बलुको हत्यालगत्तै यस्तो छ हत्याराको बयान (भिडियो/अडियो)
सारांश
- सुजन पन्त बुटवल, २१ पुस ।
- रुपन्देहीको देवदहमा शुक्रबार बिहान बलु भनिने बसन्त पौडेलको हत्या भयो ।
- पौडेलको हत्या पनि गतवर्ष पुस ४ गते मारिएका तत्कालिन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी काण्डसँग जोडिएको छ ।
सुजन पन्त
बुटवल, २१ पुस । रुपन्देहीको देवदहमा शुक्रबार बिहान बलु भनिने बसन्त पौडेलको हत्या भयो । पौडेलको हत्या पनि गतवर्ष पुस ४ गते मारिएका तत्कालिन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी काण्डसँग जोडिएको छ ।
घटना लगत्तै पत्रकार ज्ञवालीलाई मनोज पुन मगरले टेलिफोन गरी घटनाको जिम्मेवारी लिएका छन् ।
आफू मलेसिया रहेको बताउने मनोज पुन मगरले टेलिफोनमार्फत पत्रकार कपिल ज्ञवालीलाई पौडेलको हत्या आफूले गर्न लगाएको बताएका छन् । प्रहरीलाई छक्याउन उनले मलेसियामा रहेको बताएको हुनसक्ने अड्कल गरिएको छ ।
टेलिफोनमार्फत मगरले दुर्गा तिवारीको हत्या पनि आफूले गरेको र व्यक्तिगत रिसिइबीका कारण पौडेलको हत्या पनि गर्न लगाएको बताएका छन् ।
दुर्गा तिवारीको हत्यापछि फरार रहेका पुनले तिवारीको हत्यालगत्तै पटकपटक पौडेललाई चेतावनी दिँदा पनि नमानेका कारण हत्या गरेको दावी गरेका छन् ।
टेलिफोनमा पुनले तिवारीको हत्याअघि आफ्नो टिमका ८/९ जना साथीहरुलाई प्रहरीले थुनेको प्रसंग जोडेका थिए । सोहीकारण त्यतिबेला तिवारीको हत्या भएको पुनले दाबी गरेका छन् ।
टाउकोमा गोली लागेका पौडेललाई उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल लैजाँदा बाटोमा नै मृत्यु भएको थियो । ४० वर्षे पौडेल फर्निचर व्यावसायी हुन् ।
https://www.youtube.com/watch?v=TW2JCcRlLzA
यसरी भएको थियो घटना ?
फर्निचर नजिकै पौडेल आगो बालेर तापेर बसिरहेका थिए । आगो तापिरहेकै ठाउँमा २ जना व्यक्ति आए र भने काठ अर्डरको लागि । हातमा उनीहरुसँग एक कागजको टुक्रा पनि थियो ।
ग्राहक बनेर आएका उनीहरु अर्डर गर्न भनेर पौडेल नजिक पुगे । तर, पौडेललाई के थाहा आफूलाई मार्न आएको कुरा ? अर्डर गर्ने नाममा नजिकै पुगेका उनीहरुले तत्कालै पौडेलमाथि गोली चलाए ।
पौडेलको छात्तीमा गोली लाग्यो । भुईंमा ढले । मोटरसाइकलमा आएको समूहले गोली हानेर रोहिनी खोलातिर भागेको बताइएको छ ।
पौडेल पूर्व–गाविस अध्यक्ष तथा एमाले स्थानीय नेता निलकण्ठ पौडेलका एक्लो छोरा हुन् ।
यस्तो छ पुन र पत्रकार ज्ञवालीबीचको टेलिफोन वार्ता ?
मनोज : हेलो ! तपाईं कपिल ज्ञवालीजी हो ? म मलेसियाबाट बोल्दैछु, मनोज पुन मगर । आज जुन घटना घट्यो थाहा पाउनुभयो होला नि ?
पत्रकार कपिल : हजुर थाहा पाएँ !
मनोज : मैले त्यो घटनाको जिम्मेवारी लिन तपाईलाई फोन गरेको‘मैले गर्न लगाएको‘ मेरो केटाहरुलाई ठोकेको हो त्यसलाई ।
पत्रकार कपिल : हस् !
मनोज : सुन्नु न, न्यूज त चाहिने होला तपाईंलाई त्यहाँ, के हो तपाईं हतारमा हुनुहुन्छ त लेख्नु पनि छैन् क्या हो ? (झर्किँदै)
पत्रकार कपिल : हैन भइसक्यो, न्यूज त लेखिसकियो ।
मनोज : कारण के हो भन्ने कुरा‘अन्धाधुन्धै के लेख्नुहुन्छ त अनि ?
पत्रकार कपिल : भन्नुस् न हजुरले !
मनोज : त्यही त मैले भनिरा’को छु त तपाईंलाई मनोज पुन बोलिरा’छु म मलेसियाबाट । मैले गराउन लागेको, मेरो केटाहरुले ठोकेको हो ,उसलाई गोली । मेरो व्यक्तिगत रिसिइबी थियो ।
पत्रकार कपिल : के थियो रिसइबी ?
मनोज : दुर्गा तिवारीको काण्ड हुनुबित्तिकै मैले यसलाई पनि वार्निङ दिएको । मेरो नाम भन्दा मेरो नातेदारहरु कसैलाई पनि अप्ठेरो पार्ने काम नगर भनेर । यो बलु पौडेल, दुर्गा तिवारी सबै मिलेर घटना हुनुभन्दा ८÷९ दिन पहिला मेरो केटाहरुलाई भित्र (प्रहरी खोरमा) हालेका छन्, खैरहनीमा बस्दाखेरि । मेरो साथीभाइलाई फोकटमा फसाए यिनीहरुले । मैले यिनीहरुलाई त्यतिबेला पनि मेरो गल्ती केही छ भने भन्, नत्र फोकटमा दुःख दिने काम नगर भनेको । धेरैपटक वार्निङ दिएँ, धेरैपटक सम्झाएँ । बलु पौडेललाई पनि पटकपटक फोन गरेर सम्झाएँ, तर यसले मेरो फोनको कुनै रेस्पोन्स दिएन, यसले मलाई हल्का रुपमा लियो, त्यही भएर आज हत्या गरेको ।
पत्रकार कपिल : हस् !
बुटवल तनावग्रस्त
यतिबेला रुपन्देहीको ढेकेबार खैरेनीमा गोली प्रहारबाट स्थानीय युवा पौडेलको हत्या भएको विरोधमा बुटवल बन्द भएको छ । तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै आक्रोशित युवा विद्यार्थीहरुले बन्द गरेका हुन् ।
भोली रुपन्देही बन्द गर्ने युवा संघ अध्यक्ष नकुल शाह ठकुरीको भनाइ छ ।
प्रतिक्रिया