सरकारले खटाएको ठाउँमा कर्मचारी नगएसम्म अब सरुवा हुन नपाउने
सारांश
- काठमाडौं ।
- सरकारले खटाएको ठाउँमा कर्मचारी नगएसम्म अब सरुवा नगर्ने भएको छ ।
- कर्मचारीले सरकारलाई नटेरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन नभएसम्म सरुवालाई स्थगित गरेको हो ।
काठमाडौं । सरकारले खटाएको ठाउँमा कर्मचारी नगएसम्म अब सरुवा नगर्ने भएको छ । कर्मचारीले सरकारलाई नटेरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन नभएसम्म सरुवालाई स्थगित गरेको हो ।
मन्त्रालयका अनुसार कर्मचारी प्रदेश, स्थानीय तहमा नगएसम्म सरुवासम्बन्धी काम हुने छैन । सरकारले कर्मचारी समायोजन सम्बन्धी अध्यादेश मार्फत कानुन ल्याइसकेको छ । अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अध्यादेश स्वीकृत गरी राजपत्रमा प्रकाशित भैसकेको छ । सरकारले पुस मसान्तसम्म संघ, प्रदेश, स्थानीय तहमा कर्मचारी समायोजन गर्ने योजना राखेको छ ।
सरकारी सेवामा कार्यरत कर्मचारीको विवरण १५ दिनभित्र अद्यावधि गर्न सबै निकायलाई पत्राचार गरिसकेको मन्त्रालयले जनाएको छ । राष्ट्रिय किताबखानामा दर्ता रहेका कर्मचारी विवरणमा उल्लेख भएका मोबाइल नम्बरमा आआफ्नो व्यक्तिगत विवरण १५ दिनभित्र अद्यावधि गर्न सबै कर्मचारीलाई एसएमएससमेत पठाइएको छ ।
समायोजनका लागि मन्त्रालयले कर्मचारीलाई निवेदन दिन समेत आग्रह गरेको छ । संघ, प्रदेश र स्थानीय तहमा रहेका कर्मचारी आफू खटिएको कार्यालयमा शुक्रबारभित्र हाजिर भई त्यसको जानकारी मन्त्रालय र राष्ट्रिय किताबखानालाई समेत एसएमएस मार्फत गराउन निर्देशन दिएको बताइएको छ ।
मन्त्रालयले स्थानीय तहमा स्थायी नियुक्त भएका कर्मचारीलाई १० दिनभित्र समायोजनको पत्र लिई सोको जानकारी गराउन समेत निर्देशन दिएको छ ।
प्रतिक्रिया