किन खनिए रवीन्द्र मिश्रमाथि प्रकाशमान ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
१९ पटक हेरिएको
Shares
किन खनिए रवीन्द्र मिश्रमाथि प्रकाशमान ?

सारांश

  • काठमाडौं, १९ कार्तिक।
  • देशभर नेपाली कांग्रेसका उम्मेदवार तथा नेताहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रका गठबन्धन र उम्मेदवारहरु प्रति आक्रमक भएपनि काठमाडौं–१ मा भने फरक दृश्य देखिन्छ।
  • काठमाडौं– १मा नेपाली कांग्रेसको तर्फबाट तेस्रोपटक उम्मेदवार बनेका पूर्व महामन्त्री प्रकाशमान सिंहको आक्रमणको निशाना भने एमाले र माओवादी नभै विवेकशील साझा पार्टी परेको छ।

काठमाडौं, १९ कार्तिक। देशभर नेपाली कांग्रेसका उम्मेदवार तथा नेताहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रका गठबन्धन र उम्मेदवारहरु प्रति आक्रमक भएपनि काठमाडौं–१ मा भने फरक दृश्य देखिन्छ।

काठमाडौं– १मा नेपाली कांग्रेसको तर्फबाट तेस्रोपटक उम्मेदवार बनेका पूर्व महामन्त्री प्रकाशमान सिंहको आक्रमणको निशाना भने एमाले र माओवादी नभै विवेकशील साझा पार्टी परेको छ।

शनिबार आयोजित चुनावी कार्यक्रममा कांग्रेस सिंहले विवेकशीला साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्र मात्रै उनका पति प्रसिद्ध चित्रकार मनुजबाबुलाई समेत गाली गरे ।

आवेगमा आएर मतदान नगर्न आग्रह गर्दै उनले भने, ‘देश हाँक्छु भनेर हिँडेका नेताहरुलाई जिताउँदा राम्रो हुन्छ कि विदेशमा बसेर डलर कमाएर आएकाले म सुधार गर्छु रे ! के सुधार गर्नुहुन्छ ?’

मिश्रप्रति लक्षित गर्दै सिंहले आफू लोकतन्त्रका लागि लडिरहँदा राजतन्त्रको पक्षमा कमल चलाउनेहरु अहिले क्रान्तिकारी उम्मेदवार बनेर आएको आरोप लगा।

उनले अघि भने, ‘बहुदलीय व्यवस्था ध्वस्त नभएसम्म घरबाट बाहिर आउँदिन भन्नेको छोरा र तपाईहरुलाई रैतीबाट जनता बनाउने पिताको छोरा उम्मेदवार छ ।’

दुई वटै संविधानसभा चुनावमा ठूलो मतान्तरले जित्दै सभासद बनेका सिंह किन आफ्नो प्रतिस्पर्धासँग आक्रोसित बने ?

सुरक्षित क्षेत्र खोज्दै आफ्नो घर भएको काठमाडौं क्षेत्र नम्बर सातबाट बानेश्वर पुगेका सिंहलाई बैशाखमा भएको स्थानीय चुनावमा परेको मतले झस्क्याएको हुनुसक्छ।

पछिल्लो स्थानीय निर्वाचन र २०७० सालको संविधानसभा निर्वाचनको तथ्यांकका आधारमा हामी यी प्रश्नहरुको बिश्लेषण गर्नेछौं।

यो क्षेत्रमा काठमाडौंका परम्परागत रैथानेभन्दा पनि बाहिरबाट आएर बसोबास गर्ने मतदाता बढी छन्। यहाँ महानगरका १०, ११,२९ र ३१ गरी जम्मा चार वडा पर्छन्।

गत संविधानसभा निर्वाचनमा सिंहले १५ हजार १ सय ३८ मत ल्याई यहाँबाट विजयी भएका थिए। यहाँ माओवादी उम्मेदवार दाहालले ४ हजार ६४ मत ल्याएकी थिइन् भने एमाले उम्मेदवार उमा शर्माले ३५०१ मत ल्याएकी थिइन्।

यसरी पछिल्लो संविधानसभाको मात्र चुनाव परिणाम हेर्ने हो भने सिंह एमाले र माओवादीका संयुक्त उम्मेदवारभन्दा अझै बलिया देखिन्छन्।

तर काठमाडौं महानगरको पछिल्लो स्थानीय चुनावको नतिजा हेर्ने हो भने यहाँ फरक तस्वीर आउँछ।

कांग्रेसले यो क्षेत्रका चार वडामा जम्मा ८ हजार ८ सय ४२ मत ल्याएको थियो। यो मत ०७० सालको संविधान सभा निर्वाचनमा प्रकाशमानले पाएको मतभन्दा झण्डै आधा हो।

अर्कोतिर एमालेले यी वडामा ८ हजार ७ सय १४ मत ल्याएको छ। यो मत संविधानसभा निर्वाचनमा उसले पाएको मतभन्दा दोब्बर हो। माओवादीका वडाअध्यक्ष उम्मेदवारहरूले यसपालि यहाँ जम्मा १२ सय १२ मत ल्याएका थिए।

माओवादी र एमालेका वडाध्यक्षहरूले पाएको जम्मा मत जोड्दा ९ हजार ९ सय २६ हुन्छ। यो कांग्रेस उम्मेदवारले पाएको मतभन्दा झण्डै एक हजार बढी हो।

पछिल्लो स्थानीय तह र गत संविधानसभा निर्वाचनको मत परिणाम हेर्ने हो भने, एउटा रोचक तथ्य देखिन्छ। स्थानीय तह र संविधान सभामा एमाले र माओवादी दुवैको मत जोड्दा थोरै मात्र फरक पर्छ।

संविधान सभामा दुवैको जम्मा मत ७ हजार ५ सय ६५ थियो भने स्थानीय निर्वाचनमा दुवै पार्टीका वडाध्यक्षले पाएको मत जोड्दा ९ हजार ९ सय हुन्छ। माओवादीको मत घट्दा एमालेको मत बढेको देखिन्छ। यो क्षेत्रको वामपन्थी मत लगभग ९ हजारको हाराहारीमा देखिन्छ।

यो क्षेत्रको नयाँ खेलाडी विवेकशील-साझा हो। स्थानीय चुनावको परिणाम हेर्ने हो भने विवेकशील-साझालाई नजोडी यो चुनाव क्षेत्रको विश्लेषण पूरा हुँदैन।

यो निर्वाचन क्षेत्रका वडामा विवेकशील-साझाले उम्मेदवार उठाएनन्, तर मेयर उम्मेदवारले भने धेरै मत ल्याए।

विवेकशील र साझाका मेयर उम्मेदवारले पाएको मत हेरेरनै अहिले एकीकृत भएको यो पार्टीले आफ्ना सहसंयोजक रवीन्द्र मिश्रलाई सो क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा उठाएको छ।

यो क्षेत्रका वडाबाट कांग्रेस मेयर उम्मेदवारले ६ हजार ८ सय, एमाले उम्मेदवारले ८ हजार २ सय ६९ र माओवादीले १ हजार ३ सय १४ मत ल्याएका थिए।

विवेकशील र साझाका मेयरको मत जोड्दा ७ हजार ६ सय ८० पुग्छ। यी दुई पार्टीले स्थानीय चुनावमा एमालेको भन्दा कांग्रेसका मत धेरै काटेको थियो।

यसपालि विवेकशील उम्मेदवार मिश्रले कति भोट ल्याउँछन् भन्ने निर्वाचन परिणाममा भर पर्छ। उनले आफ्ना पार्टीका मेयरले ल्याए जस्तै भोट ल्याए भने त चुनाव जित्ने सम्भावना हुनेछ। कांग्रेसको भोट धेरै काटे भने प्रकाशमान हार्नेछन्, वामपन्थी उम्मेदवारले जित्ने सम्भावना रहन्छ।

कांग्रेस र वामपन्थी गठवन्धनबीच मतदाता ध्रुवीकृत भए र मिश्रले थोरै मात्र भोट ल्याए भने प्रकाशमानले नै तेस्रो पटक यो निर्वाचन क्षेत्रमा जित्नेछन्।

यस निर्वाचनमा लगातार दुई चुनाव जितेर पनि काम क्षेत्रको विकासका लागि काम नगरेको आरोप छ। सिंहलाई मतदातामा रहेको आक्रोशको कारण कांग्रेसको सुरक्षित क्षेत्र पनि पराजित भैइएलाकी भन्ने डर पनि छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?