ट्रयाक्टरबाट खसेर घाइते भएका बालकलाई मामाले जंगलमा फालेपछि…

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०७५
|
|
५१ पटक हेरिएको
Shares
ट्रयाक्टरबाट खसेर घाइते भएका बालकलाई मामाले जंगलमा फालेपछि…

सारांश

  • बाँके, २८ जेठ ।
  • दश वर्षीय बालक आयुस केसीको मृत्युलाई लिएर बाँकेको शमशेरगञ्जमा तनाव भएको छ ।
  • ट्रयाक्टरबाट खसेर घाइते भएका बालकलाई उपचार गर्न लैजानुको साटो जंगल फालेर हिडेपछि मृत्यु भएको थियो ।

बाँके, २८ जेठ । दश वर्षीय बालक आयुस केसीको मृत्युलाई लिएर बाँकेको शमशेरगञ्जमा तनाव भएको छ । ट्रयाक्टरबाट खसेर घाइते भएका बालकलाई उपचार गर्न लैजानुको साटो जंगल फालेर हिडेपछि मृत्यु भएको थियो ।

माटो लिन हिँडेको भे १ त ६१६७ नम्बरको ट्रयाक्टरमा चढेर जंगल गएका बालक फर्किँदा ट्रयाक्टरबाट खसेका थिए । ट्रयाक्टरको चक्काले च्यापिएका बालक गम्भीर घाइते भए । गम्भीर घाइते भएका बालकलाई उपचार गराउन लैजानुको साटो ट्रयाक्टर चालक, सहयोगीले जंगलमा फालेर हिँडे । बालकको मृत्यु भयो ।

बालकको शव जंगलमै रहेको छ । घरपरिवारले बुझ्न मानेका छैनन् । ट्रयाक्टरबाट बालक खसेर गम्भीर घाइते भएपछि चालकले ट्याक्टर मालिकलाई फोन गरेर सबै कुरा बताएका थिए । ट्रयाक्टर मालिकले सबै जना फस्ने भएकाले बालकलाई जंगलमा फालेर भाग्न भनेको ट्रयाक्टरका सहयोगीले बयान दिएका छन् । चालक भने फरार छन् । जो मृतक बालकका मामा नाता पर्छन् ।

चालकको लाइसेन्स थिएन । लाइसेन्स नभएकाले जेल जानु पर्ने डरेले चालक भागेको स्थानीयले बताएका छन् । ‘चालकले शुरुमा अस्पताल लैजाउ भनेका थिए ।

पछि मालिकले फोनमा सबै जना फस्ने भनेपछि जंगलमा छोडेर भाग्यौँ, पक्राउ परेका ट्रयाक्टरका सहयोगीहरुले बताए ।
बच्चा चढेको ट्रयाक्टरको पछि पछि रहेको अर्को ट्रयाक्टरका चालक कलिराम थारुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनले सत्यकुरा नबोलेर ढाकछोप गर्ने प्रयास गरेका थिए । प्रहरीले समातिसकेपछि कलिरामले ‘बच्चालाई छोडेर हिँड्दा धड्कन चलिरहेको’ बताए । उनले बच्चालाई अस्पताल लगेको भए बाँच्न सक्थ्यो भनेका छन् ।

ट्रयाक्टर आइतबार अपरान्ह माटो लिन परुवाखोलामा गएको थियो । त्यही ट्रयाक्टरमा बसेर बालक पनि गएका थिए । माटो लिएर फर्किने क्रममा बालक खसे । प्रत्यक्षदर्शीका अनुसार, चालकले मापसे गरेका थिए । कच्ची बाटोमा ट्याक्टर उफ्रिँदा बालक खसे ।

बालकका बाबु घरमा छैनन् । बैदेशिक रोजगारीमा गएका छन् । आमाले छोरा रातिसम्म नआएपछि छरछिमेकलाई भनेर खोजतलास सुरु गरिन् । पुरुवा खोलामा डुब्यो कि भनेर गाउँलेले खोजे । गाउँभरीका मान्छे जंगलतिर फैलिए । त्यही क्रममा साढे एक बजेतिर जंगलमा शव भेटियो । गाईगुई कुरा भयो, बालक त ट्याक्टरमा चढेर गएका थिए ।

ट्रयाक्टर चालकलाई खोजियो । उनी फरार भइसकेका थिए । सहयोगीहरुमार्फत सबै कुरा बाहिर आयो । शवलाई घरपरिवारले उठाउन मानेन । ट्रयाक्टर चालकमात्रै होइन, मालिक पनि फरार भएका छन् । ‘म¥यो जस्तो लागेर जंगलमा छोडेर भागेको’ ट्रयाक्टरमा रहेका सहयोगीहरुले बताएका छन् ।

प्रहरी पनि राती नै घटनास्थल पुगेको थियो । सोमबार दिउँसोसम्म प्रहरी र स्थानीय बासिन्दा जंगलमा बसेका थिए । घटनाको मुचुल्का गर्न इलाका प्रहरी कार्यालय, कोहलपुरबाट प्रहरीको टोली पुगेको छ।

प्रहरीले चालक र ट्याक्टर मालिकलाई कडा भन्दा कडा कारबाही गर्ने सहमति गराएर शव उठाउने प्रयास गरिरहेको देश संचारले उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?