समावेशी कोटामा सांसद बन्दै धनाढ्य उद्योगपति र व्यापारीहरु, हेर्नुस् को को छन्
सारांश
- काठमाडौं, १ फागुन- समानुपातिक समावेशी कोटामा यो पटक पनि धनाढ्य उद्योगपति र व्यापारीहरु सांसद बन्दैछन्।
- नेपालका सबैभन्दा धनी विनोद चौधरी, सेन्चुरीयन समूहका मोतिलाल दुगड, प्याब्सनका पूर्वअध्यक्ष उमेश श्रेष्ठ, ठेकेदार जीपछिरिङ लामा र उद्योगी सूर्यबहादुर केसी पैसाको बलमै सांसद बन्न लागेका हुन्।
- नेपालका सबैभन्दा धनी खर्बपति व्यापारी विनोद चौधरीलाई नेपाली कांग्रेसको मधेसी कोटाबाट सांसद् बनाएको हो ।
काठमाडौं, १ फागुन- समानुपातिक समावेशी कोटामा यो पटक पनि धनाढ्य उद्योगपति र व्यापारीहरु सांसद बन्दैछन्। नेपालका सबैभन्दा धनी विनोद चौधरी, सेन्चुरीयन समूहका मोतिलाल दुगड, प्याब्सनका पूर्वअध्यक्ष उमेश श्रेष्ठ, ठेकेदार जीपछिरिङ लामा र उद्योगी सूर्यबहादुर केसी पैसाको बलमै सांसद बन्न लागेका हुन्। नेपालका सबैभन्दा धनी खर्बपति व्यापारी विनोद चौधरीलाई नेपाली कांग्रेसको मधेसी कोटाबाट सांसद् बनाएको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले खबर लेखेका छन् ।
चौधरी मधेसी कोटामा
अमेरिकाको फोर्ब्स पत्रिकाको विश्वका धनी व्यक्तिको सूचीमा रहेका नेपालका एकमात्र खर्बपति चौधरीको नाम मधेसी कोटाको एक नम्बरमा छ। उनीभन्दा पछि कांग्रेस पुराना र त्यागी नेता स्मृतिनारायण चौधरीको नाम छ।
चौधरी ग्रुपका मालिक विनोदलाई यसअघि एमालेले समानुपातिकबाट सभासद् बनाइसकेको छ। २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा एमालेबाट चौधरी सभासद भएका थिए। विश्वका खर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरी एक हजार ३ सय ६ औँ स्थानमा छन्। अमेरिकाबाट प्रकाशित पत्रिका ‘फोर्ब्स’ले सार्वजनिक गरेको सूचीअनुसार चौधरीसँग एक अर्ब ३० करोड अमेरिकी डलर सम्पत्ति छ।
श्रेष्ठ फेरि सांसद बने
निजी विद्यालय अर्थात बोर्डिङ स्कुल चलाएर करोडपति बनेका निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन(प्याब्सन) का पूर्वअध्यक्ष उमेश श्रेष्ठ पनि समानुपातिकबाट सांसद् बनेका छन्।
कांग्रेसले आदिबासी जनजाति कोटाबाट श्रेष्ठलाई सांसद बनाएको छ। भोजपुरबाट एसएलसी गरेर खाली हात काठमाडौं छिरेका श्रेष्ठ लामो समयसम्म प्याब्सनको नेतृत्वमा रहे। ख्यातिप्राप्त निजी विद्यालय लिटिल एन्जल्सका मालिक श्रेष्ठमाथि निजी विद्यालयका माफियाको आरोप पनि लाग्ने गरेको छ।
उनले निजी विद्यालय चलाएर नै करोडौँ पैसा कमाएका छन्। बैक तथा वित्तीय संस्थामा समेत उनको ठूलो लगानी छ। श्रेष्ठ प्राइम बैँकको अध्यक्ष भइसकेका छन्। उनले २०७० सालको दोस्रो संविधान सभाको निर्वाचन समेत कांग्रेसबाटै समानुपतिक सभासद बन्ने अवसर पाएका थिए।
यसअघि सांसद हुदाँ निजी विद्यालयलाई सहकारी मार्फत सञ्चालन गर्ने सरकारले तयारीमा श्रेष्ठ बाधक बनेका थिए। बैंकर समेत रहेका श्रेष्ठले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ‘बाफिया’ को संशोधन प्रस्ताव रोक्ने प्रयास गरेका थिए।
जिपछिरिङ फेरि सांसद्
ठेकेदार जिपछिरिङ लामाले सांसद बन्ने सौभाग्य पाएका छन्। दोलखाका ठेकेदार एवम् नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष हुन् लामा। कांग्रेसका तर्फबाट उनी आदिबासी जनजातिको भागमा सांसद बन्दैछन्। उनले यसअघि पनि कांग्रेसबाट सांसद बन्ने मौका पाइसकेका छन्।
एमालेबाट दुगड
सेन्चुरीयन ग्रपका मोतीलाल दुगडलाई एमालेले समानुपातिकबाट सांसद बनाएको छ। समानुपातिक चार पुरुष सांसद बन्ने अवसर पाउँदा दुगडले मौका पाएका छन्।
दुगड एमालेको मधेसी कोटाबाट सांसद बन्ने एक मात्र भाग्यमागी हुन्। उनी भारतबाट आएर काठमाडौँमा बस्दै अर्बपति बनेका व्यापारी हुन् ।
एमालेको मधेसी सूचीको एक नम्बर रहँदै दुगड सांसद बनेका छन्। दुगड २०६४ सालमा सदभावना पार्टी आनन्ददेवीका तर्फबाट समानुपातिक सांसद बनेका थिए। २०७० सालमा उनले नव नेपाल पार्टी खोले । तर यो पार्टीले दोस्रो संविधान सभाको निर्वाचनमा १३९८ मत मात्र ल्यायो। त्यसपछि दुगडले नव नेपाल पार्टीलाई एमालेमा विलय गराएका हुन्।
राराका मालिक पनि
सूर्यबहादुर केसी पोखराका उद्योगी हुन्। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अघि मात्रै राप्रपा छोडेर कांग्रेस प्रवेस गरेका केसीले समानुपातिकको खसआर्य कोटाबाट सांसद बन्ने अवसर पाएका छन्।
केसी रारा चाउचाउको उप्पादक उद्योग हिम श्री फुड्सका कार्यकारी अध्यक्ष हुन्। उनले जलविद्युतको क्षेत्रमासमेत लगानी गर्दै आएका छन्। उनी पोखरा नगर पञ्चायतको प्रधानपञ्च देखि पहिलो संविधान सभामा राप्रपाबाट सभासद पनि समेत भए।
सांसदमा हरेक वर्ग र क्षेत्रको समानुपातिक समावेशी प्रतिनिधित्व गराउने उद्देश्यका साथ निर्धारण गरिएको व्यवस्थाको गतल फाइदा उठाउँदै दलहरुले धनाढ्य व्यापारीलाई सांसद बनाएका हुन् ।
समावेशी कोटामा धनाढ्य व्यापारीलाई सांसद बनाउदाँ पार्टीमा लामो समयदेखि योगदान गरेका र त्यागी इमान्दारहरु पाखा लाग्न बाध्य भएका छन्।
Sajeman Shekh
Yiniharuko sathsathai samanupatik pranaliko pani Jay hos!!!
Prabhat Kiran
काङ्ग्रेस मा प्रजातन्त्र त छैन समाबेसि काे अर्थ के थाहा उस्लाई?