भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने राजकीय भ्रमणका लागि केहीबेर अघि जनकपुर आइपुगेका छन् ।
एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै प्रधानमन्त्री मोदी आज बिहान १०ः४५ बजे जनकपुर विमानस्थलमा पुगेका हुन् । उनलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावत, प्रदेश नं २ का सभामुख सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी लगायतले स्वागत गरेका छन् । प्रधानमन्त्री मोदीलाई स्थानीय साँस्कृतिक झाँकी तथा बाजागाजासहित स्वागत गरिएको थियो ।
प्रधानमन्त्रीका रूपमा तेस्रोपटक नेपाल आएका मोदीको यो दोस्रो राजकीय भ्रमण हो । उनी साउन ०७१ मा राजकीय भ्रमणमा र मंसिरमा सार्कको १८औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा र ओलीले नै तोकेको मितिअनुसार मोदी नेपाल भ्रमणमा आएका हुन् ।
यस्तो छ कार्यक्रम
जनकपुर विमानस्थलमा मोदी भारतीय हवाई सेनाको हेलिकोप्टरबाट अवतरण भएका हुन् । उनलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका हुन्। एयरपोर्टबाट कारगेडमा जानकी मन्दिर पुगेपछि मोदीलाई प्रधानमन्त्री केपी ओली र प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले स्वागत गरेका हुन् । जानकी मन्दिरमा पूजापाठ र जनकपुरको बाह्र बिघा मैदानमा करिब एक घन्टा लामो नागरिक अभिनन्दन सकिएलगत्तै भारतीय सेनाको हेलिकोप्टरबाट मोदी काठमाडौं आउने कार्यक्रम छ ।
मोदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गर्नेछन् । प्रधानमन्त्री मोदीका लागि दिवाभोज हायात् होटेलमै व्यवस्था गरिएको छ । दिवाभोजपछि परराष्ट्रमन्त्री ज्ञवालीले मोदीसँग करिब १५ मिनेट शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि अपराह्न मोदीको सम्मानमा नेपाली सेनाले टुंडिखेलमा गार्ड अफ अनर दिनेछ । मोदीलाई प्रधानमन्त्री ओलीले त्यहाँ पनि स्वागत गर्नेछन् ।
गार्ड अफ अनरपछि मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गर्नेछन् । दुवै भेट आधा–आधा घन्टाका लागि छुट्याइएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार साँझ ६ बजे ओली र मोदीबीच सुरुमा करिब १५ मिनेट एकान्त वार्ता हुनेछ । त्यसपछि करिब ४५ मिनेट औपचारिक प्रतिनिधिमण्डल स्तरीय वार्ता हुनेछ ।
द्विपक्षीय वार्तापछि मोदीसँग पूर्वप्रधानमन्त्रीहरूले भेटवार्ता गर्नेछन् । भेटवार्ता सकिएपछि दुवै प्रधानमन्त्रीले स्विच दबाएर अरुण तेस्रोको शिलान्यास गर्नेछन् । त्यसपछि होटल द्वारिकाज्मै दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन् । त्यसपछि प्रधानमन्त्री ओलीले समकक्षी मोदीको सम्मानमा राजकीय रात्रिभोज दिनेछन् ।
शनिबार बिहानै भारतीय सेनाको हेलिकोप्टरमा मुक्तिनाथ पुगेर दर्शन र पूजा गर्नेछन् । मुक्तिनाथबाट काठमाडौं फर्केपछि पशुपतिनाथ मन्दिर दर्शन गर्नेछन् । त्यसपछि भारतीय राजदूतले होटल हायात्मै आयोजना गर्ने दिवाभोजमा सहभागी हुने मोदी लगत्तै राष्ट्रिय सभा हलमा काठमाडौं महानगरपालिकाले गर्ने नागरिक अभिनन्दनमा सहभागी हुनेछन् । त्यहाँ करिब ४५ मिनेट कार्यक्रममा सहभागी भएपछि सोझै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर भारतीय सेनाको जहाजबाट दिल्ली फर्किनेछन् ।
Sunena Kandangwa
Modi india farki