आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १०, २०८०
|
|
२८ पटक हेरिएको
Shares
आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कीर्तिमानी आरोही हरि बुढामगरसहितको टोलीलाई आज सिंहदरबारस्थित कार्यकक्षमा सम्मान गरेका छन् ।
  • अध्यक्ष तिमिल्सिनाले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गरेर बुढामगर सबैको प्रेरणाको स्रोत बनेको बताउनुभयो ।

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कीर्तिमानी आरोही हरि बुढामगरसहितको टोलीलाई आज सिंहदरबारस्थित कार्यकक्षमा सम्मान गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गरेर बुढामगर सबैको प्रेरणाको स्रोत बनेको बताउनुभयो । उहाँले बुढामगरलाई सरकारले सम्मान गर्नुपर्नेमा जोड दिए । उनले भने,“सरकारले संविधान दिवसका अवसरमा विभिन्न विभूषण प्रदान गर्नेगर्छ । उहाँलाई पनि सरकारले उच्च सम्मान गर्नुपर्छ र यसका लागि आफ्नो तर्फबाट पहल हुन्छ ।”

बुढामगरले हिमाल चढ्न सुरुमा अनुमति लिन जाँदा नदिएको स्मरण गर्दै आज सम्मान पाउँदा खुसी लागेको बताए । उनले आफ्नो आरोहणसँगै विश्वमा नै नेपालमा शारीरिक अशक्त भएकालाई पनि हिमाल आरोहणका लागि स्वागत छ भन्ने सन्देश गएको बताए । शारीरिकरूपमा अशक्त भएका व्यक्तिलाई अझै जीवन र केही नयाँ गर्न आँट र इच्छाशक्ति चाहिन्छ भन्ने सन्देश गएको बुढामगरको भनाइ थियो ।

उनले भने, “आज सम्मानित हुन पाउँदा निकै खुसी छु । यो मेरो मात्र नभई सम्पूर्ण अपाङ्गता भएका व्यक्तिको सम्मान हो । नेपालमा सबैलाई स्वागत छ भन्ने कुरा यहाँबाट सन्देश गएको छ । पहिला प्रतिबन्ध हुँदा नेपालमा स्वागत छैन जस्तो म्यासेज गएको थियो, यसले सबैलाई स्वागत छ भन्ने कुराको सन्देश दिएको छ । आफ्नो आरोहणले नेपालमा भएका र संसारमा अपाङ्ग भएका व्यक्तिले जिन्दगी सकिएको छैन, केही न केही गर्न सकिन्छ भन्ने सन्देश गएको छ ।”

बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पाइला टेकेका छन् । यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी (घुँडा माथिबाट दुवै अङ्गविच्छेदन)’ व्यक्तिको नयाँ विश्व रेकर्ड कायम गरेका छन् ।

(प्रोस्थेटिक) कृत्रिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका थिए । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?