नेकपाको स्थायी कमिटी बैठक सुरु
सारांश
- काठमाडौं, २९ मंसिर ।
- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ।
- पार्टी मुख्यालय धुम्बाराही बैठक सुरु भएको हो।
काठमाडौं, २९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी मुख्यालय धुम्बाराही बैठक सुरु भएको हो।
पार्टी एकीकरणपछि यो नेकपाको तेस्रो स्थायी कमिटी बैठक हो। यसअघि असार २ र २१ मा दुई पटक बैठक बसेको थियो।
यद्यपि, पार्टी विधानमा प्रत्येक तीन महिनामा बैठक बस्ने व्यवस्था भए पनि यस पटक पाँच महिनाभन्दा बढी समयमा बैठक बसेको हो।
यसअघि पनि पटकपटक बैठक बोलाइएका थिए। तर पाँच पटक बोलाइएका सबै बैठक अन्तिम समयमा स्थगित हुँदै आएका थिए। भदौ ८ र ९, भदौ १९ र २०, भदौ २६ र २७, कात्तिक ४ र ५ तथा कात्तिक १२ र १३ का लागि बोलाइएका कुनै पनि बैठक बस्न सकेनन्।
स्थायी समितिमा भने सांगठनिक एकीकरण र सरकारको समीक्षा नै मुख्य एजेन्डा हुने छ। ‘प्रदेश कमिटीका विषयमा अन्तिम निर्णय गर्ने, जनवर्गीय संगठनको एकीकरण, जिल्ला कमिटीहरुको एकीकरणलाई पूर्णता दिने, केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न लगायतका काम राजनीतिक प्रतिवेदनबाट हुन्छ’, प्रवक्ता नारायणकाजी श्रेष्ठ भन्छन्, ‘सरकारको कामलाई समीक्षा गरेर थप प्रभावकारी र परिणाममुखी बनाउनका लागि नयाँ कार्ययोजना बनाउने काम पनि हुन्छ।’
यसअघि सचिवालयले गरेका निर्णयहरुलाई अनुमोदन गर्ने प्राविधिक काम पनि यही मौकामा हुनेछ।
तर सचिवालयले जस्तो एजेन्डा तय गरे पनि स्थायी समिति बैठक त्यतिमै बाँधिने भने छैन। लामो समयपछि बस्न लागेको बैठक र त्यसमा पनि सदस्यहरुमा गुम्सिएका कतिपय असन्तुष्टिहरु सबै पोखिने कतिपय नेताहरुको भनाइ छ।
‘प्रतिवेदनहरु प्रस्तुत हुन्छन्, सचिवालयले यसभन्दा अघि गरेका निर्णयहरु प्रस्तुत हुन्छन् र स्थायी समिति आफैंले के विषयमा छलफल गर्ने भनेर एजेन्डा तय गरेर छलफल गर्छ’, स्थायी समिति सदस्य सुवास नेम्वाङ भन्छन्।
प्रतिक्रिया