“कांग्रेसको नेतृत्वमा ५० प्रतिशत युवाको ग्यारेण्टी गर”
सारांश
- काठमाडौ, १ माघ ।
- नेपाली कांग्रेसका महासमिति सदस्य, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र विभिन्न तहमा रहेका पदाधिकारीहरुले नेपाली कांग्रेसको नेतृत्वमा ५० प्रतिशत युवाहरुको ग्यारेण्टी हुनुपर्ने माग गरेका छन् ।
- उनीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी अग्रज नेताहरुको योगदानको उच्च मूल्यांकन र सम्मान गरिने तर पार्टीलाई थप अगाडि बढाउन युवाहरुको नयाँ चेतना, उर्जा र क्षमतालाई थप अगाडि बढाउन त्यस्तो माग गरेका हुन् ।
काठमाडौ, १ माघ । नेपाली कांग्रेसका महासमिति सदस्य, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र विभिन्न तहमा रहेका पदाधिकारीहरुले नेपाली कांग्रेसको नेतृत्वमा ५० प्रतिशत युवाहरुको ग्यारेण्टी हुनुपर्ने माग गरेका छन् । उनीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी अग्रज नेताहरुको योगदानको उच्च मूल्यांकन र सम्मान गरिने तर पार्टीलाई थप अगाडि बढाउन युवाहरुको नयाँ चेतना, उर्जा र क्षमतालाई थप अगाडि बढाउन त्यस्तो माग गरेका हुन् ।
उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसले भोगेको पराजयको जिम्मा सभापति, महामन्त्रीलाई मात्र नदिई सिंगो केन्द्रीय समितिले दोषको भागिदार हुनुपर्ने दावी पनि गरेका छन् ।
हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ :
नेपाली काँग्रेसको नेतृत्वमा नयाँ संविधान जारी गरी स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनपछि मुलुकले संक्रमणकाल पार गरेको छ । कांग्रेसको नेतृत्वमा निर्वाचन त भयो तर कांग्रेसको पक्षमा परिणाम नआएपछि पार्टीभित्र यसका बारेमा ब्यापक वहस हुन थालेको छ । यो निर्वाचनमा कांग्रेसले किन हार व्यहोर्नु पर्यो ? यसको समिक्षा र कांग्रेसलाई शुद्धिकरण र सुदृढिकरण गरी भविष्यमा कांग्रेसलाई बलियो र शसक्त पार्टी बनाउन बैचारिक जागरण अभियान प्रारम्भ गर्न नेतृत्व समक्ष जोडदार माग गर्दछौँ । साथै पार्टीमा आमूल रुपान्तरणको लागि केही बिचारहरु अघि सारेका छौँ । यो बैचारिक जागरण अभियानमा कांग्रेसका नेता कार्यकर्ता, शुभचिन्तक, समर्थक र बुद्धिजीवीहरुको सुझाव, सल्लाह र सहभागिताको लागि विनम्रतापूर्वक हार्दिक अपिल गर्दछौँ ।
१. नेपाली कांग्रेसभित्र आपसी भातृत्वको विकास गरी गुटबन्दीको समूल अन्त्य गर्दैै पार्टीलाई एक ढिक्का बनाउन अति आवश्यक भएको छ ।
२. पार्टीलाई शुद्धिकरण र सुदृढीकरण गर्न केन्द्र, जिल्ला, र गाउँतहसम्म विचार सिद्धान्त र एजेन्डामा आधारित वैचारिक जागरण अभियान शुरु गर्न जरुरी छ ।
३. निर्वाचन समिक्षाको लागि टालटुले पारामा होइन, गहिराईमा गएर छलफल गर्न विशेष छानविन समिति ठगन गरेर सबै निर्वाचन क्षेत्रमा पुगेर, सबै पक्षसँग छलफल गरेर के कति कमजोरीका कारणले यस्तो परिणाम आयो त्यसको बारेमा सत्य तथ्य पत्ता लगाउनु पर्छ ।
४. नेपाली कांग्रेसमा महासमिति वैठक बस्नु कुनै नौलो विषय होईन यो विधानमै उल्लेख भएको कुरा भएकाले यो पटक मात्रै होईन हरेक वर्ष नियमित महासमिति वैठक हुने सुनिश्चित गरिनु पर्छ ।
५. निर्वाचनमा आएको परिणामको जिम्मेवारी स्वभाविक रुपमा नेतृत्वको हुने भएपनि सम्पूर्ण दोषको जिम्मेवारी पार्टी सभापति, वरिष्ठ नेता र महामन्त्रीलाई मात्रै नदिएर सिंगो केन्द्रीय समितिका सदस्यहरुले समेत लिनुपर्छ ।
६. समानुपातिकबाट एकपटक सांसद बनेको व्यक्तिलाई कुनैपनि हालतमा दोहोर्याउनु हुँदैन । दोहोर्याउनु समानुपातिक समावेसी सिद्धान्तको विपरीत कार्य हुने भएकाले पार्टीको आन्तरिक निर्वाचनमा पनि समावेसीबाट प्रतिनिधित्व गर्ने पदमा एकपटक भन्दा बढी अवसर नपाउने व्यवस्था कडाईको रुपमा लागू गर्नुपर्छ ।
७. पार्टीलाई व्यवस्थित, प्रशिक्षित र संगठित गरेर हरेक गाउँतहसम्म प्रशिक्षण अभियान ार्फत नेपाली कांग्रेसलाई सबल, सक्षम र सशक्त पार्टी बनाउन आवश्यक छ ।
८. पार्टीलाई आजका दिनसम्म ल्याइपुर्याउने अग्रज नेताहरुको योगदानको मूल्याङकन गर्दै उच्च सम्मान गरी पार्टीलाई थप अगाडि बढाउन युवाहरुको उर्जा, चेतना र क्षमतालाई सदुपयोग गर्न पार्टीका हरेक तहमा कम्तिमा ५० प्रतिशत युवा प्रतिनिधित्वको ग्यारेण्टी गरिनुपर्छ ।
९. पार्टीका संस्थापक नेता विपी कोइरालाले देखाउनु भएको बाटो र विचार प्रजातान्त्रिक समाजवादबाट पन्छिएर कांग्रेस राष्ट्रिय मुद्दामा अलमल र अनिर्णयको बन्दी हुन मिल्दैन । हरेक राष्ट्रिय मुद्दामा कांग्रेस प्रष्ट अडानका साथ अगाडि आउनु पर्छ ।
१०. नेता र कार्यकर्ताबीच देखिएको अन्तर र बढेको दुरी घटाएर पार्टीभित्र कोही सानो र ठूलो भन्ने मान्यता हटाएर हामी एउटै परिवार हौ भन्ने आपसी भातृत्वको भावनाको विकास गरी तल जनतासम्म सुमधुर सम्बन्ध कायम गर्न सबै नेता कार्यकतामा नैतिकता, समानता र सरलतापूर्ण बोली व्यबहार हुन जरुरी छ । व्यक्तिवादी चरित्र र अनुसासनहिनताको अन्त्य हुन जरुरी छ ।
११. देश विकासको बाधकको रुपमा रहेको भष्ट्रचारलाई निर्मूल पार्न ‘भष्ट्राचार मुक्त नेपाल, सुशासनयुक्त नेपाल’ अभियान देशभर सञ्चालन गर्नुपर्छ ।
१२. तत्काल पार्टी पदाधिकारी, विभाग, प्रदेश समिति र भातृसंस्थाहरुलाई पूर्णता दिएर पार्टीलाई चुस्तदुरुस्त बनाउन संगठन निर्माणमा सबैलाई परिचालन गर्नुपर्छ ।
१३. महाधिवेशनको मुखमा आएर मात्रै क्रियाशील सदस्यता वितरण गर्ने परम्परालाई अन्त्य गरेर हरेक वर्ष पारदर्शीरुपमा क्रियाशील सदस्यता वितरण गर्नुपर्छ ।
१४. बढ्दो जनसंख्या र वृद्धि भएको पार्टीको सदस्य संख्याको आधारमा पार्टीको जिल्ला कार्यसमिति र केन्द्रिय कार्य समितिको आकार बढाउन जरुरी छ । जिल्लामा २० देखि ३० जना सदस्य थप गर्ने र पार्टीमा सामुहिक नेतृत्व प्रणाली स्थापित गर्न पदाधिकारीको संख्या थप गर्नुका साथै केन्द्रिय समितिमा खुल्लातर्फको केन्द्रीय सदस्य २५ बाट बढाएर ४५ र समावेसी तथा प्रदेशमा अहिलेको भन्दा दोब्बर केन्द्रीय सदस्यहरु निर्वाचित हुने व्यबस्था गर्नुपर्छ ।
१५. नेपाली कांग्रेसले हरेक राजनीतिक परिर्वतनको नेतृत्व गर्दै आएको छ । अब कांग्रेसको अग्रसरतामा मुलुकको समुन्नति र समृद्धिको लागि आर्थिक क्रान्तिको थालनी गर्नुपर्छ । यसको लागि आर्थिक विकासको सम्भाव्यता भएको क्षेत्र, पर्यटन, कृषि जडिबुटी र जलस्रोतमा व्यापक लगानीको वातावरण सिर्जना गरी गाउँगाउँमा विकास र युवाहरुलाई स्वदेशमै रोजगारी अवसर प्रदान गर्न कांग्रेसको नेतृत्वमा ‘सुन्दर नेपाल–समृद्ध नेपाल’ अभियान शुरु गर्नुपर्छ ।
जय नेपाल ।
भूपेन्द्रजंग शाही, नेपाली कांग्रेस महासमिति सदस्य, कालिकोट प्रदेश नं. ६
धमेन्द्र नेम्वाङ, नेपाली कांग्रेस महासमिति सदस्य, पाँचथर प्रदेश नं. १
विनिता अधिकारी, नेपाली कांग्रेस महासमिति सदस्य, दोलखा प्रदेश नं. ३
खड्क डाँगी नेपाली कांग्रेस महासमिति सदस्य, रुकुम प्रदेश नम्बर नं. ६
सेख वकिल, परोहा नगरपालिका मेयर, रौतहट प्रदेश नं. २
सुनिता अधिकारी, नेपाली कांग्रेस महासमिति सदस्य, पाल्पा प्रदेश नं. ५
चिरञ्जीवी गौतम नेपाली कांग्रेस क्षेत्रिय सभापति बाग्लुङ, प्रदेश नं. ४
वृषराज गुरुङ, नेपाली कांग्रेस क्षेत्रिय सभापति, लम्जुङ, प्रदेश नं. ४
मञ्जीत ताम्राकार, पूर्व महाधिवेशन प्रतिनिधि, बझाङ, प्रदेश नं. ७
खेमराज वली, नेपाली काँग्रेस, गुराँस गाउँपालिका अध्यक्ष, प्रदेश नं. ६
Nand Gurung
cong ma balla palo paye yuba neta le aba kehi garxan ki jasto xa.
Manoj Lamichhane
ग्यारेन्टि त रोजगार ,स्वास्थ्य , शिक्षा मा बेश होला कि ? त्यस पछि तपसिल मा जॉदा …?
Gobinda Pokhrel
Good