कोरोना भाइरस संक्रमणले विश्वभर चार हजारभन्दा बढीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २८, २०७६
|
|
३० पटक हेरिएको
Shares
कोरोना भाइरस संक्रमणले विश्वभर चार हजारभन्दा बढीको मृत्यु

सारांश

  • बेइजिङ,  कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण चार हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको फ्रान्सेली समाचार संस्था एएफपीले मंगलबार जनाएको छ ।
  • यस भाइरसबाट एक लाख १४ हजार ४५८ जनामा संक्रमण पुष्टि भएको छ ।
  • यसमध्ये ६४ हजार १२० जना निको भएर घर फर्किएका छन् ।

बेइजिङ,  कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण चार हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको फ्रान्सेली समाचार संस्था एएफपीले मंगलबार जनाएको छ । यस भाइरसबाट एक लाख १४ हजार ४५८ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ६४ हजार १२० जना निको भएर घर फर्किएका छन् । यस भाइरस संक्रमणका कारण विश्वभर चार हजार २७ व्यक्तिको मृत्यु भएको मंगलबार प्राप्त समाचारमा जनाइएको छ ।

बंगलादेश, अल्बानिया र पाराग्वेमा तीनवटा नयाँ देशमा कोभिड–१९ का संक्रमण देखिएपछि विश्वव्यापी स्वास्थ्य चुनौतीको चिन्ता बनेको कोरोना भाइरस संसार ११० देशमा फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । गत वर्षको अन्त्यबाट यस भाइरसको संक्रमण सुरु भएको चीनको हुबेई प्रान्त वुहानमा एकै दिनमा १७ व्यक्तिको मृत्यु भएपछि चीनभरी यस रोगबाट मृत्यु भएपछि तीन हजार १३६ पुगेको जनाइएको छ । एक दिनमा मारिएका १७ मध्ये १६ जना हुवेइको प्रान्तीय राजधानी वुहानका रहेका जनाइएको छ ।

चीनमा कोरोना भाइरस संक्रमणको कारण जनवरीको अन्त्यदेखि हालसम्म एकैदिनमा मृत्यु भएको यो सबैभन्दा कम संख्या भएको पनि समाचारमा जनाइएको छ । पछिल्ला २४ घण्टा यी तीन देशमा कोरोना भाइरस संक्रमण फैलिएको डब्लुएचओले सोमबार प्रकाशित एक विज्ञप्तिमा जनाएको छ । गत २४ घण्टामा विश्वभर तीन हजार ९९३ मा यस भाइरसको थप संक्रमण देखिएको डब्लुएचओले जानकारी दिएको हो ।

इटालीमा यस भाइरसको संक्रमणपछि मृत्यु हुने व्यक्तिको संख्या ४६३ पुगेको जनाइएको छ । त्यसैगरी दक्षिण कोरियामा सात हजार ५१३ जना संक्रमित रहेका र ५४ जनाको मृत्यु भएको जनाइएको छ । यसैबीच प्राप्त समाचारअनुसार इरानमा सात हजार १६१ जना संक्रमित रहेका र २३७ व्यक्तिको मृत्यु भएको मंगलबार प्राप्त समाचारमा जनाइएको छ । विश्वका विभिन्न तथ्यांकबारे जानकारी राख्ने वेबसाइट वल्डोमिटरका अनुसार कोरोना भाइरसको संक्रमणपछि उपचार गराएर घर फर्किनेको संख्या ९४ प्रतिशत छ । घातक कोरोना भाइरसबाट संक्रमितको संख्या भारतमा ४७ पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

मंगलबारसम्म ४७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको एएनआइले जनाएको छ । उनीहरूमध्ये केरलाका तीनजनालाई पूर्णउपचारपछि अस्पतालबाट फिर्ता गरिएको पनि सरकारी अधिकारीले बताएका छन् ।

उता जर्मनीमा भने संक्रमितको संख्या एक हजार नाघेको छ । रोबर्ट कोच इन्स्टिच्युटले सोमबारसम्ममा एक हजार ११२ जना संक्रमित भएको जनाएको छ । यसैबीच माल्दिभ्समा कोरोनाका कारण चुनावी कार्यक्रम स्थगित गरिएका छन् । बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ३१९ पुगेको बेलायतका स्वास्थ्य अधिकारीले बताएका छन् । आसन्न स्थानीय निकाय र महिला विकास समितिको निर्वाचनका लागि भइरहेको कार्यक्रम स्थगित गरिएको अधिकारीले बताएका छन् । उनीहरूका अनुसार माल्दिभ्समा अहिलेसम्म दुईजनामा संक्रमण भएको पुष्टि भएको छ ।

जापानमा भने मृत्यु हुनेको संख्या सोमबारसम्म १६ पुगेको छ । संक्रमितको संख्या ५०५ पुगेको छ । स्थानीय समयानुसार सोमबार बेलुका ८ः३० बजेसम्ममा थप १० जना बिरामी भेटिएका छन् । जापानको स्वास्थ्य मन्त्रालय, स्थानीय सरकारले टोकियोमा ७६ र ओशाकामा ५५ जना बिरामी रहेको जनाएका छन् । त्यसैगरी बेल्जियममा संक्रमितको संख्या २३९ पुगेको छ भने हङ्कङमा ११५, प्यालेस्टाइनमा २५, मलेसियामा ११७, कुवेतमा ६५ र इन्डोननेसियामा १९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । कोरियामा रहेका आठजना अमेरिकी सैनिकलाई पनि कोरोनाको संक्रमण भएको छ ।

राष्ट्रपति सी वुहान भ्रमणमा

वुहान । चीनका राष्ट्रपति सी चिनफिङले मंगलबार चीनमा कोरोना भाइरसको संक्रमणको माहामारी फैलिएको सहर वुहानका बासिन्दा र संक्रमण नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गर्ने अधिकारीलाई भेट गरेका छन् ।

विश्व स्वास्थ्य संगठनद्वारा कोभिड–१९ नाम दिइएको उक्त भाइरसको संक्रमणका कारण चीनमा मंगलबारसम्ममा तीन हजार १३६ जनाको मृत्यु भएको छ ।

राष्ट्रपति सीले भ्रमण गरेको हुबेई प्रान्तको राजधानी वुहान कोभिड–१९ को संक्रमणका कारण सबैभन्दा बढी प्रभावित स्थान हो । राष्ट्रपति सीले प्रकोप रोकथाम तथा नियन्त्रण परीक्षण केन्द्र, हृवो शन शान अस्पतालको निरीक्षण भ्रमणपछि प्रकोप नियन्त्रणका शिलशिलामा क्वारेन्टिनमा बसेका स्थानीयसँग पनि भेटगरी जानकारी लिएका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय महासचिवसमेत रहेका राष्ट्रपति सीले वुहान स्थानीय समुदायले भाइरस संक्रमण नियन्त्रणका लागि गरेका पहलहरूबारे जानकारी लिएका थिए । उनले स्थानीय र अग्रपंतिका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अन्य सरकारी कर्मचारी तथा स्वयंसेवक र संघसंस्थालाई प्रकोप नियन्त्रणका लागि गरेको पहलका लागि आभार व्यक्त गरे ।

उनले त्यहाँ अस्पतालको सञ्चालन, बिरामीको उपचार, चिकित्साकर्मीको संरक्षण र प्रत्याभूति, वैज्ञानिक अध्ययन आदि अवस्थाबारे जानकारी लिएर उपचाररत बिरामीप्रति सहानुभूति प्रकट गरेका थिए । राष्ट्रपति सीले कोभिड–१९ विरुद्धको काममा खटिइरहेका चिकित्साकर्मीलाई हौसला दिँदै सबैले दृढविश्वासका साथ भाइरसविरोधी लडाइँ जित्नुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?