जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रित हुनुहोस: प्रधानमन्त्री ओली
सारांश
- काठमाडौँ, ३१ साउन ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा हुने गरेको भ्रष्टाचार, जनप्रतिनिधीले उपभोग गरेका सुविधाको बिषयमा चासो व्यक्त गर्नुभएको छ ।
- गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधिमण्डलसँग बिहिबार सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस बिषयमा चासो व्यक्त गर्नु भएको हो ।
काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा हुने गरेको भ्रष्टाचार, जनप्रतिनिधीले उपभोग गरेका सुविधाको बिषयमा चासो व्यक्त गर्नुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधिमण्डलसँग बिहिबार सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस बिषयमा चासो व्यक्त गर्नु भएको हो ।
स्थानीय तहमा अनियमितता भएको,जनताका काम जनप्रतिनिधीले सहज ढंगले नगरिदिएको गुनासो धेरै आएकोले त्यस बिषयमा गम्भिर हुने जनप्रतिनिधीहरुलाई प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ ।
‘कतिपय ठाउँमा मेयर, उपमेयर, अध्यक्ष, उपाधक्ष्यले महंगा गाडी किनेको, कतिपय वडाध्यक्षले डोजर किनेर सडक बनाउने ठेक्का आफैं लिएका गुनासाहरु आएका छन्’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तपाईंहरु जनप्रतिनिधि हो । त्यसकारण जनताले नरुचाउने काम नगर्नुहोस् । जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रित हुनुहोस ।’ कतिपय सुविधा कानुनले दिएको भनेर त्यसैअनुसार उपभोग नगर्न प्रधानमन्त्री ओलीले सजग गराउनुभएको छ । राजनीतिमा त्याग पनि महत्वपूर्ण भएको स्मरण गराउँदै त्यस्ता सुविधालाई अत्यावश्यकबाहेक अहिले त्याग गरेर जनताको मन जित्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले गाउँपालिकाका जनप्रतिनिधीलाई देश निर्माणको ठुलो जिम्मेवारी भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले गाउँपालिका दुर्गम ठाउँमा हुने, साधन स्रोतको कमी हुने भएकोले त्यहाँका जनप्रतिनिधीले धेरै चुनौतिमा काम गर्नु पर्ने बाध्यता रहेको बताउनुभएको छ । ‘जतिसुकै चुनौती भए पनि देश निर्माणको जग भनेको तपाईंहरु नै हो’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘दुर्गमका बस्तीहरु,राज्यको सेवा सुविधा नपुगेका जनताहरुमा तपाईंहरुले नै सेवा प्रवाह गर्ने हो’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘त्यसकारण देश निर्माणका लागि जनताले तपाईंहरुलाई ठूलो जिम्मेवारी दिएका छन् ।’
सुगम ठाउँहरु नगरपालिका र महानगरपालिका हुने भएकोले त्यहाँका जनप्रतिनिधिलाई केही सहज हुुने तर गाउँ पालिकाहरुमा यस्तो स्थिति नुहने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘दुर्गम भएर नै गाउँपालिका भयो’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘सुगम ठाउँ भएको भए नगरपालिका भइसकेका हुन्थे।’स्थानीय तहका जनप्रतिनिधिका कामबाट जनताले प्रदेश र संघीय सरकारप्रतिको पनि धारणा बनाउने भएकोले आफ्नो आचरणमा विशेष ख्याल गर्न प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया