गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आज थप सुनुवाइ हुँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १३, २०७९
|
|
२५ पटक हेरिएको
Shares
गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आज थप सुनुवाइ हुँदै

सारांश

  • काठमाडौँ ।
  • उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको थप सुनुवाइ आज (शुक्रवार) हुने भएको छ ।
  • सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा बुधवार सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा आजका लागि राखेको थियो ।

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको थप सुनुवाइ आज (शुक्रवार) हुने भएको छ ।

सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा बुधवार सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा आजका लागि राखेको थियो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा बुधवार सुनुवाइ नसकिएपछि आजका लागि राखिएको हो । उक्त मुद्दामा अब आज थप बहस हुने जनाइएको छ।

यसअघि गत पुस २२ गते अदालतले बुधवारका लागि पेसी नगर्ने मुद्दाका रूपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि फैसला हुने जनाइएको छ ।

अदालतले दिएको यसअघिको आदेशमै २०७५ असार ६ गते अध्यागमन विभागमा पेस गरेको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालयसमेत जहाँ छ, सो निकायबाट सात दिनभित्र झिकाउन आदेश दिएको थियो । अदालतको आदेशअनुसार सबै कागजात र विवरण अदालतसमक्ष आइसकेको बताइएको छ ।

अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गर्नुभएको थियो ।

नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?