उपनिर्वाचन : मौन अवधि सुरु
सारांश
- काठमाडौं।
- मंसिर १४ गते हुने उपनिर्वाचनको मौन अवधि सुरु भएको छ।
- बुधबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो।
काठमाडौं। मंसिर १४ गते हुने उपनिर्वाचनको मौन अवधि सुरु भएको छ। बुधबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो। निर्वाचन आयोगले मौन अवघिमा चुनावी प्रचारप्रसार नगर्न राजनीतिक दल, विभिन्न उम्मेदवार, राजनीतिक दलका पदाधिकारी, नागरिक समाज, आम मतदाता र सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
मतदान हुने ४८ घन्टा अघिदेखि शुरू हुने मौन अवधिलाई संवेदनशील अवधिका रूपमा लिने गरिएको छ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार आयोजित पत्रकार भेटमा यस अवधिमा वेभसाइड, ट्विटर, फेसबुक, भाइबर वा एसएमएस जस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न निषेध गरिएको बताए।
उनले यस अवधिमा विभिन्न आश्वासन, प्रलोभन, डर, धाकधम्की, दबाब वा प्रभावमा पारी मतदाताहरूलाई आतंकित पार्ने, मतदान केन्द्रमा जान रोक्ने, मतदाता परिचयपत्र कब्जा गर्ने, एउटाको नाममा अर्कैले मतदान गर्ने, निर्वाचन क्षेत्र बाहिरका व्यक्तिहरू प्रवेश गरी शंकास्पद गतिविधि गर्ने, गलत तथ्यहीन र भ्रामक हल्ला फिजाउने, कोही कसैप्रति, घृणा र द्वेष फैलाउने जस्ता निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने कार्य हुन नदिन आयोग सजग रहेको दाबी गरे।
‘कुनै अप्रिय अवस्था वा निर्वाचन आचारसंहिताविपरीतको कार्य हुने आशंका वा घटना भएमा तत्काल जिल्ला उपनिर्वाचन आचारसंहिता अनुगमन समिति वा स्थानीय प्रशासन वा आयोगमा जानकारी दिनुहुन आयोग हार्दिक आग्रह गर्दछ।’ –प्रमुख निर्वाचन आयुक्त थपलियाले भने।
यस्तै पैसाको प्रलोभनमा नपरी स्वविवेकले उम्मेदवार चयन गर्न पनि आम मतदातालाई आग्रह गर्दै आयोगले उम्मेदवार र राजनीतिक दलको निर्वाचन चिह्न, पहिरन, टोपी, स्टिकर ट्याटु, झोला जस्ता सांकेतिक सामग्रीको प्रयोग, बिक्री र प्रदर्शन गर्नरगराउन नहुने जनाएको छ।
साथै यस अवधिमा आमसञ्चारमाध्यमले उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने कुरा निर्वाचन आचारसंहितामा उल्लेख छ।
प्रतिक्रिया