयदेखि चल्दै आएको थियो।
हालैका केही महिनामा उनी पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएर राजनीतिमा फर्किने छनक देखाएकी थिइन्। तर, शुक्रबार भने उनले १ घण्टाजति भाषण गर्दै सक्रिय राजनीतिमा फर्किएको संकेत दिएकी छन्।
धुलिखेल नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममो चाँजोपाँजो एमाले पोलिटब्यूरो सदस्यसमेत रहेका काभ्रे २ का सांसद गोकुल बाँस्कोटा र धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यञ्जुले गरेका थिए। पूर्व सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका बास्कोटा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट छन्।
कुनैबेला ओलीका अत्यन्तै निकट रहेका बास्कोटा ओली निवास बालकोटमा नै बस्ने गरेको चर्चा हुन्थ्यो। तर, पछिल्ला दिनमा उनी बालकोटसँग निक्कै रुष्ट छन्। ओली र बास्कोटाको सम्बन्ध बिग्रिएको कुरालाई काभ्रे जिल्ला अधिवेशनको गतिविधिले पनि पुष्टि गर्छ। २ हप्ताअघि एमाले काभ्रेको जिल्ला अधिवेशन भएको थियो।
सो अधिवेशनमा प्रमुख अतिथ ओली थिए। तर, बास्कोटाको गृह जिल्लामा पुगेर ओलीले उनलाई होच्याएर बोलेको, नाम नलिइकन झपारेको भन्दै बास्कोटा असन्तुष्ट छन्। जिल्ला अधिवेशनमा बास्कोटाले अघि सारेका राजन भूर्तेललाई हराउन ओलीले युवा संघका कार्यकर्ता खटाएपछि उनी झनै बिच्किएको चर्चा हुने गरेको छ।
भुर्तेलविरुद्ध उठेका चन्द्र लामालाई बालकोटमो पूर्ण साथ रहेको बताइन्छ। यद्यपी गोकुलले आफ्नो शक्ति देखाउँदै पदाधिकारीमा भुर्तेल नेतृत्वको प्यानलै जित हाँसिल गराएका थिए।
ओलीले आफ्नो आलोचना गरेको १८ दिनमा उनै बास्कोटाले मदन जयन्तीको अवसर पारेर विद्या भण्डारीलाई जिल्लामा उपस्थित गराएर कार्यक्रम गरेका हुन्।
लामो समयदेखि ओलीका ‘खास’ नेताका रूपमा रहँदै आएका खरो स्वभावका बास्कोटाले ओलीसँग असमझदारी बढेका बेला भण्डारी जिल्लामा ल्याएर कार्यक्रम गर्नु अर्थपूर्ण रहेको छ। पूर्व राष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किनुपर्छ भन्ने नेतामध्ये बास्कोटा पनि एक हुन्।
एमालेमा तत्कालीन महासचिव माधवकुमार नेपाल शक्तिमा आएपछि ओलीलाई कुनै पनि जिल्ला स्तरको कार्यक्रममा प्रमुख अतिथि नबनाउनु भन्ने आदेश हुँदा पनि नेपालको आदेशलाई लत्याउँदै बास्कोटाले नै पहिलो पटक काभ्रेमा ओलीलाई प्रमुख अतिथि बनाएर कार्यक्रमको आयोजना गरेका थिए । तर, पार्टीको १०औं महाधिवेशनमा सचिवको आकांक्षा राखेका उनी पोलिटब्यूमा धकेलिएपछि असन्तुष्ट बनेको स्रोतको भनाइ छ ।
यता प्रमुख अतिथि बनेर धुलिखेल पुगेकी पूर्व राष्ट्रपति भण्डारीले भने एमालेलाई टुटफुट र गुटबाट मुक्त गराउनुपर्ने भन्दै भाषण गरेकी थिइन् । ‘एमाले जहिले पनि अलिक अगाडि बढ्न खोज्दा समस्या सुरु हुने गर्छन् । मैले ०५४ सालमा पनि विभाजन गर्नुहुँदैन भनेर बेस्सरी काम गरें । मतभेद छन् भने आन्तरिक रुपमा समाधान गर्नुपर्छ, छलफल संवाद गर्नुपर्छ भनें । एकदिन सत्यको जीत हुन्छ भनें । मैले नेताहरुलाई कलंकको टीका नलगाउनुस् भनेँ । उहाँहरुले खरानी हुन तयार छौं भन्न थाल्नुभयो’उनले भनेकी थिईन् ।
भण्डारीले तत्कालीन नेकपाको विभाजन रोक्न् आफूले भरपूर प्रयास गरेको पनि पहिलोपटक खुलासा गरेकी छन् । उनेल ५ महिना पर्खनुस महाधिवेशन हुने वातावरण मिलाउँछु भन्दा पनि पार्टी फुटाउन खोज्नेहरुले नमानेको दाबी गरेकी छन् ।
‘ मैले त्यसबेला पाँच महिना पर्खिनुस् । महाधिवेशन हुन्छ भनेर सम्झाएँ, तर पर्खिन सकिएन (सकेनन्) । मैले कोसिस नगरेको होइन । मैले आफ्नो ठाउँबाट धेरै कोसिस गरें । खुट्टा समातेर ढोग्न सकिएन, तर अनुरोध गरियो । यत्रो गर्दा पनि विपक्षीहरुसँग साँठगाँठ गर्ने काम भयो । आज परिस्थिति के भएको छ ?’ उनले भनिन् ।
प्रतिक्रिया