सिट बाँडफाँटमा बार्गेनिङ गर्दै बागीसम्म,बाँडफाँटमा सकस.
सारांश
- ८ कात्तिक, काठमाडौं ।
- बुधबार राजधानीबाट प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले पहिलो पृष्ठमा विविध समाचारहरुलाई प्राथमिकता दिएर छापेका छन् ।
- प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन बनाएर होमिएका एमाले र माओवादी केन्द्रमा सिट बाँडफाँटका लागि झमेला परेको खबरलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले लेखेका छन् ।
८ कात्तिक, काठमाडौं । बुधबार राजधानीबाट प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले पहिलो पृष्ठमा विविध समाचारहरुलाई प्राथमिकता दिएर छापेका छन् । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन बनाएर होमिएका एमाले र माओवादी केन्द्रमा सिट बाँडफाँटका लागि झमेला परेको खबरलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले लेखेका छन् । बाँडफाँटमा सकस परेपछि वाम गठबन्धनले अन्तिम समयमा मात्र नाम सार्वजनिक गर्ने रणनीति बनाएको खबर पत्रपत्रिकामा छ ।
कर्मचारीको स्वेच्छिक अवकाशका लागि मात्रै कम्तीमा २६ अर्ब ४० करोड रुपैयाँ खर्च हुने देखिएको छ । राज्यकोषबाट यतिधेरै रकम एकैपटक दिन नसक्ने भएपछि सरकारले दातृ निकाय गुहारेको खबर पनि आजका पत्रपत्रिकाहरुमा छन् ।
पार्टीको निर्णयविपरीत उम्मेदवारी दिएका बागी उम्मेदवारहरु बार्गेनिङमा लागेको खबरलाई पनि आजका पत्रपत्रिकाहरुले छापेका छन् ।
त्यस्तै चिनियाँ राष्ट्रपति सी माओपछिकै शक्तिशालीलाई पनि आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।
यसका अलावा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालय तान्न आपूर्ति मन्त्री बाधक बनेको, कांग्रेस घोषणापत्रको तयारीमा लागेको लगायतका खबर आजका पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा महत्त्व दिएर छापेका छन् ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैलाई महत्त्वका साथ पहिलो पृष्ठमा छापेको गोरखापत्र दैनिकले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफललाई पनि लेखेको छ । त्यस्तै मंसिरभित्रै गाउँसम्म इन्जिनियर पुर्याउने भनेर पुनर्निर्माण प्राधिकरणका नवनियुक्त कार्यकारी अधिकृत युवराज भुसालले व्यक्त गरेको भनाइलाई पनि गोरखापत्रले प्राथमिकताका साथ प्रकाशित गरेको छ । प्रदेशसभाको समावेशितालाई गोरखापत्रले एंकर बनाएको छ ।
अन्नपूर्ण पोस्ट दैनिकले आज बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको सम्बन्धबारे चिरफार गरेको छ । कर्मचारीको स्वेच्छिक अवकाशका लागि स्रोत अभाव भएपछि सरकारले दाता गुहारेको खबरलाई पनि अन्नपूर्णले आज छापेको छ ।
कान्तिपुर दैनिकले चीनका राष्ट्रपति सी जिनपिङ माओपछिकै शक्तिशाली नेता भएको लेखेको छ भने नयाँ पत्रिका दैनिकले टिकट नपाएपछि कांग्रेस नेता कृष्णप्रसाद सिटौला रुष्ट बनेको समाचार प्रकाशित गरेको छ । नयाँ पत्रिकामै औद्योगिक क्षेत्र वरपरका ८४ प्रतिशत बालबालिकाको रगतमा सिसा भेटिएकोलाई खबर छ ।
नागरिक दैनिकले वामगठबन्धनमा देखापरेको सिट बाँडफाँटको सकसका साथै आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालयमा हाजिर गराउन मन्त्री बाधक बनेको लेखेको छ ।
प्रतिक्रिया