त्यसपछि बिकमान फर्किएर फेरि कहिल्यै चर्च गएनन्…
सारांश
- भूकम्प गएको तीन वर्षमा सिन्धुपाल्चोक बाह्रबिसेका बिकमान थामीको टहरामा सम्झनलायक तीन दृश्य देखिए।
- पहिलो दृश्य– चुनावको : १० जनाको परिवार भएको बिकमानसँग केही भोट छन्।
- फरकफरक पार्टीका नेता उनको टहरामा आए।
भूकम्प गएको तीन वर्षमा सिन्धुपाल्चोक बाह्रबिसेका बिकमान थामीको टहरामा सम्झनलायक तीन दृश्य देखिए।
पहिलो दृश्य– चुनावको : १० जनाको परिवार भएको बिकमानसँग केही भोट छन्। फरकफरक पार्टीका नेता उनको टहरामा आए। घर बनाइदिने बाचा गरे। भोट हालेर स्याँस्याँ गर्दै फर्किए बिकमान। केही दिनपछि सडकमा विजय जुलुस निस्कियो। मोटरसाइकल र पँजेरोको आवाजले बिकमानको टहरामा आउने जुरेली र भँगेरालाई धेरै दिनसम्म लखेट्यो। त्यसपछि शून्य भयो बाटो। देखिएनन् भोट माग्नेहरू। उनले भोटको बदलामा छातीमा झण्डा टाँसिएको एउटा टिसर्ट पाए। उनका छोरा भारी बोक्दा आजकाल त्यही टिसर्ट लगाउने गर्छन्।
बिकमानले झेलेको दोस्रो दृश्य हो- प्रभु येसुको लीला : रोग र भोकले डेरा जमाएर बसेको बिकमानको घरमा प्रभु येसुको सन्देश लिएर लोकल पादरीहरू पुगे। बिकमान आशावादी भए। छातीको बीचमा लागेको गरिबीको घाउ प्रभुले निको पार्ने आशामा उनी चर्च पुगे। ध्यान दिएर कुरा सुने। कहिल्यै पुस्तक नछोएका बिकमानले बाइबल छोइ हेरे। रोग र दुःख मोचन हुने आशा गरे। तर, रोग २० को १९ पनि भएन। गरिबीको त झन के कुरा ! त्यसपछि बिकमान फर्किएर फेरि चर्च गएनन्।
तेस्रो दृश्य यस्तो छ- बिकमान टहरामा बस्दाबस्दै नगरवासी भए। गाउँवासीबाट नगरवासी भएको उनले पत्तै पाएनन्। ‘तपाईं नगरवासी हुनुभयो नि ? ’, हाम्रो प्रश्नपछि खैनीले खाएको दाँत देखाउँदै उनी फिस्स हाँसे। एकछिनपछि भने, ‘खै नगरपालिका आयो भन्छ। आयो कि आएन केही थाहा भएन।’ नगरपालिकाले बिकमानलाई कुनै उत्साह दिन सकेन। …
खेतको एकलास कुनामा बनेको छ एउटा टहरा। टिनको छाना, टिनकै भित्ता। टहरामा अडेस लागेर टुक्रुक्क बसिरहका छन् एकजना मान्छे, चलमलाउँदैनन्। टाढाबाट हेर्दा मान्छे नै हो भनी ठम्याउन गाह्रो पर्छ।
तिनी नजिक पुग्दा देखिन्छ- सेत्तै फुलेको कपाल। मैलो, खैरो रंगको कोट र कट्टु लगाएर टुक्रुक्क बसिरहेका एकजना वृद्ध। खुट्टामा प्लास्टिकको चप्पल, नङ अस्वाभाविक रूपमा बढेर चप्पलबाहिरै निस्किएको छ। खोकिरहेका छन् एकोहोरो। उनी भूकम्पपछि बनेका छिमेकीका अग्ला घरहरू हेरिरहेका थिए।
नाम के हो बा ? प्रश्न आएतिर हेर्छन्।
तुरुन्तै उत्तर दिन्छन्- ‘बिकमान थामी।’
उमेर ? ‘२०१८ सालको जन्म हो मेरो।’
सिन्धुपाल्चोक बाह्रबिसे बजारको पश्चिमपट्टि, बग्रेफाँटमा छ- उनको टहरा। भूकम्पले आफ्नो थातथलो भत्काएपछि बिकमान यो टहरामा बस्न थालेका हुन्। ठ्याक्कै तीन वर्ष पूरा भयो टहरामा बस्न थालेको। यो तीन वर्षमा कति हुरी, कति घाम, कति वर्षा उनले र टहराले सँगै थामे, बिकमानलाई उति भेउ छैन।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया