‘लगेज पास गराएको एक लाख दिन्छु भनेपछि सुन ल्याउने काम सुरु भएको हो’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
२४ पटक हेरिएको
Shares
‘लगेज पास गराएको एक लाख दिन्छु भनेपछि सुन ल्याउने काम सुरु भएको हो’

सारांश

  • काठमाडौँ, २२ जेठ ।
  • जिल्ला अदालत काठमाडौंले पर्याप्त प्रमाण, आधार र विषयवस्तु केलाउन नसक्दा सुन तस्करीमा जोडिएका एसएसपी श्याम खत्री धरौटीमा छुटी फेरि पुरानै धन्दामा संलग्न भएको खुलेको छ ।
  • गतवर्ष साढे ३३ किलो सुन बरामद प्रकरणमा मुछिएका खत्रीलाई न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले ‘बस्तुगत स्वतन्त्र प्रमाणको अभाव’ देखाउँदै २ लाख रुपैयाँ धरौटीमा छुटाएका हुन्।

काठमाडौँ, २२ जेठ । जिल्ला अदालत काठमाडौंले पर्याप्त प्रमाण, आधार र विषयवस्तु केलाउन नसक्दा सुन तस्करीमा जोडिएका एसएसपी श्याम खत्री धरौटीमा छुटी फेरि पुरानै धन्दामा संलग्न भएको खुलेको छ ।

गतवर्ष साढे ३३ किलो सुन बरामद प्रकरणमा मुछिएका खत्रीलाई न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले ‘बस्तुगत स्वतन्त्र प्रमाणको अभाव’ देखाउँदै २ लाख रुपैयाँ धरौटीमा छुटाएका हुन्। प्रहरी प्रतिवेदन, सरकारी वकिलको कार्यालयले पेस गरेको अभियोगपत्र र अदालतको आदेश हेर्दा अभियोगपत्रमा उल्लेखित केही विवरणलाई जिल्ला अदालतले ‘नोटिस’मा नलिएको देखिन्छ।

‘सबै मिसिल पढ्दा एसएसपी खत्री सुन तस्करीमा संलग्न नभएको भनी गरिएका दाबी र बयानलाई नोटिसमा लिने तर उनी संलग्न भएको भनिएका विवरण र तथ्यलाई केलाउन नसकेको देखिन्छ’ सुन तस्करी मुद्दाको मिसिल अध्ययन गरिरहेका उच्च अदालतका एक न्यायाधीशले भने, ‘संगठित अपराधको आरोप लागेका व्यक्तिले संवेदनशील ठाउँमा बसेर जे जति काम गरेको प्रमाण पेस गरियो, त्यो पर्याप्त छ।’

०७३ साल चैत ४ गते जिल्ला अदालत काठमाडौंबाट जारी भएको आदेशमा एसएसपी श्याम खत्री ‘सुन तस्करीमा प्रत्यक्ष संलग्न नदेखिएको’ प्रारम्भिक ठहर गरिएको छ।

‘श्यामबहादुर खत्रीलाई श्रीनारायण यादवले भन्सारमा अवैध सुन पास गराउन सहयोग गरेबापत १/१ लाख गरी २ लाख रुपैयाँ दिएको भनी मौकामा पोल गरेको र निज यादवसँग प्रतिवादी खत्रीको फोन सम्पर्क भएको भनी अभियोग दाबी लिएको देखिन्छ। यी प्रतिवादीले मौका र अदालतमा समेत कसुरमा इन्कार रहेको देखिन्छ’ न्यायाधीश दीपेन्द्र अधिकारीको आदेशमा भनिएको छ, ‘डीआईजी गोविन्द निरौला र अन्य प्रतिवादीहरुको फोन सम्पर्कबाहेक खत्रीसँग चिनजान, सम्पर्क र सम्बन्ध भएको देखिने बस्तुगत स्वतन्त्र प्रमाण देखिएन।’ एसएसपी खत्रीले १/१ लाख रुपैयाँ बुझेको भनी पोलेको देखिएको र उनीसँग समेत सम्पर्क भएको देखिएबाट पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने भन्दै आदेशमा ‘हाललाई २ लाख रुपैयाँ धरौटी माग गर्ने’ उल्लेख छ।

तर, प्रहरी प्रतिवेदन र सरकारी वकिलको कार्यालयले तयार पारेको प्रतिवेदनमा भने आदेशको व्यहोराभन्दा फरक छ। सुन तस्करीको आरोप लागेका राजकुमार ढकालले नै बयानका क्रममा ‘सामान (सुन) भन्सारबाट चेकिङ पास गराउने काममा प्रहरी र अन्य भन्सारका कर्मचारी संलग्न छन् भनी आफूलाई श्रीनारायण यादव र श्यामकृष्ण श्रेष्ठले बताएको’ बयान दिएका छन्। उनले त्यसलाई पुष्टि गर्ने थप विवरण समेत बयानकै क्रममा खोलेको देखिन्छ। जस अनुसार, सामानहरु एयरपोर्टबाट बाहिर निकाली सकेपछि आफूले २ लाखदेखि २ लाख ५० हजार रुपैयाँ पाएको स्वीकारेका छन्। त्यसमध्ये आफूले २० हजार रुपैयाँ राखी बाँकी श्यामकृष्ण श्रेष्ठ, श्रीनारायण यादवलगायतको समूहलाई दिएको बयान गरेका छन्। कम्तीमा ५ पटक यो क्रम चलेको उल्लेख गरेका उनको भनाइमा, रकम पाएपछि उनीहरुले भन्सार र प्रहरीका अधिकारीलाई आधा/आधा बाँड्ने गरेका थिए। ‘आधा एसएसपी र आधा भन्सारका कर्मचारीलाई दिनुपर्छ भन्नुहुन्थ्यो। को कसलाई कति रकम बाँड्नुहुन्थ्यो, श्रीनारायणलाई नै थाह होला।’

जिल्ला अदालत काठमाडौंले एसएसपी श्यामबहादुर खत्रीको थुनछेक आदेशमा भन्सारका कर्मचारी श्रीनारायण यादवको बयानलाई आधार मानेको देखिन्छ, जसमा यादवले आफूले एसएसपीलाई रकम बुझाउने गरेको भनी ‘पोलेका’ थिए। तर त्यसक्रममा समेत तथ्य विवरण र बयानको व्याख्यामा ‘ट्विस्ट’ भएको देखिन्छ। थुनछेक आदेशमा ‘एसएसपी खत्रीले १/१ लाख रुपैयाँ बुझेको भनी पोलेको देखिएको र उनीसँग समेत सम्पर्क भएको देखिएबाट’ भन्ने आधार देखाई जिल्ला अदालतले ‘हाललाई २ लाख रुपैयाँ धरौटी माग गर्ने’ आदेश गरेको छ। तर, बयानको व्यहोरा हेर्दा २ लाखमात्रै नभई पटकपटक रकमको मागसहित त्यसको व्याख्या समेत भएको छ।

मुद्दामा प्रतिवादी बनाइएका भन्सारका कर्मचारी श्रीनारायण यादवका अनुसार, सुन बोकेर आउने दिलबन्धु थापाले राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठलाई नगद दिन्थे। ढकाल र श्रेष्ठले आफ्नो भाग राखी बाँकी रकम भन्सारका कर्मचारी यादवलाई बुझाउँथे। यादवले बयानमा भनेका छन्, ‘मलाई मेरो भाग र एसएसपी श्यामबहादुर खत्रीलाई दिनु भनी कहिले एक लाख ३० हजार रुपैयाँ र कहिले एक लाख २० हजार रुपैयाँका दरले दिन्थे।’ यादवको बयान अनुसार, उक्त रकम एक पटकको नभई पटकपटक सुन तस्करीका क्रममा भएको लेनदेनको दर हो। तर अदालतले भने त्यही दरलाई दुई पटक भनी २ लाख विगो मागेको देखिन्छ। त्यसक्रममा समेत ५० हजार रुपैयाँ छुट्याइएको छ।

रोचक त के छ भने, यादवले सुन तस्करी हुनुअघि सवारी साधनको पार्टस् ल्याउने क्रममा समेत तस्करी भएको र त्यसक्रममा प्रहरीलाई पैसा बुझाएको स्वीकारेका छन्। बयानमा उनले भनेका छन्, ‘सुन ल्याउँदा प्रहरीलाई पनि मिलाउनु पर्छ, नत्र काम गर्न अप्ठेरो हुन्छ भनेपछि प्रहरीसमेतलाई एक पटक लगेज पास गराएको एक लाख दिन्छु भनेपछि सुन ल्याउने काम सुरु भएको हो।’ उनले आफूले बुझेको रकम एसएसपी खत्रीलाई बुझाएको भनी बयानमा पटकपटक दोहोर्‍याउँदै, ‘कति पटक रकम बुझेको, यकिन समेत नभएको’ स्वीकारेका छन्।

छानबिनका क्रममा बयान लिइएका रञ्जितकुमार गुप्ताले व्यापारका क्रममा २०६८ सालदेखि एसएसपी श्याम गुप्तासँग चिनाजान भएको बताउँदै ‘उनी सुन व्यापारीहरुसँग आउने जाने गर्थे’ भनेका छन्। आफूलाई व्यापारका लागि सुरुमा २० प्रतिशतका दरले ऋण लिन थालेपनि पछि व्याजदर ३६ प्रतिशत बनाएपछि ऋण लिन छाडेको उनको बयानमा उल्लेख छ। अदालतको आदेशमा भने यी विषय समावेश छैन।

अपराध अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार, सुन तस्करीमा प्रयोग भएको संगठित अपराधको सञ्जालमा विमानस्थलको भन्सार र प्रहरीको सुरक्षा गार्ड चिकेन्स नेकको रुपमा प्रयोग भएको देखिन्छ। ‘त्यो दुई ठाउँमा खटिने कर्मचारी इमान्दार भइदिएको भए, अन्यत्र जतिसुकै मिलेमतो भए पनि सुन पास हुने थिएन’ स्रोतले भन्यो, ‘त्यही विन्दुमा बसेर तस्करीमा सघाएका, अन्य आरोपितहरुबाट पोलिएका प्रहरीका उच्च पदस्थ अधिकारीमाथि थुनछेक आदेशमा उदार दृष्टिकोण राख्नु न्यायोचित होइन।’ यी आरोपितमाथि सुन तस्करीमा सघाएको भन्ने आरोपका साथै संगठित रुपमा आपराधिक क्रियाकलाप गरेको र अपराधिक क्रियाकलापका लागि संगठन निर्माण गरेको आरोप समेत थियो।

एसएसपी खत्रीले बयानका क्रममा ‘विमानस्थलमा खट्ने प्रहरी अधिकृतहरुको सुपरिवेक्षणका लागि सिनियर प्रहरी अधिकारीहरु खट्ने गरेको’ बताएका थिए, जसलाई थुनछेक आदेशमा महत्वका साथ स्थान दिएको देखिन्छ। ‘भन्सारमा कुनै अप्ठेरो परेमा प्रहरीले रेस्पोन्स गर्छ अन्यथा कुनै भूमिका हुँदैन’ उनले बयानका क्रममा भनेका थिए, सुन काण्डबारे त समाचारमा पढेर थाहा भएको हो।’ उनको यो दाबीलाई प्रहरीको फोन कल विश्लेषणले गलत साबित गरिदिएको छ। सुन तस्करीका क्रममा पक्राउ परेका कर्मचारी र अन्य व्यक्तिसँग उनको नियमित सम्पर्क भएको भनी कल विश्लेषणमै उल्लेख गरिएको छ।

उनले भन्सारका कर्मचारीसँग रकम नलिएको, अवैध सुन ल्याउने छुट नदिएको दाबी गरे। बयानमा पुगेका प्रहरीका अन्य जवानहरुले समेत खत्रीको दाबीलाई सदर गर्दै ‘खत्रीको आदेशमा सुन स्कटिङ गरी बाहिर पठाइएको’ दाबी सत्य नभएको दोहोर्‍याए। त्यसपछि फेरि भन्सारकै तथ्यांक अधिकृत श्रीनारायण यादवको ततिम्बा (पछि फेरि दोहोर्‍याएर गरिएको सोधपुछ) बयानमा समेत एसएसपीलाई रकम बुझाएको उल्लेख छ।

खत्रीले चार वर्ष पहिले आफ्नै पत्नीको नाममा समेत अलंकार इन्टरप्राइजेज नामक कम्पनी खोलेका थिए, जुन एक वर्षपछि अर्कैको नाममा नामसारी भयो।

(कान्तिपुरमा कृष्ण ज्ञवालीले लेखेका छन ।)

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Naya Khabar

    कडा भन्दा कडा सजाय हुनुपर्छ |

    Comment Author

    Jhanak Puri

    talv sabai asul gara!

    Comment Author

    Chhantyal Khagen

    Fataha sale

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?