आलेख राउटेलाई अबको जनगणनामा समेटिने
सारांश
- प्रकाश अधिकारी सुर्खेत, १४ पुस (रासस) राउटेको यकिन सङ्ख्या कति छ ?
- जनगणना अद्यावधिक गर्ने केन्द्रीय तथ्याङ्क विभागसँग यसको उत्तर छैन ।
- यही प्रश्न राउटे अगुवालाई सोध्दा पनि सिधा जवाफ आउँदैन ।
प्रकाश अधिकारी
सुर्खेत, १४ पुस (रासस) राउटेको यकिन सङ्ख्या कति छ ? जनगणना अद्यावधिक गर्ने केन्द्रीय तथ्याङ्क विभागसँग यसको उत्तर छैन । यही प्रश्न राउटे अगुवालाई सोध्दा पनि सिधा जवाफ आउँदैन । ‘टाउको गन्न हुन्न’ भन्ने मान्यताका कारण राउटे समुदाय अहिलेसम्म राष्ट्रिय जनगणनामा अटाउन सकेको छैन ।
सरकारले १२ औँ राष्ट्रिय जनगणना–२०७८ को तयारी शुरु गरिसकेको छ । प्रत्येक १०÷१० वर्षमा अद्यावधिक गरिने जनगणनाको यही माघदेखि ‘नमूना गणना’ शुरु हुँदैछ । तर, नेपालको एकमात्र फिरन्ते र लोपोन्मुख जाति राउटेको सङ्ख्या र यसका अन्य विवरणहरु राज्यको आधिकारिक तथ्याङ्कमा समावेश हुन्छ कि हुँदैन भन्ने आम चासोको विषय बनेको छ । यो समुदायको आधिकारिक तथ्याङ्क नहुँदा विभिन्न अनौपचारिक स्रोतलाई आधार मानेर सरकारी तथा गैरसरकारी निकायहरु राउटे समुदायमा परिचालित भएको पाइन्छ ।
कर्णालीको प्रदेश राजधानी सुर्खेतस्थित सरोकारवालाहरुले केन्द्रीय तथ्याङ्क विभागलाई जनगणनामा राउटे समुदायलाई अटाउन सुझाव दिएका छन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आफ्नो सङ्ख्या गन्न नदिने राउटे समुदायको प्रवृत्ति भए पनि जनगणनामा समावेश गर्नुपर्ने बताउनुभयो । “कर्णालीमा मात्रै रहेका राउटेहरुको सङ्ख्या, उनीहरुको पारिवारिक, सामाजिक, आर्थिक, सांस्कृतिक लगायतको अवस्थाबारे स्पष्ट तथ्याङ्क आउनुपर्छ,” उहाँले भन्नुभयो – “राज्यले राउटे समुदायको वास्तविक सूचना सङ्कलन गर्नुपर्दछ । अब पनि यो समुदायलाई छुटाउँदा जनगणना अपुरो हुनेछ ।”
त्यस्तै, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले राउटे समुदाय कर्णालीकै गौरव भएको बताउनुभयो । “अब हुने जनगणनामा राउटेको विवरण समावेश हुनुपर्छ, फिरन्ते भए पनि मानव जाति हुन्,” उहाँले भन्नुभयो – “राउटे समुदायसँग घुलमिल भएका व्यक्तिलाई गणकको जिम्मेवारी दिँदा वास्तविक तथ्याङ्क सङ्कलन हुनसक्छ ।” राउटेहरु हाल दैलेखको गुराँस गाउँपालिकाको दोबाटो जङ्गल क्षेत्रमा बसोबास गर्दछन् । विसं २०७५ वैशाखदेखि यस गाउँपालिकामा प्रवेश गरेका यो समुदायले अहिलेसम्म नौ स्थानमा बसाइँ सरिसकेका छन् । उनीहरु स्थायी बसोबास गर्न चाहँदैनन् । अहिलेसम्म नागरिकताको प्रमाणपत्र पनि लिएका छैनन् ।
गैरसरकारी संस्था राउटे उत्थान प्रतिष्ठान, नेपालका केन्द्रीय अध्यक्ष सत्यदेवी खड्काले जङ्गलमा बसोबास गर्ने, नयाँ मानिससँग बोल्न नचाहने, नाम ठेगाना बताउन नसक्ने, महिलालाई अन्य समुदायसँग बोल्न नदिनेजस्ता प्रवृत्तिका कारण यसअघिका गणनामा राउटेहरु छुटेका हुनसक्ने बताउनुभयो । पहिलेभन्दा राउटेहरु परिवर्तन हुँदै गएकाले अब हुने गणनामा सहज हुने उहाँको विश्वास छ । उहाँका अनुसार यो जातिमा व्याप्त ‘टाउको गने पाप लाग्छ’, ‘महिलाको नाम भन्नुहुँदैन’ भन्ने मान्यतामा विस्तारै परिवर्तन आएको छ ।
विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीद्वारा लिखित ‘दोसा“धका राउटे’ पुस्तकमा विभिन्न अध्येताहरुका बेग्लाबेग्लै तथ्याङ्क पाइन्छ । कार्कीले २०३९ सालमा आफ्नो अध्ययनबाट १९० सङ्ख्या रहेको उल्लेख गर्नुभएको छ । समाजशास्त्री डोरबहादुर विष्टले सन् १९७६ मा २००, डा. नन्दबहादुर सिंहले सन् १९९७ मा १३०, केशरसिंह माझीले ३००, पत्रकार हरिहरसिंह राठौर १६४ र विष्णुऋषि पाण्डेले ३५० सङ्ख्या उल्लेख गर्नुभएको भेटिन्छ । राउटे उत्थान प्रतिष्ठान नेपालका अनुसार हाल ४६ परिवार र १५१ जना सदस्य छन् । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानमा सूचीकृत ५८ जनजाति मध्येमा राउटे पनि पर्दछ ।
केन्दीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले यसपटकको जनगणनामा सबै जाति, वर्ग, समुदायको स्पष्ट तथ्याङ्क सङ्कलन गरिने बताउनुभयो । राउटे लगायतका अति लोपोन्मुख जातिको तथ्याङ्क सङ्कलन गर्दा थप सर्तकता अपनाइने उहाँको भनाइ छ । “‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारासहित जनताको घरदैलोमा पुग्ने राष्ट्रिय कार्यक्रममा राउटे समुदाय अटाउने प्रतिवद्धता व्यक्त गर्दछु,” निर्देशक लामिछानेले भन्नुभयो ।
को हुन् राउटे ?
करीब ७०० वर्ष अघि कालीकोटको फुकोटबाट राउटेको उत्पत्ति भएको बताइन्छ । सम्भवतः दक्षिण एसियाकै फिरन्ते जातिमा पर्दछ, राउटे । फिरन्ते वन्य जीवनमा बा“चिरहेका राउटे आधुनिक जीवनशैलीबाट धेरै टाढा छन् । स्थायी बसोबास, पशुपालन र खेतीबाली गर्न मान्दैनन् । यद्यपि, उनीहरुले आजसम्म पनि आफ्नो भाषा, कला, संस्कृति, रहनसहन, वेशभूषा र परम्परा जोगाइरहेका छन् । आफ्नै परम्परा, जीवनशैलीप्रति गर्व गर्छन् । चिटिक्क परेका घरभन्दा स्याउला र कपडाले छाएका छाप्रा उनीहरुका लागि स्वर्गझैं लाग्छन् । लेखपढ, जागीर, सुख–सुविधाप्रति कुनै आर्कषण छैन ।
गुना, बा“दर शिकार गर्छन् । जङ्गलको खानामा कन्दमूल खान्छन् । काठका भा“डाकुँडा बनाई साटफेर, बिक्री गर्नु मुख्य पेशा हो । अन्य समुदायझैं धर्मकर्म, संस्कृति र चाडबाड मान्छन् । विशेषगरी सुदूरपश्चिम प्रदेशको अछाम तथा कर्णालीका दैलेख, सुर्खेत, दाङ, सल्यान, रुकुम पश्चिम, जाजरकोट जिल्लाका जङ्गल क्षेत्रमा बसोबास गर्छन् । माओवादी द्वन्द्वका बेला बर्दिया र कैलालीसम्म पुगेका थिए । समुदायमा कुनै सदस्यको मृत्यु भएमा र बस्तीमा अन्य कुनै समस्या आइपरेमा बसाइ“ सर्ने प्रचलन छ ।
राउटेहरु आफूलाई ‘जङ्गलका राजा’ ठान्छन् । ठकुरी वंशका रास्कोटी, कल्याल र सोवंशी थर छन् । नामका पछाडि सबैले ‘शाही’ भन्ने गर्दछन् । बोल्ने बेग्लै भाषा छ, जसलाई ‘खाम्सी’ भनिन्छ । यसको लिपि भेटिँदैन । धर्म–संस्कृति हिन्दु सम्प्रदायसँग मेल खान्छ । देवीदेवताका रुपमा दारेमष्टोको पूजा गर्छन् । अरु चाडवाडभन्दा साउने सङ्क्रान्ति, बडादशैं र माघे सङ्क्रान्ति धुमधामका साथ मनाउ“छन् । महिलाहरुले घलेक, चोलो, फरिया लगाउ“छन् भने पुरुषहरुले गादो (सेतो बाक्लो कपडा), कम्मरमा पटुका बाँध्छन् । नगद रुपैयाँ, पैसा राख्ने थैली घाँटीबाट कम्मरसम्म छड्के पारेर भिरेका हुन्छन् । टाउकामा बाक्लो फेटा बा“धेका हुन्छन् ।
मुखिया नै समुदायको नेता हुन् । हितविपरीत काम गर्ने, आफ्ना जनताको जीविकाप्रति चासो नदिनेलाई पदबाट हटाउँछन् । पहिले मुखिया एकजना मात्र हुन्थे । पछिल्ला वर्ष तीन वटै जातिका बेग्लाबेग्लै मुखिया राखिएका छन् । सरकारले आर्थिक वर्ष २०६५÷६६ देखि लोपोन्मुख मासिक भत्ता दिन थालेको छ । प्रतिव्यक्ति ५०० रुपैयाँबाट शुरु भएको भत्ता रकम अहिले ३ हजार पु¥याइएको छ ।
प्रतिक्रिया