दुई नम्बर प्रदेश सरकारले शहीद परिवारप्रति विभेद गरेको आरोप
सारांश
- सप्तरी।
- प्रदेश नं २ सरकारले शहीद र बेपत्ता परिवारलाई भेदभाव गरेको शहीद, बेपत्ता तथा घाइते परिवार सप्तरीले आरोप लगाएको छ।
- देश र जनताका लागि शहीद हुनेहरु कुनै अमुक पार्टीको नहुने तर्क गर्दै शहीद, बेपत्ता तथा घाइते परिवार सप्तरीका अध्यक्ष रीता चौधरीले प्रदेश नं २ सरकारले शहीद, बेपत्ता र घाइते परिवारलाई दिने सेवासुविधामा विभेद गरेकामा दुःख व्यक्त गरे।
सप्तरी। प्रदेश नं २ सरकारले शहीद र बेपत्ता परिवारलाई भेदभाव गरेको शहीद, बेपत्ता तथा घाइते परिवार सप्तरीले आरोप लगाएको छ। देश र जनताका लागि शहीद हुनेहरु कुनै अमुक पार्टीको नहुने तर्क गर्दै शहीद, बेपत्ता तथा घाइते परिवार सप्तरीका अध्यक्ष रीता चौधरीले प्रदेश नं २ सरकारले शहीद, बेपत्ता र घाइते परिवारलाई दिने सेवासुविधामा विभेद गरेकामा दुःख व्यक्त गरे।
राजविराजमा शनिबार पत्रकार सम्मेलन आयोजना गरी परिवारले प्रदेश सरकारबाट मधेस आन्दोलनका शहीद र घाइते परिवारलाई मात्र सेवासुविधा दिई जनआन्दोलन र माओवादी जनयुद्धका शहीदको उपेक्षा भइरहेको गुनासो गरेको हो। पछिल्लोपटक प्रदेश नं २ को भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मधेस आन्दोलनका शहीद तथा घाइते परिवारलाई लक्षित गरी दुधालु गाई–भैँसी वितरण गरेर अन्य शहीदप्रति अपमान तथा विभेद गरेको अध्यक्ष चौधरीको आरोप छ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा विगतमा भएको सबै आन्दोलन र सङ्घर्षको योगदान रहे पनि शहीदप्रति पूर्वाग्रह भएर प्रदेश नं २ सरकारले पक्षपातपूर्ण व्यवहार गरेको शहीद परिवारका सदस्य डानेश्वरी नगरपालिका–१० का राजेशकुमार रामले बताए।
शहीद तथा घाइते परिवारलाई लक्षित गरी भइरहेको उन्नतजातको गाई–भैँसी वितरण कार्यक्रम पक्षपातपूर्ण रहेको र शहीदको अपमान भइरहेको भन्दै शहीद परिवारका सदस्य सप्तकोशी–१ का ललितराज घिमिरेले प्रदेश नं २ सरकारको त्रुटिपूर्ण कार्यविधि सच्याई सम्पूर्ण शहीद र घाइते परिवारलाई समान व्यवहार गर्नुपर्ने माग गरे।
प्रदेश सरकारले पक्षपातपूर्ण निर्णय नसच्याए प्रदेशका आठै जिल्लामा मोर्चा बनाई सङ्घर्ष गर्ने चेतावनी दिँदै समितिका अध्यक्ष चौधरीले आज सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्री र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको बताए।
प्रदेश नं २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जारी गरेको कार्य्विधिको ढाँचामा नै ‘मधेस आन्दोलनका शहीद परिवारलाई लक्षित गरी उन्नत नस्लको दुधालु गाई वा भैँसी उपलब्ध गराउने कार्यक्रममा सहभागी हुनका लागि इच्छुक रहेकाले यो निवेदन पेश गरेको छु,’ उल्लेख भएकाले जनआन्दोलन र माओवादी युद्धमा शहीद भएका परिवार निवेदन दिनबाट वञ्चित रहेको अध्यक्ष चौधरीले बताए।
प्रतिक्रिया