चुनाव जित्न सबै ‘हत्कण्डा’
सारांश
- डोटी— बाम गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदरवार प्रेम बहादुर आलेमगर ‘पैसावाल’ नेता मानिन्छन्।
- दोस्रो संविधान सभा निर्वाचन–२०७० मा उनले डोटी क्षेत्र नम्बर–२बाट ‘पैसाको प्रभाव’ले निर्वाचन जितेको आरोप छ।
- ‘पैसाले यो निर्वाचनलाई धेरै असर गर्नेवाला छ,’ उम्मेदवार आलेमगरलाई लक्षित गर्दै केही समय अघि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले पत्रकार भेटघाटका क्रममा भनेका थिए,‘एकजना पैसावाल नेता छन्।
डोटी— बाम गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदरवार प्रेम बहादुर आलेमगर ‘पैसावाल’ नेता मानिन्छन्। दोस्रो संविधान सभा निर्वाचन–२०७० मा उनले डोटी क्षेत्र नम्बर–२बाट ‘पैसाको प्रभाव’ले निर्वाचन जितेको आरोप छ।
‘पैसाले यो निर्वाचनलाई धेरै असर गर्नेवाला छ,’ उम्मेदवार आलेमगरलाई लक्षित गर्दै केही समय अघि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले पत्रकार भेटघाटका क्रममा भनेका थिए,‘एकजना पैसावाल नेता छन्। उनी जति पनि पैसा फालिदिन्छन्। नत्र हेर्नुस उनीसँग सबैले डराउनुपर्ने कारण नै छैन्।’
आलेमगरको पैसाको प्रभावबाट ‘सजग’ रहन नेपाली काँग्रेसबाट प्रतिनिधि सभा उम्मेदवार रहेका भौतिक पूर्बाधार तथा यातायात मन्त्री वीर बहादुर बलायरलाई पनि पैसा खर्च गर्न चुनौती छ। कार्यकर्ताहरुबाट मन्त्री बलायरलाई ‘आलेजस्तै पैसा खर्च गर्न’ दबाब आईरहेको कांग्रेस स्रोत बताउछ । ‘पुरै जनतामा हातोहात पैसा फालिदिन्छ,’ एक कांग्रेस कार्यकर्ताले भने,‘त्योबाट जोगाउन केही रकम त हामीले पनि खर्च गर्नुपर्छ । हामीले मन्त्रीज्यूलाई त्यही सुझाव दिईरहेका छौ।’
मन्त्री बलायर पनि बहालवाला मन्त्री र बिद्यार्थी राजनीतिकाल देखीकै ‘पहँुचवाला’ नेता भएकाले उनलाई पैसाको कमी नहुने बिश्लेषण हुन्छ । ‘उहाँको ब्यक्तिगत आम्दानीको स्रोत भने खास्सै छैन,’ एक कांग्रेस नेता भन्छन्,‘तर, उहाँलाई चुनावी सहयोग भने राम्रै उठ्छ ।’ दुबै प्रतिस्पर्धाले प्रदेश सभाका उम्मेदवारहरुको चुनाव खर्चिलो भैरहेको उम्मेदवारका निकटष्थहरु बताउछन् ।
उम्मेदवारको यो ‘पैसाको प्रभाव’ मतदातास्तरसम्म पुगेको छ । मतदाताहरु समेत अहिले भोटका लागि ‘हातोहात’ मागिरहेका छन् । आममतदाताको मुखमा अहिले नेताले भोट माग्न जाँदा ‘कति दिने’ भन्नेसम्मको प्रतिक्रिया आउन थालेको राजनीतिक कार्यकर्ताहरु बताउछन् ।
तीब्र प्रतिस्पर्धा रहेको डोटीमा यसपटक चुनाव जित्न पैसाको मात्र नभई सबैखाले ‘हत्कण्डा’ प्रयोग भैरहेको छ । दलहरुले चुनाव जित्न ‘साम, दाम, दण्ड, भेद’को नीति अख्तियार गरेका छन् । जुन प्रष्टै देखिन थालेको छ ।
प्रचारप्रसारका क्रममा स्वयम उम्मेदबारले पैसा बाँडेका, आचार संहिता बिपरित सामाग्रीहरु बाँडेका, प्रभावशाली नेताहरुले फरक बिचार राख्नेलाई धम्क्याएका, खुट्टामै लम्पसार परेर ढोगेका, पुरा नहुने किसिमका आश्वासन बाँडेका घटनाहरु बाहिरिन थालेका छन् । जुन घटनाहरुले दलहरुले चुनाव जित्न सबैखाले हत्कण्डा प्रयोग गरिरहेको प्रमाणित गर्छ ।
निर्वाचनका अन्तिम दिनहरु चलिहरदा यस्ता गतिबिधीहरु अझै बढ्दै जाने देखिन्छ । ‘पैसा बाड्ने दिनहरु शुरु भए, अब यिनिहरु अझै बढी सल्बलाउने छन्,’ राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधी सभाका उम्मेदबार बेणीमाधब जोशी भन्छन्,‘एकअर्काका कार्यकर्तालाई मतदातासम्म पुग्न अबरोध गर्ने गतिबिधिसम्म गर्नेछन् । यसले स्थिती असामान्य बन्न सक्छ ।’
निर्वाचनका बेला हुने यस्ता दलिय गतिबिधीले लोकतन्त्र नै जोखिममा पर्नसक्ने डोटी बहुमुखी क्याम्पसका प्राध्यापक डण्डिराज ओझा बताउछन् । ‘यसरी हुँदै जाने हो भने, जनतालाई भोली लोकतन्त्रप्रति अबिश्वासको स्थिती बन्न सक्छ । जसले अलोकतान्त्रीक शक्तिले फाईदा उठाउन सक्छन्,’ उनी भन्छन्,‘त्यसैले लोकतन्त्र बचाउन दलहरुले यस्ता गतिबिधी आफैबाट हटाउनुपर्छ ।’
यसका लागि दलहरुले पैसावाल नेतालाई टिकट नै दिन नहुने उनी बताउछन् । ‘यहाँ त टिकट दिँदा त्याग, निष्ठा, आदर्श बोक्ने नेता भन्दा पैसावाल खोजिन्छ । त्यसको अर्थ सिधै पैसा खर्च गरेर चुनाव जितेर आउ भन्ने न हो । त्यसले लोकतन्त्र बचाउदैन् बरु नोक्सानी गर्छ,’ उनले थपे ।
Krishna Thakuri
मन्त्री जस्तो मान्छे आफू सँग नभएर के भाे सरकार पनि आफ्नै प्रशासन पनि आफ्नै राज्यको धुकुती छदैछ बाधे भै गाे
Manoj Lamichhane
हारे जोगी, जितें भोगी ?