चिकित्सा शिक्षा विधेयकमाथि छलफल
सारांश
- काठमाडौँ, १३ भदौ ।
- प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा सरोकारावाला निकाय र व्यक्तिसँग छलफल प्रारम्भ गरेको छ ।
- समितिको आजको बैठकमा सांसद एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अध्यादेशका सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरी स्पष्ट हुनुपर्ने बताउनुभयो ।
काठमाडौँ, १३ भदौ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा सरोकारावाला निकाय र व्यक्तिसँग छलफल प्रारम्भ गरेको छ ।समितिको आजको बैठकमा सांसद एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अध्यादेशका सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरी स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले संविधानले निर्धारण गरेको समयसीमाभित्र मौलिक हकसम्बन्धी कानून बनाइसक्नुपर्ने भएकाले समितिमा छलफलका क्रममा रहेका सम्बन्धित विधेयकलाई उपसमिति बनाएर छलफल गर्नुपर्ने सुझाव दिनुभयो ।
समितिले आज उक्त विधेयकका सम्बन्धमा छलफल गर्न प्रा डा गोविन्द केसीलाई बोलाएको थियो । प्रा डा केसीले विधेयकका सम्बन्धमा बैठकमा आफ्नो लिखित मन्तव्य राखे पनि छलफलमा भने भाग लिनुभएन । बैठकमा उहाँले आफ्नो १५ औँ अनशनपछि गत साउन १० गते सरकारसँग छलफल गरी विधेयकमा परिमार्जन गर्नुपर्ने बुँदा सम्झौताका रुपमा आइसकेकाले सोही विषयमाथिको छलफलमा भाग लिन आवश्यक नभएको बताउनुभयो ।
प्रा डा केसीले स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रको दीर्घकालीन सुधार र दुर्गम तथा पिछडिएका ठाउँसम्म निःशुल्क, सस्तो र सुलभ सेवा पु¥याउने तथा विपन्न वर्गलगायत सबै विद्यार्थीको गुणस्तरीय निशुल्क, सस्तो सुलभ चिकित्सा शिक्षामा समान पहुँच सुनिश्चित गर्न आग्रह गर्नुभयो ।समितिका सभापतिको निर्वाचन नभइसकेकाले बैठक समितिका ज्येष्ठ सदस्य मीनबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको थियो । समितिले भोलि नेपाल मेडिकल एशोसिएशनसँग अध्यादेशका सम्बन्धमा छलफल गर्ने जनाएको छ ।
प्रतिक्रिया