जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरेर बम प्रहार
सारांश
- कार्तिक २४, २०७४-उम्मेदवारको गाडीलाई लक्षित गरेर बम प्रहार गरिएको छ ।
- बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी चौरजहारी नगरपालिका–८, को गोइरीमा २ वटा बम प्रहार गरिएको हो ।
- चौरजहारी उपत्यकाको चुनावी सभा, घेरदैलो र भेटघाट सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोली माथी सडकमाथिबाट बम प्रहार भएको हो ।
‘अहिले केही खुलेको छैन,’ जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमलाले भने, ‘त्यसमा संलग्न समूह र व्यक्तिको खोजी भइरहेको छ ।’ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेको आशंका गरिएको छ । केही दिन अघि नेकपाकै कार्यकर्ताले शर्माकै घरमा कालो व्यानर राखेका थिए । उक्त टोलीमा बाम गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यतर्फ ख निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवार गोपाल शर्मा, माओवादीको तर्फबाट प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेदवार चन्द्रबहादुर विक, प्रदेशसभा सदस्य विमला केसी, एमालेको तर्फबाट प्रदेशसभा तर्फकी समानुपातिक उम्मेदवार देवी ओली लगायत एमाले तथा माओवादीका नेताहरु पनि थिए ।
यसैबीच उम्मेदवार शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी भएको बम प्रहारको कार्यप्रति एमाले–माओवादी पार्टी एकता संयोजन समिति रुकुम (पश्चिम)ले विरोध गरेको छ । एक विज्ञप्ती जारी गरी समितिले उम्मेदवारलाई लक्षित गरी बम प्रहार गर्नु देशको विकास र समृद्धिको विरुद्ध भएको बताएको छ । प्रमुख नेता राजकुमार शर्मा र शेरबहादुर केसीले सयुंक्त रुपमा विज्ञप्ती जारी गरी निर्वाचन विरोधी गतिविधि तथा उम्मेदवारलाई नै लक्षित गरी बम प्रहार गर्ने दोषी उपर कारबाहीको माग गरिएको छ ।
प्रतिक्रिया