
बायोमेट्रिक अप्वाइन्टमेन्ट पछिमात्र अमेरिकाबाहिरको यात्रा गर्नु उपयुक्त हुन्छ । कुनै कुनै सर्भिस सेन्टरहरुले वाक इन अप्वाइन्टमेन्ट समेत स्वीकार गर्नसक्ने भएकाले यदि तपाईको सर्भिस सेन्टरले वाक ईन अप्वाइन्टमेन्ट स्वीकार गरेमा तपाई त्यहाँ गएर औंठाछाप दिएर अमेरिकाबाहिर यात्रा गर्न सक्नुहुन्छ । अमेरिकी नागरिकताको सपथग्रहण नगर्दासम्म तपाई ग्रिनकार्डमा अमेरिका बाहिर यात्रा गर्न सक्नुहुन्छ ।
सकभर अमेरिकी नागरिकताको प्रकृया चलिरहँदा अमेरिकाबाहिर यात्रा नगर्नु नै उपयुक्त हुने कानुनविदहरुको सुझाव छ । तर यात्रा गर्नैपरेमा अन्तरवार्ताको बेलामा र औंठाछाप दिने बेलामा भने अमेरिका आउनसक्नेगरी यात्रा गर्नुपर्छ ।सामान्यतया अमेरिकी नागरिकताका लागि आवेदन दिइसकेपछि केहीसाताभित्रै तपाईलाई औठाछापका लागि बोलाइन्छ । तर त्यसपछि नागरिकताको अन्तरवार्ताका लागि केहीसमय कुर्नुपर्ने हुनसक्छ । अन्तरवार्ता उत्तिर्ण गरेपछि तपाईलाई सपथग्रहण समारोहमा बोलाइन्छ । सपथग्रहण समारोहमा ग्रिनकार्ड बुझाइने भएकाले सपथग्रहणपछि र अमेरिकी पासपोर्ट प्राप्त नगर्दासम्मको अवधिमा अमेरिकाबाहिर यात्रा गर्नमा कठिनायी हुनसक्छ । यो समयमा आपतकालिन यात्रा गर्नुपरेमा आपतकालिन रुपमा अमेरिकी पासपोर्ट प्राप्त गर्न पनि सकिन्छ ।
याद राख्नुहोला, यदि तपाई ५ बर्षको अवधिमा ३० महिना अमेरिकाबाहिर बसिसक्नुभएको छ भने तपाईले नागरिकता आवेदन पेन्डिङ रहेको अवस्थामा यात्रा गर्दा तपाईको आवेदन अस्वीकृत हुनसक्ने खतरा रहन्छ ।
यी सामान्य जानकारीमात्र हुन् । कानुनी सल्लाहका लागि लाइसेन्सप्राप्त कानुन व्यवसायीलाई सम्पर्क गर्नुहोला ।
प्रतिक्रिया