दीर्घकालीन विकल्प छैन काठमाडौँ फोहर व्यवस्थापनको
सारांश
- काठमाडौं।
- एक सातापछि सोमबारदेखि फोहर सङ्कलन शुरु गरिए पनि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको दीर्घकालीन विकल्प देखिएको छैन।
- ककनी गाउँपालिकास्थित सिसडोलमा स्थानीयवासीले विभिन्न माग राखेर समयसमयमा अवरोध सिर्जना गरिरहेका छन् भने अर्कातिर बञ्चरेडाँडामा निर्माण गरिने भनिएको ‘ल्याण्डफिल साइट’ निर्माण सम्पन्न हुन तीन वर्ष लाग्ने भनिएको छ।
काठमाडौं। एक सातापछि सोमबारदेखि फोहर सङ्कलन शुरु गरिए पनि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको दीर्घकालीन विकल्प देखिएको छैन।ककनी गाउँपालिकास्थित सिसडोलमा स्थानीयवासीले विभिन्न माग राखेर समयसमयमा अवरोध सिर्जना गरिरहेका छन् भने अर्कातिर बञ्चरेडाँडामा निर्माण गरिने भनिएको ‘ल्याण्डफिल साइट’ निर्माण सम्पन्न हुन तीन वर्ष लाग्ने भनिएको छ। अहिले उपत्यकाका सबै स्थानबाट कुहिने र नकुहिने फोहर एकै ठाउँमा राखेर सङ्कलन भइरहेको छ। फोहरको वर्गीकरण हुन नसक्नु नै फोहर व्यवस्थापनको मुख्य समस्याका रुपमा देखिएको महानगर वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए। अझै पनि यहाँको फोहर वर्गीकरण नगर्ने हो भने सिसडोल, बञ्चरेडाँडा वा अरू कुनै फोहर विसर्जनस्थल छोटो समयका लागि मात्रै हुने उनको भनाइ थियो। उनले भने, “हामीले बञ्चरेडाँडामा फोहर केही वर्ष फाल्छौँ फेरि यही अवस्था आइहाल्छ।”
वर्गीकरण गरेर नकुहिने र पुनः प्रयोग नहुने फोहर मात्रै ल्याण्डफिल साइटमा पठाउँदा मात्रै फोहर व्यवस्थापनको समस्या नहुने प्रमुख श्रेष्ठको भनाइ छ। महानगरवासीले कुहिने फोहर र नकुहिने फोहर छुट्टाछुट्टै राख्नुपर्नेमा जोड दिँदै उहाँले थोरै भए पनि करेसाबारी भएकाले तरकारी र फलफूलका खेर गएका भागबाट आफूलाई चाहिने मल तयार गर्न सक्ने बताए।उपत्यकामा उत्पादन हुने फोहरको आधा फोहर कुहिने फोहर भएको बताउँदै उनले तीबाहेक पनि कागज, प्लास्टिकलगायत फोहर घरघरमै लिन आउनेलाई पठाउने र त्यसबाहेकको फोहर मात्रै फोहर सङ्कलन गर्ने गाडीमा पठाउनुपर्ने धारणा व्यक्त गरे। उनले भने, “यसले गर्दा एकातिर फोहरको मात्रा ज्यादै कम हुन्छ भने अर्कातिर कम्पोष्ट मलको उत्पादन हुन्छ।”
भविष्यमा महानगर आफैँले प्राङ्गारिक मल उत्पादनको योजना बनाएको प्रमुख श्रेष्ठले बताए। सङ्कलित फोहर वर्गीकरण गरे कुहिनेबाट कम्पोष्ट मल बनाउने योजना बनाइएको छ। सडक छेउमा फोहर फाल्ने भाडा राखे पनि उपत्यकावासीको जथाभावी फोहर फाल्ने बानीमा सुधार नआएको उनले बताए। प्रमुख श्रेष्ठले भने, “यहाँका कर्मचारीले बिहानभर सफा गरेको सडक दिउँसोसम्म कागज र प्लास्टिकले भरिसक्छ।”
काठमाडौँ मात्रै नभएर उपत्यकाका अधिकांश पालिकाले सिसडोलमा नै फोहर विसर्जन गर्दै आएका छन्। उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा स्थानीय तह र निजी कम्पनीले दैनिक आ–आफ्नै तरिकाले फोहर सङ्कलन तथा व्यवस्थापन गरिरहेका छन्। फोहर सङ्कलन गर्ने निजी कम्पनी अहिलेसम्म दर्ता प्रक्रियामा नआएकाले तिनलाई प्रक्रियामा ल्याउन पहल भइरहेको पनि श्रेष्ठले जानकारी दिए। निजी कम्पनीले घरघरबाट र स्थानीय तहले सडकमा थुपारिएका तथा सार्वजनिकस्थल र केही पुराना बस्तीका फोहर सङ्कलन गर्ने गरेका छन्। स्थानीय तह र निजी कम्पनी दुवैले आ–आफ्नै टिप्परमार्फत नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन गर्दै आएका छन्।
उपत्यकाका २१ पालिकामध्ये दुई महानगरपालिका, १६ नगरपालिका र तीन गाउँपालिका छन्। त्यसमध्ये १८ स्थानीय तहको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। उपत्यकामा फोहर सङ्कलन गर्ने ४६ निजी कम्पनी छन्। निजी कम्पनीमा सफाइ मजदूर, चालक र अन्य प्रशासनिक गरी दुई हजार ६०० कर्मचारी कार्यरत छन्।निजी कम्पनीले दैनिक ८० देखि १०० टिप्पर फोहर सिसडोलमा विसर्जन गर्दै आएका छन्। उनीहरुले त्यसरी विसर्जन गरेको फोहरबापत काठमाडौँ महानगरपालिकालाई प्रतिटिप्परको रु ३५० बुझाउने गरेको श्रेष्ठले जानकारी दिए।
उपत्यकामा स्थानीय तहले आफैँ पनि फोहर सङ्कलन गर्ने गरेका छन्। काठमाडौँ महानगरपालिकाले दैनिक ३५० मेट्रिक टन फोहर आफैँ सङ्कलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको प्रमुख श्रेष्ठले जानकारी दिए। सो कार्यका लागि महानगरपालिकासँग आफ्नै २१ टिप्पर छन्। ललितपुर महानगरपालिकाले दैनिक आठ टिप्परमार्फत आफैँ दैनिक ४० देखि ५० मेट्रिक टन फोहर सङ्कलन गर्ने गरेको छ।
बञ्चरेडाँडामा निर्माण शुरु
शहरी विकास मन्त्रालयले नुवाकोटको बञ्चरेडाँडामा करीब रु ३८ करोडको लागतमा दीर्घकालीन रूपमा फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माण थालेको छ।सरकारले उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न बञ्चरेडाँडामा निर्माण गर्नुपर्ने करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको सो ल्याडफिल साइट सिसडोलभन्दा दुई किलोमिटर टाढा रहेको छ। हाल काठमाडौँ उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ। काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ।
दुई वर्षका लागि भन्दै १३ वर्षसम्म
विसं २०६२ देखि कामपाले सिसडोलमा फोहर विसर्जन गर्दै आएको छ । कामपापछि अरू स्थानीय तहले समेत सङ्कलित फोहर सिसडोल नै लैजाने गरेका छन्। दुई वर्षका लागि भनेर शुरु भएकामा अहिले १३ वर्ष बित्दा पनि सिसडोलमै फोहर विसर्जन भइरहेको हो। फोहरका कारण दुर्गन्ध फैलिएको र स्वास्थ्यमा असर पुगेको भन्दै स्थानीयवासीले पटकपटक अवरोध गर्दै आएका छन्।
प्रतिक्रिया