जीवितै छ ‘कम्युन’

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २६, २०७६
|
|
२० पटक हेरिएको
Shares
जीवितै छ ‘कम्युन’

सारांश

  • महोत्तरीको बर्दिवासस्थित जनता माध्यमिक विद्यालय कक्षा ७ मा पढ्ने अल्का महतो विभिन्न जिल्लाबाट आएका व्यक्तिसँगै ‘आधारशिला’ परिवारमा बस्नुहुन्छ ।
  • बर्दिवास नगरपालिका– ३ मा खानपानदेखि खर्च व्यवस्थापन र बसाइ सामूहिक निर्णयमा हुन्छ ।
  • फरक जातिका उनीहरु संयुक्त परिवार झैँ बसेका छन् ।

महोत्तरीको बर्दिवासस्थित जनता माध्यमिक विद्यालय कक्षा ७ मा पढ्ने अल्का महतो विभिन्न जिल्लाबाट आएका व्यक्तिसँगै ‘आधारशिला’ परिवारमा बस्नुहुन्छ । बर्दिवास नगरपालिका– ३ मा खानपानदेखि खर्च व्यवस्थापन र बसाइ सामूहिक निर्णयमा हुन्छ । फरक जातिका उनीहरु संयुक्त परिवार झैँ बसेका छन् । सर्लाहीबाट परिवारसहित आउनुभएका बिनुका कार्की पनि सामूहिक अभ्यासमा अभ्यास्त हुनुहुन्छ । कक्षा ८ मा पढ्ने छिमेकी सोनिया कुशवाहलाई यहाँको वातावरणले छोएको छ । “आफ्नो घरमा एक्लोपन महसुस हुन्छ, यहाँ साथीभाइसँग भेटघाटदेखि हरेक क्रियाकलाप सामूहिक गर्न पाउँदा रमाइलो लाग्छ, धेरै समय यहीँ बिताउँछु”, कुशवाहले अनुभव सुनाउनुभयो ।

यहाँ हिमाल, पहाड र तराइका ब्राह्मण, क्षेत्री, मधेशी, थारु, तामाङ र महतोको सामूहिक बसोबास छ । समाजमा रहेको जातीय भेदभाव, आत्मकेन्द्रित चिन्तन र स्वार्थी राजनीतिका सामु यो एउटा नौलो उदाहरण हो । ‘सामूहिक अभ्यास र सबैमा समान’ अवधारणालाई व्यवहारमा प्रयोग गरेको आधारशिलामा १४ परिवारका ४५ जना छन् । खास अर्थमा भन्दा यो ‘कम्युन’ अभ्यास हो । निश्चित विचारसहित व्यक्तिवादबाट माथि उठ्दै समूहमा कार्य गरिन्छ भने त्यो कम्युनको सिद्धान्तमा पर्छ । उनीहरु यहाँ सामूहिकरुपमा बस्दै आएका छन् तर उठबस र बोलीमा त्यो खुशी झल्कँदैन, कताकता जीवन शैलीमा रित्तोपनाको आभास पाइन्छ ।

कम्युनिज्म अर्थात् साम्यवादका अनुसार उत्पादनशील शक्ति विज्ञान तथा प्रविधिसँग जोडिनुर्छ र विचारधारा द्वन्द्वात्मक भौतिकवादसँग गाँसिनुपर्छ । आफ्ना लागि आफैँले निर्धारण गरेर लागू गर्ने प्रत्यक्ष सहभागिताम्ूलक स्वामित्व अघि बढाउँदै समाजवादी चरणमा जाने आधारशिलाको मूल उद्देश्य हो । नागरिकसँग सञ्चारमा जोडिएर काम गर्न रेडियो, स्वास्थ्यसँग जोडिन अस्पताल, आर्थिक गतिविधिसँग जोडिन सहकारी र अध्ययन अनुसन्धानका लागि प्रतिष्ठान बनाइएको छ । परिवारको व्यवस्थापन र सञ्चालन गर्न जागिरेहरुले निश्चित प्रतिशत दिनुपर्छ । एक परिवारले न्यूनतम रु पाँच हजार दिनुपर्ने व्यवस्था गरिएको छ । खाद्यान्नका लागि तीन बिघा भाडाको जग्गामा सामूहिक खेती छ । खेतीबाहेक अन्य गतिविधि प्रभावकारी हुन नसकेको देखिन्छ ।

कार्ल माक्र्स र एङ्गेल्सको कम्युन अवधारणा शुरुमा सन् १८७१ मा पेरिसमा लागू भएको मानिन्छ । त्यसपछि सोभियत सङ्घ र चीनमा पनि प्रयोग भयो । तत्कालीन नेकपा ९माओवादी०ले रोल्पामा जनकम्युन चलाएको थियो । अन्यत्र अस्तित्व गुम्दै गए पनि १७ वर्षअघि शुरु भएको उक्त अभ्यास बर्दिवासमा जीवित छ । उनीहरुको एउटै भान्छा छ । हरेक क्रियाकलाप सामूहिक निर्णयमा हुन्छ । आधारशिला परिवारका सदस्य शिव फुयाँल भन्नुहुन्छ, “वर्तमान समयमा कामविशेषले विभिन्न स्थानमा बस्न सकिन्छ तर हाम्रो मूल घर भनेको यही हो, सामूहिक अभ्यासबाट हाम्र गतिविधि सञ्चालन हुन्छ ।”

विसं २०५१ मा नेकपा९एकता केन्द्र० फुटेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा नेकपा ९माओवादी० बन्यो । मोहनविक्रम सिंह नेतृत्वको केन्द्रले विसं २०५४ मा महाधिवेशनस्तरको राष्ट्रिय सम्मेलनमार्फत ‘ग्रामीण वर्ग सङ्घर्ष’मा जुट्ने निर्णयसहितको राजनीतिक कार्य्दिशा पारित ग¥यो । पूर्णकालीन राजनीतिक आन्दोलनमा लागेका नेता कार्यकर्ताका छोराछोरीको पालनपोषण र रेखदेखमा समस्या आएपछि उनीहरुलाई संरक्षण दिने उद्देश्यले ‘सामूहिक अभ्यास’को अवधारणा ल्याइएको हो ।

विसं २०५९ माघ २५ गते नेकपा ९एकता केन्द्र मसाल०ले ‘समाज रुपान्तरणका लागि सामूहिक अभ्यास’को निर्णयसहित सिरहाको तत्कालीन असनपुर गाविस– ३ गोलबजारमा विश्वनाथ शाहका घरबाट विसं २०६० मा होस्टेलका रुपमा कम्युन अवधारणा व्यवहारमा लागू ग¥यो । राजा ज्ञानेन्द्रले जननिर्वा्चित सरकार विघटन गरी शासन सत्ता हातमा लिएको छ दिनपछि अवलम्बन गर्न खोजिएकोे अवधारणा अगाडि बढाउन अर्को चुनौती बन्यो ।

पहिलो संविधानसभाका बेला एकता केन्द्र मसाल र नेकपा ९माओवादी० बीच एकीकरणपछि समग्र जीवन सामूहिकतामा जानुपर्छ भन्ने निष्कर्षसहित २०६७ सालदेखि बर्दिवासमा १४ कट्ठा जमीन किनेर ‘आधारशिला’लाई व्यवस्थित गरिएको संस्थापक एवं हालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल बताउनुहुन्छ । तत्कालीन समयमा नेतृत्व गर्ने उहाँ अहिले पनि आधारशिलाका सक्रिय सदस्य हुनुहुन्छ । उहाँले आठ कट्ठा जमीन बेचेर आधारशिलामा राख्न्ुभएको छ ।

‘आधारशिला कम्युन’मा खोटाङ ओखलढुङ्गा, सिरहा, महोत्तरी, काठमाडौँ र मोरङबाट छ परिवारका १८ बालबालिका सहभागी थिए । हाल १४ परिवारका ४५ जना सामूहिक अभ्यासमा छन् । मन्त्री पोखरेलसहित शाह, दीपबहादुर योञ्जन,, विदुर कार्की, हरिनारायण चौधरी र माधवप्रसाद कोइराला कम्युनका संस्थापक हुनुहुन्छ । कार्की र शाह कारणवश छुटिनुभएको छ । कोइरालाले आफ्नो जग्गा बेचेर रु ४७ लाख दिनुभयो । अन्यको पनि गच्छेअनुसारको योगदान छ । पहिले भौतिक योगदान रहे पनि कम्युनका संरक्षकहरुबाट कम्युनप्रतिको चिन्ता र चासो कम देखिन्छ ।

सदस्य फुयाँलले आधारशिलामार्फत व्यक्ति केही होइन, समाज मूल कुरा हो भन्ने सन्देशसहित आधारशिलामार्फत कम्युनिष्ट विचारको प्रयोग गर्न खोजिएको बताउनुभयो । माक्र्सवादका ठूला उद्धरण वा महान् वाणी राख्ने मात्र नभई त्यसलाई जीवन व्यवहारमा लागू गर्नुपर्नेमा उक्त परिवारको जोड छ । समाजवादलाई आधार बनाएर समाजलाई अघि बढाउने कुरामा पार्टी र नेताको ध्यान नपुगेको उनीहरुको तर्क छ ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रवक्ता नारायणकाजी श्रेष्ठ क्रान्तिकारी आन्दोलनलाई प्रारम्भमै समाजवादी सांस्कृतिक आन्दोलनसँग जोड्दा मात्रै समाजवादी आन्दोलन अगाडि बढ्ने तत्कालीन अवस्थाको निष्कर्षको परिणाम आधारशिला हो भन्नुहुन्छ । “आधारशिला व्यक्तिगत सम्पत्ति सामूहिकीकरण गर्न, जीवनलाई सामूहिक अभ्यासमा लैजान, वर्ग सङ्र्घषमा लाग्न, उत्पादनको काममा जोडिन र आफ्नो जीवनमा प्रगतिशील जीवनमूल्य अभ्यास गर्न स्थापना भएको हो, कसैलाई देखाउन र आडम्बर प्रदर्शन गर्न होइन”, श्रेष्ठले थप्नुभयो । कम्युनिष्ट पार्टी, पार्टी्भित्रको पद र पार्टीमार्फत जननिर्वा्चित संस्थालाई व्यक्तिगत स्वार्थका निम्ति प्रयोग गर्नेक्रम बढेकामा उहाँले चिन्ता प्रकट गर्नुभयो ।

कम्युनिष्ट मुलुक रुस विखण्डन भएपछि अन्तरराष्ट्रियरुपमा समाज कसरी बनाउने भन्नेमा बहस उठ्यो । नेपालमा पनि क्रान्तिको कार्य्दिशा के हो, पार्टीको निर्माणको कुरा के हो, समाजवादी आन्दोलन किन असफल भयो, प्रतिक्रान्तिको शिक्षा के हो भन्ने विषय महत्वपूर्ण बनेपछि नयाँ कार्य्दिशाका साथ कम्युन अभ्यास थालिएको मन्त्री पोखरेल बताउनुहुन्छ । उहाँका अनुसार अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनको पराजयले आत्मगत पक्षलाई ध्यान दिनुपर्छ भन्ने देखायो । धार्मिक क्षेत्रमा सामूहिक काम गरिरहेका संस्थाले पनि कुनै न कुनै रुपमा सामूहिक अभ्यास गरिरहेका थिए । भारतमा अङ्ग्रेजविरुद्धको आन्दोलनमा पनि एक खालको कम्युन देखिएको थियो । माक्र्सवाद दक्षिणबाट आयो तर त्यसमा पूर्वीय दर्शनका विषयलाई जोडेर सही ढङ्गले अगाडि बढेको देखिएन । पोखरेल भन्नुहुन्छ, “बुद्धले शुरुदेखि नै आफ्ूलाई सामूहिक अभ्यासमा अगाडि बढाउनुभएको थियो, अब पार्टी मात्रै बनाएर पुग्दैन, भिन्न ढङ्गबाट कमजोरी पत्ता लगाएर अगाडि बढ्नु आजको आवश्यकता हो ।”

तत्कालीन रुसमा आधारभूतरुपमा गाँस, बास कपास, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी भए पनि श्रमिकलाई निर्णय प्रक्रियामा सामेल नगरिँदा कालान्तरमा समाजवादी रुस ढलेको पोखरेल बताउनुहुन्छ । “कम्युनिष्टले शासक होइन सेवकका रुपमा काम गर्नुपथ्र्यो, त्यो हुन सकेन । आलोचनालाई पक्रन नसक्नु अर्को समस्या हो । माथिल्लो तहका नेताले त्यस किसिमको काम गर्नुपर्छ”, पोखरेल भन्नुहुन्छ, “सामूहिकता अनिवार्य पक्षसँग गाँसिनुपर्छ । उत्पादन, वितरण, विनियम, उपभोग र विसर्जनको सोचसहित लैजानु जरुरी छ । अहिले स्वरुपान्तरणको सवाल छ । विज्ञानको विकाससँगै सामूहिक ढङ्गले लैजानुपर्छ । व्यवस्थापकीयरुपमा प्रभावकारी गराउनुपर्छ । सामूहिकता र वैयक्तिक स्वतन्त्रतालाई सुनिश्चत गर्न सकियो भने ‘कम्युन’ अभ्यास अगाडि बढ्छ ।” उहाँका अनुसार विगतमा एकपटक आएका फर्किए । रोल्पालगायत केही ठाउँमा चलेका विभिन्न अभ्यास हराए । आगामी वर्ष चैतमा हुने महाधिवेशन हुने समयसम्म नेकपाले केही विकल्प दिन्छ ।

शनिबार बर्दिवासमा भएको आधारशिलाको १७औँ वार्षिकोत्सवमा सहभागी नेकपाका वरिष्ठ नेता झलनाथ खनाल नेपालको कम्युनिष्ट आन्दोलनमा आधारशिला नयाँ प्रयोग हो भन्नुहुन्छ । विगतमा तत्कालीन नेकपा ९एमाले०ले पनि कैयौँ अभ्यास गरेको स्मरण गर्दै खनालले भन्नुभयो, “पूर्वमाओवादीले पनि कम्युन बनाएका थिए, त्यस्ता अनुभवको समीक्षा गरी जनमोर्चाले प्राप्त गरेको अहिलेको जीवित अनुभवबाट प्रेरणा लिनुपर्छ ।”

बर्दिवास नगरपालिकाका प्रमुख विदुर गिरी अहिलेको हाम्रो समाजमा बाबुछोरा पनि मिल्न नसक्ने अवस्था रहेको र निजत्व बढिरहेको बताउनुहुन्छ । “स्वार्थ र व्यक्तिवादी चिन्तन बढ्दो छ । सामूहिक अभ्यासमा पार्टी्भित्रै अन्तरविरोध छ । विचार मिल्ने र व्यवहार मिल्ने बीचमा सामूहिक अभ्यास अहिले पनि जरुरी छ”, उहाँँ भन्नुुहुन्छ । उहाँका अनुसार बर्दिबास– ३ पहिलो पूर्ण साक्षर, पूर्ण खुला दिशामुक्त, पूर्ण भर्ना र सामाजिक चेतनास्तरमा पनि अन्यभन्दा अब्बल हुनाको एकमात्रै कारण ‘आधारशिला’ हो । चितवनको माडीस्थित दिवाकर बालग्रामले पनि केही अभ्यास गरिरहेको छ । नेकपाको अन्य क्षेत्रका कतिपय कम्युन अभ्यास हराइसके । गिरी भन्नुहुन्छ, “असल अभ्यास हुँदाहुँदै संस्थाले जसरी उज्यालो दिनुपर्ने हो सकेन, विचार व्यवहार, सांस्कृतिक पक्षमा अझै ध्यान दिनुपर्छ ।”

उक्त परिवारमा आर्थिक, उत्पादन, सहकारी र सामाजिक परिचालनका छुट्टछुट्टै विभाग छ । पार्टीको उच्च तहका व्यक्तिदेखि तल्लो तहका पनि कम्युनमा सहभागी छन् । वर्षमा दुईपटक परिषद् हुन्छ । त्यसले वार्षिक कार्ययोजना बनाउँछ । समस्या छलफलद्वारा हल गरिन्छ । अझै आत्मनिर्भर बन्न सकेको छैन । सहकारी चलाइएको छ, केही जग्गा भाडामा लिएर उत्पादन भइरहेको छ । बाहिर कमाउनेले परिवार सञ्चालनका लागि निश्चित प्रतिशत दिन्छन् । गाई फार्म, उद्योग र अस्पताल सञ्चालनको प्रयास सफल हुन नसक्दा विद्यमान प्रश्नले घच्घच्याएको देखिन्छ । आधारशिलाका अर्का संस्थापक माधवप्रसाद कोइराला भन्नुहुन्छ, “समस्या छन् तर कम्युन अभ्यासमा बस्दा धेरै खुशी छु, एकल घरमा बस्दा जति समस्या यहाँ देखिएन, कतै बाहिर जाँदा घर रुँग्ने मान्छे पनि खोज्नुपथ्र्यो, ती विविध चिन्ताबाट मुक्त छु ।” ‘समाजवादी बाटामा जानका लागि गति दिन नसकिएको वर्तमान अवस्थामा’ यहीँबाट समाजमा उज्यालो दिने प्रयास भएको बताउने कोइराला कुनै बेला सत्ता समाजवादी विरोधी देखिए पनि समाजवादका लागि यसले झिल्कोको काम गरेको जिकिर गर्नुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?