कागेश्वरीमा बिहानैदेखि लाखौँ भक्तजनको भीड

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
२३ पटक हेरिएको
Shares
कागेश्वरीमा बिहानैदेखि लाखौँ भक्तजनको भीड

सारांश

  • काठमाडौँ, १ असोज ।
  • प्रत्येक वर्ष भाद्रशुक्ल अष्टमीका दिन मेला लाग्ने राजधानीको उत्तर पूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा बिहानैदेखि लाखौँ भक्तजनको भीड लागेको छ ।
  • कागे अष्टमीसमेत भनिने आजका दिन यहाँ आई कागरुपी महादेवको पूजा तथा आराधना गरेमा काग स्पर्शबाट हुने अनिष्टबाट बचिने धार्मिक विश्वास छ ।

काठमाडौँ, १ असोज । प्रत्येक वर्ष भाद्रशुक्ल अष्टमीका दिन मेला लाग्ने राजधानीको उत्तर पूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा बिहानैदेखि लाखौँ भक्तजनको भीड लागेको छ ।कागे अष्टमीसमेत भनिने आजका दिन यहाँ आई कागरुपी महादेवको पूजा तथा आराधना गरेमा काग स्पर्शबाट हुने अनिष्टबाट बचिने धार्मिक विश्वास छ । आज यहाँ लाग्ने मेलाको विशेष धार्मिक एवं सांस्कृतिक महत्व रहेको बताइन्छ । किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेकाले त्यसैबेलादेखि वर्षेनी यहाँ मेला लाग्दै आएको हो ।

कागेअष्टमीमा धाममा गई हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने र खेतबारीमा रोपिएका मकै पनि कागले नखाने धार्मिक मान्यता छ । उक्त मेलामा हिन्दू र बौद्ध धर्मावलम्बीसमेत लाखौँको सङ्ख्यामा भीड लाग्ने गर्छ ।सत्ययुगमा सतीदेवीको अङ्ग पतन भएर यहाँ एक शिवलिङ्ग उत्पन्न भएको भनाइ स्वस्थानी व्रत कथामा उल्लेख छ । कागेश्वरी महादेवको मन्दिरमुनि र माथि रहेको छहरा एवं झरनाले यहाँ आउने जोसुकैको मन लोभ्याउँछ ।यस क्षेत्रबाट उपत्यकाको दृश्यावलोकनसमेत गर्न सकिन्छ । यस अवसरमा वसन्तपुरस्थित कागेश्वरी मन्दिरमा पनि बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेका छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको यो स्थान प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण छ । प्राकृतिक सौन्दर्यको रसास्वादन गर्न आजका दिन यहाँ धेरै धार्मिक पर्यटक आउने गरेको मेला व्यवस्थापन समिति संयोजक श्याम लामाले बताउनुभयो ।

धामलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले २०० किलो अष्टधातुको कागको मूर्ति स्थापना गरिएको छ । यो मूर्ति संविधानसभा सदस्य रामेश्वर फुयाँलको पहलमा निर्माण भएको हो । कागको यो मूर्ति नेपालकै ठूलो मूर्ति हो ।अष्ट धातुका कवाड सङ्कलन गरी विश्वकै ठूलो कागको मूर्ति बनाउने अभियानसमेत शुरु भइसकेको उहाँले सुनाउनुभयो । यो मूर्ति एक हजार किलोको बन्नेछ । कागेश्वरी–सुन्दरीमाई–शिवपुरी–गोकर्णेश्वर–नवतनधाम र पशुपतिनाथलाई जोडेर अन्तर्राष्ट्रिय पशुपति परिपथ निर्माण गरिनुपर्ने प्रदेशसभा सदस्य फुयाँलले बताउनुभयोे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?