चितवनमा प्रकोपका रुपमा देखिएको डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १०, २०७६
|
|
२२ पटक हेरिएको
Shares
चितवनमा प्रकोपका रुपमा देखिएको डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ

सारांश

  • चितवन।
  • जिल्लामा प्रकोपका रुपमा देखिएको डेङ्गु नियन्त्रण हुन लागेको छ।
  • चितवन र देशका विभिन्न जिल्लाबाट डेङ्गुका बिरामी यहाँ उपचारका लागि आउने गरेका छन्।

चितवन। जिल्लामा प्रकोपका रुपमा देखिएको डेङ्गु नियन्त्रण हुन लागेको छ। चितवन र देशका विभिन्न जिल्लाबाट डेङ्गुका बिरामी यहाँ उपचारका लागि आउने गरेका छन्।

स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भदौ तेस्रो र अन्तिम साता अत्यधिक बढेको डेङ्गुको सङ्क्रमण घट्दै गएको छ। उनका अनुसार सबैभन्दा बढी भदौ अन्तिम साता एक हजार ३२५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो। भदौ तेस्रो साता ६९२, दोस्रो साता ४१२ र पहिलो साता २७३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो। साउन पहिलो साता आठ जनामा मात्र सङ्क्रमण देखिएको तिवारीले जानकारी दिए।

“असोज पहिलो साता यो सङ्ख्या घटेर तीन सय हाराहारीमा आएको छ”, उनले भने। एउटा अस्पतालबाहेक अन्यमा सङ्कलन भएको तथ्याङ्कअनुसार असोज पहिलो साता २८९ जनामा सङ्क्रमण देखिएको छ। त्यसमध्ये पनि केही भदौमा बिरामी भएपनि असोजमा दर्ता भएको तिवारीको भनाइ छ। सङ्क्रमण दर क्रमशः घट्दै गएको र डेङ्गु नियन्त्रणमा आउने क्रममा रहेको तिवारीले बताए।

कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार साउनयता हालसम्म १० हजार ५६१ जनाको नमूना परीक्षण गरिएकामा तीन हजार ४०९ जनामा सङ्क्रमण देखिएको छ। यो सङ्ख्या क्रमशः घट्दै गएकाले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ। भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख वरिष्ठ फिजिसियन डा प्रकाश खतिवडाका अनुसार दैनिक १०० जनासम्म डेङ्गुको सङ्क्रमण भएका बिरामी आउने गरेकामा घटेर पाँच जनाभन्दा तल झरेको बताए। भदौ अन्तिम साता बहिरङ्ग सेवामा मेडिकल विभागमा ९०० नयाँ बिरामी उपचार गर्न आएका थिए भने ७०० जना ज्वरो आएका रहेकामा १०० जनामा डेङ्गुको सङ्क्रमण भेटिएको थियो। बुधबार बहिरङ्ग सेवाको मेडिकल विभागमा ५०० जना परीक्षणका लागि आएकामा १०० जनालाई ज्वरो आएको र तीमध्ये न्यून मात्र डेङ्गुका रहेको उनले बताए।

पहिला प्रकोपका रुपमा देखापरेका नारायणगढको कमलनगर, क्षेत्रपुर, गैँडाकोट, रत्ननगरको टाँडी बजारलगायत ठाउँका बिरामीमा मात्र डेङ्गु देखिएको खतिवडाले बताए। साउनदेखि क्रमशः डेङ्गुको सङ्क्रमण बढ्दै आएको थियो। डेङ्गुका कारण दुई जनाको मृत्यु भएको छ। खतिवडाले दिनको तापक्रम २५ डिग्रीभन्दा तल झरेर गएमा यो सङ्ख्या अझै घट्दै जाने बताए। फाट्टफुट्ट बिरामी भने कात्तिकसम्म आइरहने चिकित्सकको अनुमान छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?