कम्प्युटर शिक्षा लिन पाउने भएपछि विद्यार्थीहरुमा खुसीयाली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २६, २०७४
|
|
१८ पटक हेरिएको
Shares
कम्प्युटर शिक्षा लिन पाउने भएपछि विद्यार्थीहरुमा खुसीयाली

सारांश

  • अम्बिका श्रेष्ठ अर्घाखाँची, २६ असोज ।
  • सितगंगा सेवा समाजले सितगंगा नगरपालिकाका दुई ओटा विद्यालयमा कम्प्युटर हस्तान्तण गरेको छ ।
  • ‘सुशासन समृद्धि र ऐकवद्धता समाज सुधार हाम्रो प्रतिवद्धता’ भन्ने नारा तय गरेर समाज सामाजिक कार्यमा संलग्न बन्दै आएको छ ।

अम्बिका श्रेष्ठ अर्घाखाँची, २६ असोज । सितगंगा सेवा समाजले सितगंगा नगरपालिकाका दुई ओटा विद्यालयमा कम्प्युटर हस्तान्तण गरेको छ । ‘सुशासन समृद्धि र ऐकवद्धता समाज सुधार हाम्रो प्रतिवद्धता’ भन्ने नारा तय गरेर समाज सामाजिक कार्यमा संलग्न बन्दै आएको छ । सितगंगा नगरपालिकाको सिद्धारामा रहेको जनजागृति माविलाई ८ थान कम्प्युटर, एक थान प्रिन्टर र सुवोधनी मावि वर्रेलाई पाँच थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरिएको हो । निशुल्क कम्प्युटर शिक्षा लिन पाउँने भएपनी दुई विद्यालयका विद्यार्थी हषित भएका छन ।

दुइ विद्यालयमा सात लाखको लागतमा कम्प्युटर र प्रिन्टर वितरण गरिएको समाजले जनाएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका उपसचिव भिष्मकुमार भुसालले कार्यक्रममा बोल्दै विदेशमा कमाएको रकम आफ्नो गाउँ ठाउँमा समाजिक कार्यमा खर्च गरेकोमा युवाहरुलाई धन्यवाद दिए । उनले समाज परिवर्तनमा युवाहरुको ठूलो हात रहने भन्दै आगामी दिनमा पनि यसरी नै समाजिक कार्यमा लाग्न उनीहरुलाई आग्रह गरे । ‘युवाहरुको यो कार्य निकै प्रशंसनिय छ’ उनले भने, ‘अब स्वदेशमा रोजगारी गर्नेहरुले युवाहरुबाट सिको गर्नु जरुरी छ ।’ उनले सामाजिक कार्य सबै क्षेत्रको तत्परता रहे समाज परिवर्तन हुन धेरै समय नलाग्ने बताए ।

जनजागृति माविका प्रधानध्यापक रोमाखर वञ्जाडेले कम्प्युटरको प्रयोगले विद्यार्थीहरुमा प्राविधिक ज्ञानको वृद्धि हुने विश्वास लिए । ‘कम्प्युटर पाएपछि शिक्षक र विद्यार्थीमा खुसीयाली छाएको छ’ उनले भने, ‘अब छिट्टै कम्प्युटर सिकाइका कक्षाहरु सञ्चालन गर्छौं ।’ उनले कम्प्युटरहरुको संरक्षणमा विशेष ध्यान दिने बताए । सो क्षेत्रमा विद्युत छैन । सोलारबाट कम्प्युर प्रयोगमा ल्याइदै छ । संस्थाका संयोजक विष्णु पौडेलले अहिलेको परिस्थितिमा कम्प्युटर ज्ञान अनिवार्य नै भइसकेकाले विद्यालयको आवश्यकतालाई ध्यानमा राखेर कम्प्युटर वितरण गरिएको बताए ।

‘कम्प्युटरको ज्ञान विना जुन सुकै क्षेत्रमा पनि सफलता हासिल गर्न नसक्ने अवस्था बनेको छ’ उनले भने, ‘विद्यार्थीहरुले विद्यालय तहबाटै कम्प्युटरमा दक्षता हासिल गरुन भन्ने उद्देश्यले अभियान सञ्चालन गरेका हौं ।’ संस्थाका वरिष्ठ उपाध्यक्ष महेन्द्र क्षेत्रीले विस्तारै अन्य विद्यालयमा पनि कम्प्युटर हस्तान्तरण गर्दै लैजाने योजना रहेको जानकारी दिए । कार्यक्रममा सहयोग दाताहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक तथा सितगंगा नगरपालिकाका नगर शिक्षा अधिकारी माधव वञ्जाडे, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका जिल्ला संयोजक कुशल भुसाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव पौडेल, संस्थाका मिडिया संयोजक अम्बिका श्रेष्ठ, सहयोग दाता पदम थामी, विद्यार्थी सावित्रा भुसालले मन्तव्य राख्दै कम्प्युटरको प्रयोग र संरक्षणमा जोड दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?