‘घुस खान नपाएपछि’ भन्सार अधिकृतको निसानामा व्यवसायी
सारांश
- बिमल नेपाल रसुवा, २३ जेठ- रसुवा भन्सार कार्यालय हुँदै व्यापार व्यावसाय गर्दै आएकालाई घुस नपाएपछि एक भन्सार अधिकृतले दुःख दिन थालेको गुनासो आएको छ ।
- भन्सार अधिकृत भिमराज आङदम्बेको व्यवहारका कारण रसुवा भन्सार कार्यालय हुँदै व्यापार व्यवसाय गर्नेहरु मारमा परेको गुनासो बढेको हो ।
- मुख्यतः चीनबाट नेपालका लागि आयातको काम गर्दै आएका व्यापारी-व्यवसायीहरु आङ्दम्बेको ‘व्यापारीमारा व्यवहार’का कारण मारमा परेको व्यापारीहरु बताउँछन् ।
बिमल नेपाल
रसुवा, २३ जेठ- रसुवा भन्सार कार्यालय हुँदै व्यापार व्यावसाय गर्दै आएकालाई घुस नपाएपछि एक भन्सार अधिकृतले दुःख दिन थालेको गुनासो आएको छ । भन्सार अधिकृत भिमराज आङदम्बेको व्यवहारका कारण रसुवा भन्सार कार्यालय हुँदै व्यापार व्यवसाय गर्नेहरु मारमा परेको गुनासो बढेको हो ।
मुख्यतः चीनबाट नेपालका लागि आयातको काम गर्दै आएका व्यापारी-व्यवसायीहरु आङ्दम्बेको ‘व्यापारीमारा व्यवहार’का कारण मारमा परेको व्यापारीहरु बताउँछन् ।
‘घुस खाएर बढी भन्सार भएको सामानलाई सस्तो भन्सार लगाएर छुटाउन पल्केका आङ्दम्बेले अहिले घुस खान नपाएपछि व्यापारीलाई अनावश्यक दुख दिन थालेको व्यापारीको आरोप छ । नाकाहुँदै व्यापार गर्दै आएका एक व्यापारीले भने, ‘घुस खान नपाएपछि विभिन्न बहानामा भन्सार पास गरेका छैनन् ।’
व्यापारीहरु अहिले आक्रोशित भएका छन् । इमानदारपूर्वक राज्यले तोकेको भन्सार तिरेर सामान आयात गर्न समस्या भइरहेको व्यपारीहरुको गुनासो छ । ‘हामी निकै मारमा परिसक्यौं । सहनै नसक्ने स्थिति आइसक्यो ।’ आक्रोशित हुँदै ती व्यापारीले भने, ‘घुस लिन–दिन नपाएपछि हामीलाई सताउँन पाइन्छ, अब त अति भयो हामी यसै चुप लागेर बस्न नसक्ने भइसक्यौं ।’
व्यापारीले सहजै व्यापार गर्ने वातावरण नभएपछि मजदुरी गर्दै आएकाहरु पनि मारमा परेका छन् । ‘एक गाडी सामानको भन्सार गर्न महिनौं लगाईदिन्छन् । त्यो अवधिमा हामीले के गर्ने ?’ एक मजदुरले पीडा पोखे ।
भन्सार अधिकृत आङदम्बेले यसअघि सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालयको मूल्यांकन फाँटमा काम गरेका उनी अहिले रसुवा भन्सारमा सोही फाँटमा कार्यरत छन् । माओवादी नेता कृष्णबहादुर महरासँग निकट सम्बन्ध भएका उनले जागिर गरेको ६ वर्षको अवधिमा प्रशस्त सम्पत्ति कमाएको बताइन्छ ।
स्रोतका अनुसार उनले घरजग्गा व्यवसायी माधवनाथ सापकोटामार्फत् आफ्नो ‘कालो धनलाई सेतो बनाउने’ काम गर्ने गरेका छन् । उनले हालसालै भक्तपुर र कीर्तिपुरमा एक–एक रोपनी जग्गा जोडेको बताइएको छ । उनले अवैध बाटोबाट कमाएको सम्पत्ति आफ्नी साली र ससुरालीको नाममा राखेको उनका निकटस्थ स्रोतले जनाएको छ ।
भन्सारको मूल्यांकन फाँटमा उनले गरेका काम पटक–पटक विविदित हुँदै आएको छ । २०७४ बैशाख ७ गते उनले मूल्यांकन पास गरी रसुवा भन्सारबाट छुटाएको सामान राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो । विभागले अनुसन्धानपछि उक्त सामान मूल्यांकन छलेर ल्याएको प्रमाणित गरेको थियो ।
उक्त सामानबापत विभागले ८ लाख ५० हजार रुपैयाँ बिगो समेत तिराएको थियो । उक्त सामान क्यारिङ व्यवसायी केशव कँडेलसँग ५ लाख रुपैयाँ घुस लिएर अधिकृत आङदम्बेले जाँचपाँस गराएको पुष्टि भएको थियो । यसको प्रमाण राजश्व अनुसन्धान विभागको शाखा नम्बर तीनमा अझै सुरक्षित रहेको बताइएको छ ।
प्रतिक्रिया