सिटौलाको साथ पाएपछि कांग्रेसमा पौडेल पक्षलाई फलिफाप
सारांश
- काठमाडाै, ३ असार ।
- नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल ट्रेड युनियनको नयाँ कार्यसमितिमा पार्टी सभापति शेरबहादुर देउवा इतरको प्यानलले विजय हासिल गर्यो।
- बरिष्ठ नेता रामचन्द्र पौडेल खेमाका पुष्कर आचार्य ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनमा देउवा खेमाका खिलानाथ दाहाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भए।
काठमाडाै, ३ असार । नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल ट्रेड युनियनको नयाँ कार्यसमितिमा पार्टी सभापति शेरबहादुर देउवा इतरको प्यानलले विजय हासिल गर्यो। बरिष्ठ नेता रामचन्द्र पौडेल खेमाका पुष्कर आचार्य ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनमा देउवा खेमाका खिलानाथ दाहाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भए।
ट्रेड युनियन कांग्रेसको यो महाधिवेशनमा बरिष्ठ नेता पौडेल र कृष्णप्रसाद सिटौला पक्षले संस्थापन पक्षधर दाहाल प्यानल विरुद्ध गठबन्धन निर्माण गरेको थियो। पौडेल र सिटौला पक्ष महाधिवेशनमा एक ठाउँमा उत्रिएपछि संस्थापन पक्षीय प्यानलले नराम्रोसँग हार व्यहोर्नु पर्यो। आचार्यले ८ सय १८ मत पाउँदा दाहालले ५ सय १८ मतमात्र पाए।
दुई बर्षअघिको १३ औँ महाधिवेशनमा पौडेललाई भारी मतान्तरले पराजित गर्दै सभापतिमा देउवा निर्वाचित भएपनि पछिल्लो पटक भातृ संगठनमा भएको प्रतिस्पर्धामा भने पौडेल समूहले बाजी मार्न थालेको छ। यसअघि चैत्र (०७४) पहिलो साता भएको नेपाल शिक्षक संघ र कर्मचारी युनियनको चुनावमा पनि देउवा पक्षले नराम्रो हार बेहोर्नु परेको थियो।
शिक्षक संघको अधिवेसनमा पौडेल पक्षका राजेन्द्रराज पौडेललार्इ अध्यक्षमा निर्वाचित भएका थिए, देउवा पक्षका केशव निरौलाले पराजय बेहोर्नु परेको थियो। सो निर्वाचनमा निर्वाचनमा पौडेल पक्षले एक पदमा बाहेक प्यानल नै जितेको थियो। त्यस्तै चैत ७ (०७४) मा सम्पन्न कर्मचारी युनियनको अधिवेसनमा अध्यक्षमा पौडेल पक्षकै गोपालप्रसाद पोखरेल निर्वाचित भएका थिए।
पछिल्लो समय कांग्रेसका दुर्इ भातृ संगठन- नेपाल शिक्षक संघ र कर्मचारी युनियनको निर्वाचनमा जस्तो परिणाम आयो, त्यसले प्रष्ट हुन्छ, भातृ संगठनको नेतृत्वमा विस्तारै देउवा समूहको पकड गुम्न थालेको छ। तर, यस्तो परिणाम आउनुमा पौडेल समूहको शक्ति बृद्धि भन्दापनि सिटौला समूहसँगको गठबन्धनले भूमिका खेलेको छ।
दुई बर्षअघि सम्पन्न नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा सिटौला आफै सभापतिका प्रत्यासी थिए। महाधिवेशन भन्दा केहीअघि तत्कालिन सभापति सुशील कोइरालाको निधन भएपछि सिटौलाले कोइराला क्याम्प छाडे र सभापतिमा प्रतिस्पर्धा गरे। कोइराला क्याम्पको उम्मेदवार चाहिँ पौडेल बनाइए। केही अघिसम्म एउटै क्याम्पमा रहेका पौडेल-सिटौला महाधिवेशनमा प्रतिस्पर्धी बने।
त्यसको फाइदा देउवालाई भयो। सिटौलापनि सभापतिको प्रत्यासी बनेपछि पहिलो चरणमा नै सभापतिको निर्वाचन टुङ्गिएन। अप्रत्यक्ष नै सही, दोस्रो चरणको निर्वाचनमा देउवालाई सिटौलाको समर्थन रह्यो। र, सभापतिको अन्तिम प्रतिस्पर्धामा देउवाले बाजी मारे। पार्टी महाधिवेशनमा देउवा-सिटौलाबीच देखिएको यो एकता पार्टी महाधिवेशनपछि पनि कायम रह्यो।
सिटौलासँगको गठबन्धन देउवा पक्षका लागि कति लाभदायी भयो भन्ने कुरा पार्टी महाधिवेशन पछि भएका कांग्रेसका दुई भातृ संगठनको निर्वाचन परिणामले पनि देखाउँछन्। नेपाल विद्यार्थी संघ र नेपाल महिला संघको निर्वाचनमा देउवा-सिटौला पक्षबीच गठबन्धन भयो। र, पदाधिकारी लगायत सबै पदहरुमा यही समूहले पौडेल पक्षलाई पराजित गर्दै विजय हासिल गर्यो।
जब देउवा-सिटौला पक्षबीच गठबन्धन हुन थाल्यो र त्यही कारण भातृ संगठनहरुमा आफ्नो पक्षले पराजय बेहोर्न थाल्यो, गत साल भएको नेपाल तरुण दलको महाधिवेशन नै बहिस्कार गर्ने धम्की पौडेल पक्षले दियो। सिटौला पक्षको साथ देउवा पक्षले पाउनासाथ तरुण दलमा पनि विद्यार्थी र महिला संघको महाधिवेशनकै जस्तो परिणाम आउने भय पौडेल पक्षको थियो।
महाधिवेशन नै बहिस्कार गर्ने पौडेल पक्षको धम्कीपछि देउवा र सिटौला पक्ष तरुण दलको कार्यसमिति सहमतिमा निर्माण गर्न बाध्य भए। देउवा पक्षका जितजङ्ग बस्नेत अध्यक्ष भएपनि पदाधिकारी र कार्यसमितिमा पौडेल समूहलाई पनि समेटियो। सहमतिमा कार्यसमिति चयन भएकाले त्यसमा सिटौला पक्षले पनि सम्मानजनक स्थान पायो।
पार्टीको १३ औँ महाधिवेशनपछि पौडेलले देउवा-सिटौला गठबन्धन तोड्ने प्रयास गरेनन्। फलत दुई भातृ संगठनको महाधिवेशनमा उनी पक्षधरको पराजय भयो। नेबि संघ र महिला संघको निर्वाचनमा देखिएको हारबाट पाठ लिँदै पौडेल समूहले तरुण दलको महाधिवेशनमा देउवा-सिटौला गठबन्धन तोड्ने कोशिष ग¥यो र आंशिक सफलतापनि प्राप्त गर्यो।
तत्कालिन सभापति सुशील कोइरालाको आकस्मिक निधनपछि कांग्रेसको १३औँ महाधिवेशनताका कोइराला खेमाबाट अलग भएका र आफ्नै छुट्टै समूह भएपनि देउवालाई सहयोग गर्न पुगेका सिटौला र पौडेलबीच पछिल्लो समय सम्बन्धमा सुधार आएको छ। यसको परिणाम, पौडेल–सिटौलाले भातृ संगठनका निर्वाचनमा सहकार्य गरेका छन्, जसका कारण संस्थापन पक्षीय प्यानल पराजित हुन थालेको छ।
भातृ संगठनका निर्वाचन परिणामले देखाउँछन्, कांग्रेसको आन्तरिक चुनावमा सिटौला निर्णायक बन्न थालेका छन्। उनको समर्थन विना न देउवा समूहले विजय हासिल गर्न सक्छ, न त पौडेल समूहले नै। जस्तो कि, विद्यार्थी र महिला संघको चुनावमा देउवा समूहले सिटौलाको समर्थन पायो, जित्यो। शिक्षक, कर्मचारी र ट्रेड युनियनमा पौडेल समूहले सिटौलाको समर्थन पायो, देउवा समूह पराजित भयो।
पार्टी केन्द्रीय समितिमा देउवा अझै बलियो स्थितिमा छन्, तर सिटौलाको साथ लिएर पौडेलले देउवालाई कमजोर पार्ने नीति लिएका छन्। पौडेल-सिटौलाले देउवा विरुद्ध अप्रत्यक्ष रुपमा अभियान नै सञ्चालन गर्ने संकेतपनि दिएका छन्। २८जेठमा नेपाल विद्यार्थी संघद्वारा आयोजित एक कार्यक्रममा पौडेल र सिटौला एकैस्वरमा सभापति देउवा विरुद्ध खनिए नै, आफूहरु एक भएर अगाडि बढ्ने प्रतिबद्धतापनि जाहेर गरे।
Bishnu Karki
Good luck