तनहुँमा रोचक चुनावी भिडन्त: एक बहालवाला सहित तीन पुर्वमन्त्री मैदानमा
सारांश
- प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तनहुँमा रोचक भिडन्त हुने देखिएको छ ।
- एक बहालवाला सहित तिन पुर्वमन्त्री प्रतिस्पर्धामा छन् ।
- दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि कांग्रेस, वाम गठबन्धन लगायतका दलहरु निर्वाचनमा होमिदै छन् ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तनहुँमा रोचक भिडन्त हुने देखिएको छ । एक बहालवाला सहित तिन पुर्वमन्त्री प्रतिस्पर्धामा छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि कांग्रेस, वाम गठबन्धन लगायतका दलहरु निर्वाचनमा होमिदै छन् । तनहुँ क्षेत्र नम्बर १ बाट पुर्वमन्त्री तथा वरिष्ठ नेता रामचन्द्र पौडेल वामगठबन्धनका कृष्ण कुमार श्रेष्ठसँग मैदानमा उत्रदै छन् । पौडेलले श्रेष्ठसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ । वामगठबन्धनका श्रेष्ठ कसरी हुन्छ गत निर्वाचनको बदला लिने तयारीमा छन् । प्रत्येक निर्वाचनमा तनहुँबाट चुनाव जित्दै आएका उनी यो पटक भने कठिन मोडमा छन् । एमाले र माओवादीको वाम गठबन्धनले उनलाई दबाबमा पारेको छ । स्थानीय तहको निर्वाचनको नतिजा हेर्दा वामगठबन्धन बलियो देखिन्छ । तर, तनहुँमा करिब १६ हजार मतदाता थपिएपछि भने त्यो निर्णायक मत हुने देखिन्छ । थपिएका मतदाता आफ्नो पक्षमा पार्न नेताहरु दौडधुपमा छन् ।
त्यस्तै क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा पुर्व वन मन्त्री शंकर भण्डारी एमालेका जिल्ला अध्यक्ष केदार सिग्देलसँग लड्दै छन् । प्रदेश सभा ‘ख’ तर्फ एमालेका पुर्व मन्त्री किरण गुरुङ र कांग्रेसका तर्फबाट संसदिय दलका सचिव धुर्व वाग्ले प्रतिस्पर्धामा छन् । यी दवै चर्चित अनुहार हुन् । तर, दुवै आफ्नो पक्षमा मत पार्नलाई जनताका घरघर पुग्न थालेका छन् ।
त्यस्तै क्षेत्र २ को क प्रदेश सभातर्फ वामगठबन्धनबाट विना विभागिय मन्त्री आशा कोइराला र कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेलबीच कडा टक्कर पर्ने देखिएको छ । विना विभागिय मन्त्री कोइराला र केन्द्रीय सदस्य पौडेल उक्त क्षेत्रमा दुवै लोकप्रिय मानिन्छन् । यी दुवै आमनेसामने हुँदा मतदाता समेत दोधारमा परेका छन् । त्यसैले यो निर्वाचनमा तनहुँमा कडा प्रतिस्पर्धा मात्र नभई रोचक पनि हुनेछ ।
कांग्रेसका प्रत्यक्षतर्फ ७ ब्राह्मण प्रतिस्पर्धामा
नेपाली कांगे्रसले तनहुँको दुवै क्षेत्रमा प्रत्यक्षतर्फको उमेदवारमा ब्राह्मण थरका नेताहरु मैदानमा उतारेको छ । कांग्रेसले १ नम्बर क्षेत्रको प्रतिनिधि सभा तर्फ वरिष्ठ नेता रामचन्द्र पौडेललाई सिफारिस गरेको छ भने प्रदेश सभातर्फ गोबिन्द भट्टराई र रघुनाथ पौडेललाई उम्मेदवार बनाएको छ । कांग्रेसले प्रत्यक्षतर्फ महिला उमेदवारलाई भने प्राथमिकतामा राख्न सकेन ।
त्यस्तै गरेर जनजातीका नेताहरु पनि प्रत्यक्षमा पर्न सकेनन् । कांग्रेस तनहुँमा केन्द्रीय सदस्य धेरै भएका कारण सबैलाई मिलाएर लैजान असहज भएको हो । कांग्रेसका वरिष्ठ नेता पौडेल ०४८, ०५१, ०५६, ०६४ र ०७० को निर्वाचनमा तनहुँबाट विजयी भएका थिए । तर यसपल्ट भने पौडेललाई फलामको चिउरा चपाएजस्तै हुनेछ । नेता पौडेललाई वाम गठबन्धनको तालमेलसँगै एमालेको भागमा परेको यो क्षेत्रमा सकस हुने भएको छ ।
नेता पौडेलले वामगठबन्धनका कृष्ण कुमार श्रेष्ठसग प्रतिस्पर्धा गर्दैछन् । गएको निर्वाचनमा पनि नेता पौडेल र श्रेष्ठ प्रतिस्पर्धामा थिए । यसपल्ट भने श्रेष्ठले गएको निर्वाचनको बदला लिन दौडधुप गरिराखेका छन् । त्यस्तै क्षेत्र नम्बर २ तर्फ प्रतिनिधि सभामा शंकर भण्डारी र प्रदेशमा प्रदिप पौडेल र ध्रुब वाग्ले उठेका छन् । नेपालभर कांग्रेसले प्रत्यक्षमा सबै ब्राह्मणलाई टिकट दिएको संभवत तनहुँ नै पहिलो जिल्ला हो ।
क्षेत्र परिवर्तनले आफैँलाइ भोट दिन नपाउने अभागी नेताहरु
आगामी मङ्सिर २१ गते हुने दोश्रो चरणको निर्वाचनमा तनहुँका यस्ता उम्मेदवारहरु छन् । जसले आफैले आफैलाई नै भोट हाल्न पाउदैनन् । कांग्रेसका तीन नेता भोट दिने अवसरबाट बन्चित भएका हुन् । तनहुँको क्षेत्र नम्बर २ को प्रतिनिधि सभामा उम्मेदवारी दिएका पुर्वमन्त्री तथा कांग्रेसका उम्मेदवार शंकर भण्डारीले आफैलाई मत दिन नपाउने भएका छन् । क्षेत्र नम्बर १ मा मतादाता नामावली भएपनि पार्टीले उनलाई २ नम्बर क्षेत्रमा टिकट दिएका कारण उनले यो अवसर गुमाउनु परेको हो । नेता भण्डारीको क्षेत्र १ मा मतदाता नामावली रहेको छ ।
त्यस्तै क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ मा रघुनाथ पौडेल र क्षेत्र नम्बर २ को प्रदेश सभाको ‘ख’ तर्फ संसदीय दलका सचिव ध्रुव वाग्ले आफ्नो मताधिकार प्रयोग गर्नबाट वन्चित छन् । वाग्लेले वाम गठबन्धनका उम्मेदवार एवं पूर्व वन मन्त्री किरण गुरुङ्गसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।
पौडेलको मतदाता नामावली क्षेत्र नम्बर १ को भानु नगरपालिका ११ मा रहेको छ । ‘ख’ क्षेत्रमा व्यासको १, १२, १३ र १४ त्यस्तै बन्दिपुर गाउँपालिका, आँबु गाउँपालिका र देवघाट गाउँपालिका पर्दछन् । नेता वाग्लेको जन्मस्थान प्रदेश ‘क’ को व्यास नगरपालिका ५ मा पर्ने भए तापनि पार्टीले उनलाई ‘ख’ मा निर्वाचन लड्न पठाएको हो । ‘ख’ मा भिमाद नगरपालिका, घिरिङ्ग गाउँपालिका र रिसिङ्ग गाउँपालिका पर्दछन ।
प्रतिक्रिया