राजधानीमा मतदाताको उत्साहजनक सहभागिता
सारांश
- वैशाख ३१, २०७४- राजधानीका मुख्य सडहकरु सुनसान भएपनि मतदान केन्द्रहरु बिहानै गुल्जार देखिन्छन् ।
- उत्साहित मतदाताहरु मतदान सुरु हुने समय अगावैदेखि मतदान केन्द्रमा भेला भएका थिए ।
- मतदान केन्द्रबाट टाढा घर भएका बृद्ध र अशक्त मतदाताहरुलाई घरबाटै गाडीमा ओसारिएको देखिन्छ ।
वैशाख ३१, २०७४- राजधानीका मुख्य सडहकरु सुनसान भएपनि मतदान केन्द्रहरु बिहानै गुल्जार देखिन्छन् । उत्साहित मतदाताहरु मतदान सुरु हुने समय अगावैदेखि मतदान केन्द्रमा भेला भएका थिए । मतदान केन्द्रबाट टाढा घर भएका बृद्ध र अशक्त मतदाताहरुलाई घरबाटै गाडीमा ओसारिएको देखिन्छ ।
सुर्यविनायक नगरपालिका, भक्तपुरकी ९० बर्षिय कान्छी कार्कीले विरुवा मतदान केन्द्रमा मत खसालिन् । नातीनीको साहारामा मतदान केन्द्रसम्म आएकी कान्छीले भनिन्, ‘यो उमेरमा पनि मत हालेर नेता चुन्न पाइयो ।’
खुट्टा भाँचिए पनि सहयोगीसहित खसालेर काठमाडौं महानगरपालिका वडा नम्बर ४ की भगवती राणा बाहिर निस्किरहेकी थिइन् । उनले उत्साहित रुपमा भनिन्,‘मत खासालेर आएँ ।’
काठमाडौं महानगरपालिकाका मेयरका उम्मेद्धवारहरू कांग्रेस राजुराज जोशी, एमाले विद्यासुन्दर शाक्य, माओवादी केन्द्र संबोत्तम डंगोल, विवेकशील नेपाली दल रन्जु दर्शना र साझा पार्टीका मेयरका किशोर श्रेष्ठले भोट आ–आफ्नो वडाको मतदान केन्द्रबाट मत खसालेका छन् ।
काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रमा उल्लेख्य मतदान खसीरहेको देखिन्छ । तर सहरका मतदान केन्द्रमा बिहानैदेखि झुम्मिएका मतदाताहरूले ठूलो र बढी चिन्हहरू भएको निर्वाचन चिन्हका कारण केहि समस्या झेल्नु पर्यो ।
धेरै संख्यामा रहेका मतदान चिन्हका कारण काठमाडौं महानगरपालिका मतदाताहरुले समस्या भएको सुनाए । उनीहरूले ठूला पार्टीलाई मतदान गर्न समस्या नहुने तर स्वतन्त्र र साना पार्टीको निर्वाचन चिन्ह खोज्दा समस्या भएको बताए ।
काठमाडौं महानगरपालिका वडा नम्बर १ का मतदाता आकृत मानन्धरले भने,‘निर्वाचन चिन्ह धेरै भयो । ठूला पार्टीलाई हाल्न त सहज हुन्छ । तर अन्यमा आँखा पुर्याउदा समस्या भयो ।’
आँखाका चिकित्सक इन्द्रप्रसाद ढुंगेलले ५० वर्षभन्दा बढी उमेरका मतदातालाई मतपत्रमा निर्वाचन चिन्ह पत्ता लगाएर भोट हाल्न गाह्रो भएको बताए । उनले भने, ‘मतपत्र हेर्न गाह्रो छ । मलाई पनि समस्या भयो । बृद्धबृद्धालाई समस्या हुन्छ ।’
वडा नम्बर एकमा एमालेबाट महिलातर्फ उम्मेद्धवार दिएकी रसला तन्डुकारले युवामा समस्या नभए पनि बृद्धहरुमा मत पत्रमा भोट हाल्दा समस्या भएको बताइन् ।
उनले भनिन्,‘त्यसको लागि हामीले निर्वाचन अघि नै घर–घरमा गएर समेत मतदाता शिक्षा दिइसकेका छौं ।’ उक्त वडाकै कांग्रेसतर्फका उम्मेद्धवार राजकुमार श्रेष्ठले नेपालमा धेरै दल भएको र त्यसले गर्दा निर्वाचन चिन्ह बढी भएको बताए । उनले भने,‘अब ठूलो पार्टीमा भोग हाले समस्या हुदैन । अन्यमा जान खोजे समस्या हुन्छ ।’
प्रतिक्रिया