जनता रछ्यानमा, नेता साम्यवादको ओछ्यानमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
४३ पटक हेरिएको
Shares
जनता रछ्यानमा, नेता साम्यवादको ओछ्यानमा

सारांश

  • उमेश बञ्जाडे भूकम्प पीडितलाई पाल र थाल पठाए ।
  • न पालमा तालु ओतियो, न थालमा सितो भेटियो ।
  • कांग्रेस होऊन् या कम्युनिष्ट ।

उमेश बञ्जाडे

भूकम्प पीडितलाई पाल र थाल पठाए । न पालमा तालु ओतियो, न थालमा सितो भेटियो । कांग्रेस होऊन् या कम्युनिष्ट । म हानेझैँ गर्छु, तँ रोएझैं गरेस् भन्ने खेती देखियो । सुशासन र समृद्धिको ओछ्यान लगाउन सिपालु कम्युनिष्ट नामका नेपाली अक्कलगुमहरु यतिबेला गहिरो निदमा छन् । जसरी देशकै राजधानी अर्थात सपनाको स्मार्ट सिटी पानीमा चुर्लुम्म डुबेको छ । ठिक उस्तैगरी विकास र निकासका आकर्षक शब्द रचयिताहरु पनि यतिबेला सत्ताको रसपानले ढाडिएका छन् । मैले यसो भन्दैगर्दा “म काँग्रेस भएको आरोप लाग्न सक्छ । शक्तिशाली सरकारका सुसारेहरुको चित्त दुख्नसक्छ र कसैलाई पिरो पनी लाग्न सक्छ । “सत्य तीतो हुन्छ” भनी बुझ्नु भएका जानकारहरुलाई मैले भन्नुपर्ने केही छैन । कृपया जस्तो लाग्ला त्यस्तै ग्रहण गर्नुहोला ।

हिउँदभरि “धुले काठमाडौं” भनेर चिनिने राजधानी थोरै वर्षात हुँदा “हिले” र अल्लि बेस्सरी पानी पर्दा जलमग्न हुने गरेको छ । एक हिसाबले सोंच्दा त बतासे नेताको भाषणमा लठ्ठिएर आँखा चिम्लिँदै मतदान गर्ने जनतालाई चाहे अनुसारकै फल मिल्याछ, भन्न मन पनि लाग्छ । तर मानिस भएपछि मानवीय समवेनालाई भुल्नु हुँदैन । “प्राकृतिक विपत्तिलाई कसैले रोक्न सक्दैन ।” उछिट्याएर भित्तामै पुराउँदा पनि सरकारको फेरो समाएका केही स्वाँठहरुले दिने जवाफ हो यो । हो, प्राकृतिक विपत्तिलाई कसैले छेक्न सक्दैन, तर ती विपत्तिजन्य महामारीबाट बच्न सक्ने उपाय अवलम्बन गर्न त सकिन्छ नि महाशय । कि त्यो पनि सकिन्न ? विकट वस्तीमा प्रत्येक वर्ष मानिसलाई लाग्ने झाडापखाला रोक्न त अपनाउनु पर्ने पूर्व सचेतना अनुशरण गर्नु पर्यो नि । पोहर लाग्यो, अहिले पनि लाग्छ, यो महामारीलाई कसैले रोक्न सक्दैन भनेर समाधान हुन्छ त ? ठमेल हिलोमा धँसिएको छ । मन्त्रीहरु कांग्रेसले के गर्यो भनी प्रश्न गर्छन् । बौद्ध पानीमा तैरिएको छ, झोलेहरु सरकारले पानी पारेको हो र ? भन्दै छक्क पार्छन् । मैतीदेवी चुर्लुम्म डुबेको छ, खोलेहरु उड्ने कारका बात मार्छन् । एउटा गतिलो ढल बनाउन सक्ने हुति नभएकाहरु स्मार्ट सिटीका गफ दिन्छन् । कांग्रेसले केही गरेन भनेरै जनताले कम्युनिष्टलाई मत दिएको कुरा कहिले बुझ्ने मन्त्रीज्यू ? पानी सरकारले पार्नु पर्दैन । यो सरकार आउनुपूर्व पनि धर्तीमा आकाशबाट पानी पथ्र्यो । हिले पानीमा तैरिन्थे असनका गल्लीहरु तर “समृद्ध नेपाल सुखी नेपाली” वाला सरकार आइसकेको यतिका दिनसम्म पनि कुपण्डोलका सडकहरु पौडी खेल्न छाडेनन् त । किन ? हुन त हिजो अर्को कोही सरकारमा हुँदा “अलच्छिना सरकार भएर गाडी दुर्घटना बढे” भन्नेहरुले यो विषयलाई अर्कै अर्थ लगाउन पनि सक्लान् ।

मन्त्रीहरू आफ्नै मन्त्रालयका बारेमा प्रश्न गर्दा माइक धक्काएर पन्छिने, सांसदहरू गुण्डाको जमानत बस्ने, प्रहरीहरु क्वीन्टलै क्वीन्टल सुन सुलित्तै छिराएर खाडीबाट आउनेलाई हैरान बनाउने र प्रधानमन्त्रीले “काठमाडौंका खाल्डा मैले बनाएको हो र पुर्नलाई” भनी सिल्पट झैँ रन्किने । के यही हो कामरेडहरुको सुशासन ? यही हो समाजवादउन्मुख गतिविधि ? इतिहासमै नेपाली कम्युनिष्ट अझ त्यसमा पनि पूर्व एमालेमा आश्रित नेता र सञ्जालमा घोप्टिने उनीहरु समर्थित फ्याउराहरुको प्रस्तुति ठ्याक्कै एउटै पाराको छ । नपत्याए “जहाजसम्बन्धी आलोचना गरे मुद्दा दर्ता गर्ने” बारेमा उरन्ठेउला युवा पर्शुराम बस्नेतको उर्दी हेर्नुस् । चौबीसै घन्टा “जहाज” भट्टाउँदै आश्वासनका पोका थमाए, अहिले आलोचना गर्नेलाई मुद्दा हाल्ने भनेर बर्बराउँदैछन् । पंक्तिकार स्वयं मुद्दैमुद्दाले जेलिएका ती महाशयलाई पहिला साइबर क्राइम र मौलिक हकका बारेमा आफै ट्युशन पढ्न सुझाउँछ । बेलाबेला “दुई तिहाई मतसहितको शक्तिशाली सरकार” भनेर घाँटी च्यातिन्जेल माइक्रोफोन समाएर चिल्लाउनेहरुको थोरै शाख रामबहादुर थापा “बादल”ले बचाउन खोज्दै थिए । यद्यपि “मार्सी चामलको भात” लगायतसँग सम्बन्धित तत्वहरुले त्यसलाई परास्त गरिसके । “तेत्तीस किलो सुन छानबिन” मा ओली भाइ, ठेक्कापट्टामा मने दाइ र सिण्डिकेटमा महासेठको बतासले मडारिएर अरु भन्दा बेग्लै उभिन खोजेका बादललाई बर्षिनै नदिई आफ्नै घानमा मिलायो । अहिले बादल, वर्षा अनि बिजुली सबै उस्तै÷उस्तै देखिन्छन् । समग्रमा अहिलेको सरकारमा सहभागी कम्युनिष्ट मन्त्रीहरुको समृद्धि त अस्ति विश्वकपको “मेस्सीको पेनाल्टी भन्दा पनि भद्दा” बनिसक्यो ।

काठमाडौंका चोकचोकमा महल ठडिए । देशकै औंलामा गनिएका शहरहरुमा प्लटिङ गरिएका घडेरीहरु छन् । देशकै ठूला ठूला आयोजनाहरुमा शेयर लगानी छ । करोडौंको गाडीमा हुँइकिएकै छ । कोही श्रीमतीका नाममा त केही विदेशी बैंकहरुमा धन थुपारिएकै छ । छोराछोरीहरु विदेशी कलेजमा भर्ना छन् । अनि “निजी सम्पत्तिका मालिकहरु कम्युनिष्ट हुँदैन” भन्ने “चिनियाँ राष्ट्रपति”सँग दाँजिएको छ । अझ घरैपिच्छे खुलेका झोले अनलाइनहरु “हाम्रा नेताले किम जोङ उनलाई आदर्श सिकाएर आए” भनी हेडलाइन बनाउन पनि भ्याउँछन् ।

कोही तर्क गर्छन्, सरकार बनेकै भर्खरै हो । आत्तिएर मात्रै हुन्छ ? काम गर्न त समय लाग्छ । चाहेको भए यतिबेला सुन तस्कर, सिण्डिकेट र ठेकेदार सबैलाई कारवाही भइसक्थ्यो । देशमा अर्कै माहोलको सुरुवात हुन्थ्यो र जनतालाई पनि सरकार भएको महसुस हुन्थ्यो । बिहानीले दिनको छनक देखाउँछ । उदाहरणकै लागि हेर्ने हो भने मलेसियाका इमान्दार नेता मोहमद महाथीरले निर्वाचित भएको पाँच दिनपछि नै पचास अर्ब डलर “कालो धन” जफत गरे । नौ जना “भ्रष्ट मन्त्री”लाई पक्राउ गरी जेल हाले । “भ्रष्ट, कमिशनखोर र माफियाहरू” भाग्न नपाऊन् भनेर विमानस्थल र बन्दरगाहहरूमा शिलबन्दी गरे । १४४ जना “काला बजारिया” ब्यापारीलाई गोर्खेलौरो कसे । पचास जना भ्रष्टाचारी न्यायाधीशहरुलाई ठिंगुरामा हो हाले । रिश्वतखोर पुलिसहरुलाई जेलमा जाके । र, जुन २०१८ को न्युनीकृत “कर”बारे जनतालाई सुसूचित गरेका थिए । आखिर चाहना र लगनशीलता छ भने हुनेरहेछ त सम्भव । वास्तवमा भन्ने हो भने अहिलेसम्म सरकारमा सहभागी कम्युनिष्ट नेतालाई उहिल्यै साम्यवाद आएको हो । उनीहरुको न जात खोजिन्छ, न छाती नापिन्छ, न योग्यता चाहिन्छ न त वर्ग हेरिन्छ । जनतासम्म आउँदा फेरि यो अवश्य लागू भएको छ । “वर्गविहीन शासन व्यवस्था”लाई “साम्यवाद” भनिएझैँ उनीहरु साँच्चिकै साम्यवादकै ओछ्यानमा सुतेका छन् र त्यहाँ पुराउन प्रयोग भएका जनतालाई तिनै पानी तैरिने गल्लीका रछ्यानमा मिल्काएका छन् ।
लमही, दाङ, हाल ः क्वालालम्पुर, मलेसिया

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?