५ नं. प्रदेशमा राष्ट्रियसभा सदस्यको मतदान अन्तिम चरणमा (फोटोफिचर)
सारांश
- तस्वीर : नारायणी रजौरे दाङ, २४ माघ ।
- राष्ट्रियसभा सदस्यका लागि पाँच नम्बर प्रदेशको निर्वाचन अहिले घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा जारी रहेको छ ।
- निर्वाचन कार्यालयका अनुसार मतदान अन्तिम चरणमा पुगिसकेको छ ।
तस्वीर : नारायणी रजौरे
दाङ, २४ माघ । राष्ट्रियसभा सदस्यका लागि पाँच नम्बर प्रदेशको निर्वाचन अहिले घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा जारी रहेको छ । निर्वाचन कार्यालयका अनुसार मतदान अन्तिम चरणमा पुगिसकेको छ ।
बिहान १० बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार दिउँसो पौने २ बजेसम्म ३ सय ३ मतदाताले भोट खसालेका छन् । कुल मतदाता ३०५ रहेकोमा अब दुईजना मतदाता मात्रै बाँकी रहेका हुन् । जसमा प्रदेशसभा सदस्यतर्फ ८६ र स्थानीय तहतर्फ २१७ मत खसेको छ ।
राष्ट्रिय सभा सदस्यलाई चुन्न ५ नं. प्रदेशका मुख्यमन्त्रीका दावेदार एमाले नेता शंकर पोख्रेल, माओवादी नेता कुलप्रसाद केसी “सोनाम”लगायतले मतदान गरिसकेका छन् ।
प्रदेश सभाका ८७ सदस्य र स्थानीय तहका २ सय १८ गरी ५ नम्बर प्रदेशमा कुल ३ सय ५ मतदाता रहेका छन् ।
निर्वाचनमा भोट हाल्नका लागि मिलन केन्द्रस्थित मतदान स्थलमा दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
यी हुन् प्रतिस्पर्धी
देशभर ५९ जना सदस्य रहने राष्ट्रिय सभामा ५६ जना निर्वाचित हुनेछन् भने बाँकी ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।
संवैधानिक व्यवस्था अनुसार अन्य प्रदेशझैं ५ नम्बर प्रदेशबाट पनि राष्ट्रिय सभामा ८ जनाले प्रतिनिधित्व गर्नेछन् । जसअनुसार खुल्ला ३, महिला ३, दलित १, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक १ ले यस प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नेछन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पाँच नम्बर प्रदेशबाट ११ जनाको उम्मेदवारी परेको थियो । यस प्रदेशमा खुल्लातर्फ एमालेबाट खिमलाल भट्टराई, काँग्रेसबाट दुर्गाप्रसाद उपाध्याय, माओवादी केन्द्रका चन्द्रबहादुर खड्का र राष्ट्रिय जनमोर्चाबाट रश्मीराज नेपालीबीच प्रतिष्पर्धा हुँदैछ ।
यसैगरी दलिततर्फ एमालेका रामलखन हरिजन र काँग्रेसका मैकुलाल बाल्मिकी तथा अपाङ्गतर्फ काँग्रेसका लुटबहादुर खत्री र माओवादीका रामकुमार कुँवरबीच प्रतिष्पर्धा हुनेछ ।
तीन महिला निर्विरोध
राष्ट्रिय सभा निर्वाचनका लागि ५ नम्बर प्रदेशबाट ३ महिला एमालेबाट दाङकी कोमल वली, रोल्पाकी मीना बुढा र काँग्रेसबाट दाङकी अनिता देवकोटा निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोधहरुको औपचारिक घोषणा भने निर्वाचनमा विजयी हुने उम्मेदवार सँगसँगै गरिने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । बुधबार बेलुकासम्म नै मतपरिणाम आइसक्ने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया