शरणार्थीहरूको सङ्ख्यामा भारी कटौती गर्ने अमेरिकी घोषणा
सारांश
- बीबीसी।
- संयुक्त राज्य अमेरिकाले देशभित्र अनुमति दिइने शरणार्थीहरूको सङ्ख्यामा नाटकीय रूपमा कटौतीको घोषणा गरेको छ।
- विदेश मन्त्रालयले आउँदो वर्ष बढीमा १८ हजार जनालाई पुनर्स्थापित गरिने बताएको छ।
बीबीसी। संयुक्त राज्य अमेरिकाले देशभित्र अनुमति दिइने शरणार्थीहरूको सङ्ख्यामा नाटकीय रूपमा कटौतीको घोषणा गरेको छ।
विदेश मन्त्रालयले आउँदो वर्ष बढीमा १८ हजार जनालाई पुनर्स्थापित गरिने बताएको छ।
शरणार्थी पुनर्स्थापना कार्यक्रमको इतिहासमा यो सबैभन्दा कम सङ्ख्या हो। यस वर्ष त्यो सङ्ख्या ३० हजार तोकिएको छ।
ट्रम्प प्रशासन भन्छ, उपलब्ध कैयौँ ठाउँहरू अमेरिकी सेनालाई सघाएका इराकीहरूका साथै सताइएका धार्मिक अल्पसङ्ख्यकका निम्ति छुट्याइने छ।
मानव अधिकारवादी संस्थाहरूले उक्त कदमको आलोचना गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शराणार्थीहरूको पुनर्वास कार्यबाट राज्य सरकार र स्थानीय सरकार पछि हट्न सक्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
उक्त आदेशले “पुनर्वासका लागि तयार र उत्सुक समुदायमा शरणार्थीहरूलाई स्थानान्तरण सुनिश्चित गर्ने र अमेरिकी समाजमा उनीहरूको सफल एकीकरणमा सहयोग पुर्याउने,“ उनले बताए।
ट्रम्प प्रशासनले आप्रवासीहरूको सङ्ख्यामा कटौती गर्ने विषयलाई आफ्नो प्रमुख लक्ष्य बनाएको छ।
युएस रेफ्युजी एड्मिसन प्रोग्राममा सन् २०१७ देखि उनले कोटा कटौती गरेर ५० हजार पुर्याएका थिए।
त्यस लगत्तैका वर्षहरूमा उक्त सङ्ख्या ४५ हजार र ३० हजार पुर्याइएको थियो।
अमेरिकाले यसअघि सन् २००१ को सेप्टेम्बरमा भएको हमलापछि सन् २००२ मा शरणार्थीहरूको सङ्ख्यामा भारी कटौती गरेको थियो। त्यति बेला उक्त सङ्ख्या २७ हजार पुर्याइएको थियो।
दक्षिणी सिमाना रहेको मेक्सिको हुँदै अमेरिका प्रवेश गरेर शरण खोज्नेहरूले आफूहरूलाई “अत्यधिक बोझ“ थपिदिएको एउटा विज्ञप्ति जारी गर्दै अधिकारीहरूले बताएका छन्।
“ठूलो सङ्ख्यामा शरणार्थीहरूलाई पुनर्वासको व्यवस्था गर्न तयार हुनु अघि अमेरिकी अध्यागमन प्रणालीमा रहेको बोझ कम गर्न जरुरी छ,“ अमेरिकी विदेश मन्त्रालयले भनेको छ।
इराकका नागरिक बाहेक अमेरिकी सेनामा काम गरेकाहरूका लागि कोटा तोकिने छ।
दुस्ख पाएका धार्मिक अल्पसङ्ख्यकहरूकालागि ५,००० स्थान सुनिश्चित गरिने छ भने ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट शरण खोज्दै अमेरिकाको दक्षिणी सिमामा आउनेहरूका लागि १,५०० कोटा छुट्टाइने छ।
“यो अमेरिकाका लागि दुखद दिन हो,“ गैर नाफामूलक समूह इन्टरन्यासनल रेस्क्यु कमिटीका प्रमुख डेभिड मिलिव्याण्डले भने।
“यो निर्णयले दुनियाँ भर रहेका कमजोर मानिसहरूको रक्षा गर्ने अमेरिकी नेतृत्वलाई थप नोक्सान पुर्याएको छ। तर्क वा आवश्यकतामा यसको कुनै आधार छैन र यसले अमेरिकी स्वार्थलाई नोक्सान पुर्याउनुका साथै उसको मूल्य र मान्यतालाई धमिलो बनाइदिएको छ।“
अमेरिकन सिभिल लिवर्टिज युनियनको इमिग्रयान्टस राइट्स प्रोजेक्टका निर्देशक ओमार जाडवटले उत्पीडन, यातना र नरसंहारबाट सुरक्षा खोजिरहेकाहरूका लागि सुरक्षा प्रदान गर्ने अमेरिकाको राष्ट्रिय प्रतिवद्धताबाट पछि हट्ने सरकारको एकतर्फी उत्सुक्ता दुखद रहेको बताएका छन्।
प्रतिक्रिया