क्रिकेटमा हङकङ हार्दा नेपालको भाग्य चम्कियो
सारांश
- काठमाडौं – विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत प्लेअफमा बिहीबार हङकङले नेदल्यान्ड्सलाई ४४ रनको नतिजा सुम्पिएपछि नेपालले एकदिवसीय अन्तर्राष्टिय मान्यता पाएको छ।
- त्यसअघि अर्को प्लेअफमा नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि ६ विकेटको शानदार नतिजा निकालेको थियो।
- नागरिक दैनिकमा खबर छ ।
काठमाडौं – विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत प्लेअफमा बिहीबार हङकङले नेदल्यान्ड्सलाई ४४ रनको नतिजा सुम्पिएपछि नेपालले एकदिवसीय अन्तर्राष्टिय मान्यता पाएको छ। त्यसअघि अर्को प्लेअफमा नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि ६ विकेटको शानदार नतिजा निकालेको थियो। नागरिक दैनिकमा खबर छ ।
दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन र सन्दीप लामिछानेको उत्कृष्ट बलिङप्रेरित नेपालले ओल्ड हरारियन स्पोट्स क्लबमा पिएनजीलाई हराएपछि एकदिवसीय मान्यताका नेदरल्यान्ड्स र हङकङबीचको नतिजा कुरिरहेको थियो। क्विकवे स्पोट्स क्लबमा नेदरल्यान्डले १ सय ७४ रनको योगफल बनाएको थियो। १ सय ७५ रनको लक्ष्य पछ्याएको हङकङले १ सय ३० रनमा सबै विकेट गुमाएपछि एकदिवसीय मान्यताका लागि नेपालले शनिबार हुने अर्को प्लेअफ खेल कुर्नु परेन।
टस जितेर ब्याटिङ थालेको नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ’डोवडले उत्कृष्ट प्रदर्शन गरे। ७१ बलमा ४ चौका र ३ छक्कासहित ६२ रन जोडेका ओ’डोवडले वेस्ले बारेसीसँग पहिलो विकेटका लागि ३७, बेन कुपरसँग दोस्रो विकेटक लागि २० तथा पिटर बोरेनसँग तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए। ओ’डोवडबाहेक नेदरल्यान्ड्सका बोरेनले ३१, बास डी लिडेले २९ तथा बारेसीले ११ रन बनाए। अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। हङकङका नादिम अहमदले ३ विकेट लिँदा तनवीर अफजल र इसन खानले समान २÷२ विकेट लिए।
१ सय ७५ रनको लक्ष्य पछ्एको हङकङले राम्रो सुरुआत गर्न सकेन। तेस्रो ओभरमै ओपनर निजकट खान ६ रन बनाएर पवेलियन फर्किंदा पाँचौं ओभरमा क्रिज कार्टर पनि ८ रन बनाएर आउट भए। त्यससपछि अंशुमन रथ र कप्तान बाबर हायतले टोलीको इनिङ उकास्ने प्रयास गरे। तेस्रो विकेटका लागि २६ रनको साझेदारी गरेपछि रथ ११ रन बनाएर आउट भए। त्यसपछि पनि कप्तान बाबर हायतले किन्चित शाहसँग चौथो विकेटका लागि ४४ रनको साझेदारी गर्दै हङकङको आशा कायम राखे। हायतले एक इन्डबाट रन बटुले पनि अर्को इन्डबाट बलियो साथ नपाउँदा हङकङ लक्ष्य भेट्टाउन असफल रह्यो।
शाह २२ रन जोडेर आउट भए। अजिज खानले १५ रन जोडे। हायतले ९४ बलमा ७ चौकासहित ५२ रन बनाए। अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। नेदरल्यान्डका रोइलोफ भान डे मार्वीले ७ ओभरमा १८ रन दिएर ४ विकेट लिए भने फ्रेड क्लासेनले २ विकेट लिए।
समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको भए हङकङ सुपर सिक्समा पुग्थ्यो। नेपाल डिभिजन–२ मा घटुवा हुन्थ्यो। तर, रोहितकुमार पौडेल र आरिफ शेखको अविजित ८९ रनको साझेदारीबाट नेपालले हङकङलाई ५ विकेटले पराजित गर्दै एकदिवसीय मान्यता पाउने सम्भावना कामय राख्यो। अफगानिस्तान सुपरसिक्समा पुग्यो। नेदरल्यान्ड्सबाहेक शीर्ष तीन टोलीले २०२२ सम्मका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने थिए। त्यसमध्ये युनाइटेड अरब इमिरेट्स(युएई) र स्टकल्यान्डले सुपरसिक्समा स्थान बनाउँदै एकदिवसीय मान्यता पक्का गरेपछि बाँकी एक स्थानका लागि नेपाल, हकङक र पिएनजीको प्रतिस्पर्धा थियो।
पहिलो प्लेअफमा नेपालले पिएनजीलाई ६ विकेट तथा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले हराएपछि नेपालले बिहीबार पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो। नेपालले अब सातौं स्थानका लागि शनिबार नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ भने हङकङले नवौं स्थानका लागि पिएनजीसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया