ओली सरकार २२ सदस्यीय, तीन बाँकी, एमालेबाट ३ दोहोरिए-६ मन्त्री नयाँ
सारांश
- प्रधानमन्त्री केपी ओलीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
- मौजुदा मन्त्रिपरिषद्मा एमालेबाट ९ र माओवादी केन्द्रबाट ६ सहित १५ जना सहभागी गराउँदै प्रधानमन्त्री ओलीले शुक्रबार तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
- एमालेबाट ६ मन्त्री र ३ राज्यमन्त्री तथा माओवादीबाट ५ मन्त्री र १ राज्यमन्त्री बनेका छन् ।
प्रधानमन्त्री केपी ओलीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मौजुदा मन्त्रिपरिषद्मा एमालेबाट ९ र माओवादी केन्द्रबाट ६ सहित १५ जना सहभागी गराउँदै प्रधानमन्त्री ओलीले शुक्रबार तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
एमालेबाट ६ मन्त्री र ३ राज्यमन्त्री तथा माओवादीबाट ५ मन्त्री र १ राज्यमन्त्री बनेका छन् । तेस्रो विस्तारसँगै मन्त्रिपरिषद् २२ सदस्यीय पुगेको छ । नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग परामर्श गरेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा पार्टीभित्रको आन्तरिक समीकरणलाई पनि सम्बोधन गर्ने प्रयास गरेका छन् ।
एमालेबाट ३ दोहोरिए, ६ मन्त्री नयाँ अनुहार
एमालेबाट सचिवद्वय प्रदीप ज्ञवाली परराष्ट्र, गोकर्ण विष्ट श्रम तथा रोजगार, केन्द्रीय सदस्य रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् । तीनै नेता दोस्रोपटक मन्त्री बनेका हुन् । गुल्मीबाट निर्वाचित ज्ञवाली यसअघि पर्यटन र विष्ट ऊर्जा तथा धनुषाबाट निर्वाचित महासेठ सिँचाइमन्त्री बनेका थिए । ओली नेतृत्वको मन्त्रिपरिषद्मा एमालेबाट ३ मन्त्रीले पहिलोपटक अवसर पाएका छन् ।
पोलिटब्युरो सदस्य जगत विश्वकर्मा युवा तथा खेलकुद, केन्द्रीय सदस्य शेरबहादुर तामाङ कानुन तथा न्याय र अर्का केन्द्रीय सदस्य रवीन्द्र अधिकारी पर्यटनमन्त्री बनेका हुन् । तामाङ सिन्धुपाल्चोक, अधिकारी र विश्वकर्मा कास्कीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
त्यस्तै, राज्यमन्त्रीहरूमा काभ्रेबाट निर्वाचित गोकुल बाँस्कोटाले सञ्चार, स्याङ्जाबाट निर्वाचित पद्मा अर्यालले स्वास्थ्य र डोल्पाबाट निर्वाचित धनबहादुर बुढाले पर्यटन मन्त्रालयको जिम्मा पाएका हुन् । सञ्चारमन्त्री नियुक्त नभएकाले बाँस्कोटाले नै मन्त्रालयको कार्यभार सम्हाल्दै क्याबिनेट सदस्यकै हैसियतमा प्रतिनिधित्व गर्नेछन् ।
आजको नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया