रातो झण्डा फर्कियो ललितपुरमा
सारांश
- काठमाडौं, मंसिर २४ –२०१५ सालमा भएको पहिलो संसदीय चुनावमा देशभरीबाट ४ जना मात्रै कम्युनिष्ट पार्टीका उम्मेदवारले जित्दा काठमाडौं उपत्यकाभित्र रातो झण्डा एउटै मात्र फहरिएको थियो ललितपुरमा ।
- त्यस झण्डाको बाहक हुनुहुन्थ्यो, तुल्सीलाल अमात्य ।
- नेपाल कम्युनिष्ट पार्टी २००६ सालमा गठन हुनुभन्दा अघि नै भारतीय कम्युनिष्टको संगतमा पुगिसकेका तुल्सीलाल अमात्य कम्युनिष्ट पार्टीका संस्थापक त बन्न पाउनुभएन, तर पहिलो पुस्ताका अत्यन्तै इमान्दार र सरल नेता हुनुहुन्थ्यो ।
काठमाडौं, मंसिर २४ –२०१५ सालमा भएको पहिलो संसदीय चुनावमा देशभरीबाट ४ जना मात्रै कम्युनिष्ट पार्टीका उम्मेदवारले जित्दा काठमाडौं उपत्यकाभित्र रातो झण्डा एउटै मात्र फहरिएको थियो ललितपुरमा । त्यस झण्डाको बाहक हुनुहुन्थ्यो, तुल्सीलाल अमात्य । नेपाल कम्युनिष्ट पार्टी २००६ सालमा गठन हुनुभन्दा अघि नै भारतीय कम्युनिष्टको संगतमा पुगिसकेका तुल्सीलाल अमात्य कम्युनिष्ट पार्टीका संस्थापक त बन्न पाउनुभएन, तर पहिलो पुस्ताका अत्यन्तै इमान्दार र सरल नेता हुनुहुन्थ्यो ।
सुक्ष्म अर्थ–सामाजिक विश्लेषक हुँदै रौतहट, जुगेडी किसान आन्दोलनको नेतृत्व गर्दै जीवनको उत्तराद्र्धमा नेकपा एमाले प्रवेश गर्नुभएका अमात्यलाई विशेषण दिइयो– अविश्रान्त नायक ।
उनै अविश्रान्त नायकसहित नेकपा संस्थापक नरबहादुर कर्माचार्य, देवेन्द्रलाल श्रेष्ठ (काइँला बा), दिलबहादुर श्रेष्ठ जस्ता अग्रज कम्युनिष्टहरुको जीवन पर्यन्तको त्याग र संघर्षद्वारा सिञ्चित हुँदै आएको ललितपुर जिल्ला २०४६ सालको परिवर्तनपछि ‘लालकिल्ला’ को नामबाट चिनियो ।
२०४८ सालको संसदीय चुनावमा १ नम्बरबाट मीठाराम शर्मा बजगाई (एमाले), २ नम्बरबाट सिद्धिलाल सिंह (एमाले) र ३ नम्बरबाट लीलामणि पोख्रेल (संयुक्त जनमोर्चा नेपाल) हरु निर्वाचित भएपछि ‘लालकिल्ला’ का रुपमा लिइएको ललितपुर त्यसको २८ वर्षपछि फेरि एकपटक ललितपुर ‘लालकिल्ला’ नै प्रमाणित भएको छ ।
यसपटक वाम गठबन्धनबाट प्रतिनिधिसभातर्फ ललितपुर १ नम्बरबाट नवराज सिलवाल, २ बाट कृष्णलाल महर्जन र ३ बाट पम्फा भुषाल विजयी भएर रातो झण्डा फहराएपछि ललितपुर फेरि एकपटक ‘लालकिल्ला’ प्रमाणित भएको हो ।
यसपटक वाम गठबन्धनका तर्फबाट १ नम्बरबाट उम्मेदवार भएका नवराज सिलवाल प्रहरी सेवाबाट आएका हुन् । आफू प्रहरीको सर्वोच्च पदमा पुग्नैपर्ने दाबी राजनीतिक पूर्वाग्रहका कारण पूरा नभएपछि एमाले प्रवेश गरेका सिलवालले ललितपुरको सुदूर दक्षिणी क्षेत्रमा पाकेको धान काट्दै गरेको फोटो भाइरल भएको थियो । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएका उदय शमशेर राणालाई हराएर रातो झण्डा फहराए ।
यसैगरी ललितपुरकै २ नम्बर क्षेत्रबाट एमालेका कृष्णलाल महर्जनले नेपाली कांग्रेसका चन्द्र महर्जनलाई हराएर दोस्रो पटक रातो झण्डा फहराए । यसअघि २०५६ को चुनावमा एमाले र माले विभाजन हुँदा अग्रज सिद्धिलाल सिंहलाई पराजित गर्दै प्रतिनिधिसभाका सांसद भएका महर्जन संसदमा सार्वजनिक लेखा समितिका सदस्यका रुपमा कृयाशील थिए । ललितपुरको बहुमत रहेका ज्यापु समुदायको प्रतिनिधित्व गर्ने उनी सरल प्रकृतिका छन् ।
ललितपुरकै ३ नम्बर क्षेत्रबाट नेकपा माओवादी केन्द्रका पम्फा भुषालले दोस्रो पटक रातो झण्डा फहराएकी छन् । यसअघि २०६४ मा सम्पन्न संविधानसभाको पहिलो चुनावमा त्यसै क्षेत्रबाट निर्वाचित भएकी उनले विकास निर्माणका केही उदाहरणीय काम गरेकी छन् । काठमाडौं–ललितपुर जोड्ने नयाँ बागमती पुल निर्माणमा उनको भूमिकालाई स्थानीयबासिन्दाले सम्झने गरेका छन् ।
माओवादी, माओवादी र फेरि पनि माओवादी बन्दै पम्फाले आफ्नो श्रेष्ठता प्रमाणित मात्रै गरेकी छैनन्, नेपाली राजनीतिमा अग्रणी महिलाका रुपमा समेत प्रमाणित गरेकी छन् ।
प्रतिक्रिया