कानुनको पढाइ, एनजीओको जागिर, सफलता तरकारीमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
कानुनको पढाइ, एनजीओको जागिर, सफलता तरकारीमा

सारांश

  • २६ कात्तिक, पोखरा ।
  • कानुनका विद्यार्थी रामकृष्ण दवाडीले पोखराको चिप्लेढुंगामा तरकारी बेच्न सुरु गर्दा मान्छेले जिस्क्याउँथे, कानुन पढ्न गएको, गोलभेंडा बेच्न जान्ने भएर आएछ ।
  • कसैले त उनलाई पागल भएछ पनि भने ।

२६ कात्तिक, पोखरा । कानुनका विद्यार्थी रामकृष्ण दवाडीले पोखराको चिप्लेढुंगामा तरकारी बेच्न सुरु गर्दा मान्छेले जिस्क्याउँथे, कानुन पढ्न गएको, गोलभेंडा बेच्न जान्ने भएर आएछ । कसैले त उनलाई पागल भएछ पनि भने ।

आफूले थालेको व्यवसायप्रति उनको सम्मान मात्रै थिएन, धेरै आशावादी पनि थिए । त्यही आशाले अहिले उनलाई करोडपति बनाएको छ । उनी अहिले सफल व्यापारीका रुपमा चिनिन्छन् ।

०५२ सालमा सटर भाडामा लिएर तरकारी बिक्री थाल्दा उनीसँग आत्मविश्वास मात्र थियो । तर, त्यही आत्मविश्वासले आज सफल बनाएको छ, दवाडीलाई ।

शान्ति वन वाटिकास्थित कृषि उपज बजारमा ‘ताजा तरकारी’ नामक थोक तथा खुद्रा पसल छ, अहिले उनको । र, दैनिक लाखौंको कारोबार हुन्छ ।

धादिङमा जन्मेका दवाडीले काठमाडौंको ल क्याम्पसबाट आईएल उत्तीर्ण गरेका छन् । बीएल पढ्दापढ्दै उनले सात वर्ष एनजीओको जागिर खाए । सोही क्रममा ५२ वटा जिल्ला घुमे ।

त्यही घुमघामले हो, उनमा तरकारी व्यवसायमा भविष्य देखाएको पनि । तर, हुँदाखाँदाको जागिर छाडेर उनले व्यवसाय शुरु गरे । जागिर छोड्दा उनलाई सञ्चयकोष, तलबभत्ता गरी एक लाख रुपैयाँ आयो । त्यही पैसाले तरकारी पसल खोले ।

‘छँदाछँदाको जागिर छोड्नु ठीक होइन तर आफ्नो इच्छाशक्तिलाई मार्नु हुँदैन,’ उनी भन्छन् । उनले ठेलामा तरकारी बेच्नेदेखि बोक्नेसम्मको काम गरे ।

त्यतिबेला व्यवसायमा चुनौती थियो । ‘तरकारी बेच्ने काम मधेशी मूलका मानिसले गर्ने हो भन्थे । पहाडी मूलका तरकारी व्यवसायी थिएनन्,’ उनी भन्छन्, ‘पहिले मलाई कानुन पढेको गोलभेंडा व्यापारी भनेर जिस्क्याउँथे । अहिले मसँगै सल्लाह र सहयोग माग्न आउँछन् ।’

पोखरा १० मा घर बनाएका छन् उनले । परिवार खुशी छ । छोराछोरीलाई राम्रो कलेज र बिद्यालयमा पढाएका छन् । सकारात्मक सोचले नै हो, उनलाई पछाडि फर्केर हेर्नुनपरेको पनि ।

सामाजिक काममा पनि क्रियाशील छन्, उनी । पोखरा थोक व्यवसायी संघ, कृषि उपज बजार सञ्चालक समितिको अध्यक्ष भएर काम गरिसकेका छन् । व्यावसायिक कृषिमा प्रोत्साहन गर्न बागलुङ र पर्वतका केही युवालाई दवाडीले सहयोग पनि गरेका छन् ।

ती युवाले अहिले करिब ७० रोपनीमा व्यावसायिक तरकारी लगाएका छन् । त्यसका लागि मल, बीऊ र बजारीकरणको व्यवस्था पनि दवाडीले नै मिलाइदिन्छन् । उनले लाहाचोकमा तरकारी संकलन केन्द्र निर्माणका लागि पनि सहयोग गरेका छन् ।

तरकारी फलाउने र बिक्री गर्नेबीच समन्वय हुनुपर्ने उनलाई लाग्छ । विभिन्न समितिमा रहेर काम गर्दा त्यही मुद्दा उठाएका थिए । किसान, व्यवसायी र उपभोक्ताबीचको दूरी घटाउनुपर्ने उनी बताउँछन् ।

किसानको मेहनत खेर जान नदिने र मौका पाउँदा व्यापारीले पनि ढाड सेक्ने काम गर्न नहुने उनको भनाइ छ । सानो लगानीबाट पनि काम थालेर ठूलो र प्रतिष्ठित बनाउन सकिन्छ भन्ने आत्मविश्वास राख्न उनी युवालाई आग्रह गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?