फैजल खाँको दोस्रो इनिङ, बामगठबन्धनको तर्फबाट उम्मेदवार

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
|
३० पटक हेरिएको
Shares
फैजल खाँको दोस्रो इनिङ, बामगठबन्धनको तर्फबाट उम्मेदवार

सारांश

  • काठमाडौं, २२ कार्तिक।
  • जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित क्रिकेटर फैजलुर खाँ (फैजल खाँ) को यतिखेर बेग्लै चर्चा छ ।
  • उनले प्राय: मुलुकभित्र र बाहिर हुने प्रतियोगितामा शतक हानेर प्रशंसा बटुल्दै आएका थिए ।

काठमाडौं, २२ कार्तिक। जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित क्रिकेटर फैजलुर खाँ (फैजल खाँ) को यतिखेर बेग्लै चर्चा छ । उनले प्राय: मुलुकभित्र र बाहिर हुने प्रतियोगितामा शतक हानेर प्रशंसा बटुल्दै आएका थिए ।

अहिले वामगठबन्धनबाट जिल्लाको क्षेत्र नम्बर १ (ख) मा उम्मेदवार बन्दै उनले आफ्नो जीवनको दोस्रो इनिङ सुरु गरेका छन । केही समयअघि एमालेका सचिव प्रदीप ज्ञवालीले उनलाई एमालेमा प्रवेश गराएका थिए।

क्रिकेटमा सफल उनी अहिले राजनीतिक दाउपेच सिक्दै मतदाता फकाउन व्यस्त छन् । ‘कडा अभ्यासले खेलमा सफलता मिल्थ्यो,’ उनले भने, ‘त्यही अनुशासन र मिहिनेत गर्ने बानीको लाभ मिलिरहेको छ ।’

खेलमा पाएको लोकप्रियताले प्रचारमा मदत पुगेको उनी बताउँछन् । ‘म आउने भनेपछि युवाको भीड लाग्छ,’ उनले भने, ‘खेलकै कारण होला पाको पुस्ताले पनि माया गर्छन् ।’

अविभावक र आफन्त राजनीतिमा क्रियाशील रहे पनि उनको लगाव खेलमा मात्र थियो। उनी भिनाजु तथा पूर्व सांसद सलाहुद्दिन खाँको प्रेरणाबाट राजनीतिमा आएका हुन्।

‘राजनीतिलाई मैले अर्को अवसरका रूपमा लिएको छु,’ उनले भने, ‘यसपालि प्रदेशसभा उम्मेदवार बनेपछि अब यसमै समय बिताउँछु ।’

मायादेवी गाउँपालिका २ भैसकुण्डाका उनले सन् २०१२ मा अस्ट्रेलियामा नेपालबाट आईसीसी यू–१९ विश्वकप खेलेका थिए ।

सन् २०११ बाट अन्तर्राष्ट्रिय खेल थालेका उनले त्यसयता पछाडि फर्किनुपरेन। २०१६ सम्म नेपालको प्रतिनिधित्व गर्दै खेल खेलिरहेका थिए। २०११ मा थाइल्यान्डमा सम्पन्न एसीसी यू–१९ एलिट कपले उनलाई चर्चामा ल्यायो। उनले ओमानविरुद्ध १ सय १ रनको इनिङ्स खेले। सोही वर्ष आयरल्यान्डमा यू–१९ विश्वकप छनोट हुँदै २०१२ मा मलेसियामा एसीसी यू–१९ एसिया कप र यू–१९ विश्वकप खेले ।

यू–१९ राष्ट्रिय छनोट प्रतियोगितामा पोखराविरुद्ध भैरहवाबाट खेलेर विष्फोटक ब्याटिङ गरेपछि उनी छनोटमा परेका थिए । उनले पोखराविरुद्ध १ सय ३१ रन बनाएका थिए । २०६९ मा पेप्सी स्ट्यान्र्डर्ड कप क्रिकेटमा एपीएफविरुद्ध फाइनलमा उनले १ सय २४ रन बनाए । सन् २०१३ मा धनगढीमा सम्पन्न एनपीएलमा १८ बलमा ६६ रन बनाएपछि उनको व्यक्तित्व माथि उठेको थियो।

राष्ट्रिय स्तरमा पुलिस क्लब, भैरहवा क्षेत्र, ईपीएलको कलर्स एक्स फ्याक्टरबाट खेलेका उनी अलराउन्डर हुन् । ‘क्रिकेट खेलेर मुलुकका लागि राम्रो गरें,’ उनले भने, ‘त्यसरी नै राजनीतिमा नाम राख्छु ।’ राजनीतिमा क्रियाशील नभए पनि स्थानीयका समस्या बुझेका कारण नयाँ–नयाँ योजना ल्याएर काम गर्ने दाबी गरे । ‘मधेशको समाज विभाजित छ,’ उनले भने, ‘नेतृत्व गर्ने मौका पाए मधेस–पहाड जोड्ने काम गर्छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?