कांग्रेस केन्द्रीय समितिको बैठकमा ‘नोट अफ डिसेन्ट’ !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
२० पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय समितिको बैठकमा  ‘नोट अफ डिसेन्ट’ !

सारांश

  • काठमाडौं १६ वैशाख ।
  •   पार्टी पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको अडान र विधान संशोधनको कुराले कांग्रेस केन्द्रीय समितिको बैठक लम्बिएको छ ।
  • सभापति शेरबहादुर देउवा भने वामपन्थी गठबन्धनका कारण चुनावमा पार्टी पराजय भएको निश्कर्ष निकाल्नु पर्ने पक्षमा छन् ।

काठमाडौं १६ वैशाख ।  पार्टी पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको अडान र विधान संशोधनको कुराले कांग्रेस केन्द्रीय समितिको बैठक लम्बिएको छ ।

सभापति शेरबहादुर देउवा भने वामपन्थी गठबन्धनका कारण चुनावमा पार्टी पराजय भएको निश्कर्ष निकाल्नु पर्ने पक्षमा छन् ।

शनिवार विहान ९ बजे बस्ने भन्दै शुक्रवार दिउँसो स्थगित बैठक आइतवार दिउँसोसम्म शुरु हुन सकेको छैन । शनिवारको बैठक बस्दै नबसी आइतवार दिउँसोसम्मका लागि स्थगित भएको थियो । महामन्त्री डा शशांक कोइरालाको राजनीतिक प्रतिवेदन पारित गर्ने तथा केन्द्रीय सदस्यहरुले राखेरका फरक मतको सम्वोधन कसरी गर्ने भन्ने बिषयमा देउवा परामर्शमा रहेकोले बैठक बस्न नसकेको एक नेताले बताए ।

कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले नेताहरुबीच अनौपचारिक छलफल चलेकोले बैठक शुरु हुन नसकेको जानकारी दिए । देउवा समूह आन्तरिक छलफलमा लागेपछि बरिष्ठ नेता पौडेल पार्टी कार्यालयबाट हिँडेका छन् ।

पौडेल, नेता प्रकाशमान सिंह तथा गगन थापा लगायत ७ जना केन्द्रीय सदस्यले राखेको प्रस्ताव सम्वोधन नगरिए फरक मत (नोट अफ डिसेन्ट) लेख्ने नेताहरुको तयारी छ ।

केन्द्रीय समितिमा पेश भएका प्रस्तावलाई सम्वोधन गर्नको लागि ढिलाइ भइरहेको देउवा समूहका अर्का एक नेताले बताए । बैठकमा विधान संशोधन र पदाधिकारी मनोनयन गर्ने सम्मको तयारी थियो । देउवा पक्षीय गोपालमान श्रेष्ठ र पार्टी एकीकरणमा आएका विजयकुमार गच्छदारले आफूलाई उपसभापति मनोनयन गर्न दबाव दिँदै आएका छन् ।

चुनावमा पार्टी पराजयको समिक्षा गर्न गत चैत ९ गते शुरु भएको बैठक केही समय स्थगित भएर गतसाता देखि फेरि शुरु भएको थियो । सहमति भएमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएर आइतवार नै बैठक समापन गर्ने सभापति देउवाको तयारी रहेको एक केन्द्रीय सदस्यले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?