धमाधम पक्राउ पर्दै माननीयहरु, नेकपा सांसद पार्वत गुरुङलाई पनि पक्राउ पूर्जी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ३०, २०७६
|
|
१७ पटक हेरिएको
Shares
धमाधम पक्राउ पर्दै माननीयहरु, नेकपा सांसद पार्वत गुरुङलाई पनि पक्राउ पूर्जी

सारांश

  • काठमाडौं।
  • पछिल्लो समय उच्च स्तरका व्यक्ति नै धमाधम पक्राउ पर्न थालेका छन्।
  • यसअघि उच्च पदमा आसिन व्यक्तिले अपराध गरेपनि सजिलै उम्किने गरेको अवस्थमा वर्तमान सरकार गठन भएपछि उच्चस्तरका व्यक्ति पनि धमाधम पक्राउ पर्न थालेपनि कानुनी राज्यको आभास हुन थालेको छ।

काठमाडौं। पछिल्लो समय उच्च स्तरका व्यक्ति नै धमाधम पक्राउ पर्न थालेका छन्। यसअघि उच्च पदमा आसिन व्यक्तिले अपराध गरेपनि सजिलै उम्किने गरेको अवस्थमा वर्तमान सरकार गठन भएपछि उच्चस्तरका व्यक्ति पनि धमाधम पक्राउ पर्न थालेपनि कानुनी राज्यको आभास हुन थालेको छ। नेकपाका शक्तिशाली नेता एवं तत्कालीन सभामुख कृष्णबहादुर महरालाई सरकारले चाहेको भए जसरी पनि जोगाउन सक्थ्यो।

तर सभामुखलाई पक्राउ गरेर सरकारले कानुनी राज्यको अनुभूति दिन थालेको सर्वसाधारणले प्रतिक्रिया दिएका छन्। पछिल्लो समय जनताबाट प्रत्यक्ष निर्वाचित सांसद धमाधम पक्राउ पर्न थालेका छन्। त्यसमा सत्तारुढ दलका सांसद पनि छन्। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको आरोपमा १९ असोजमा पक्राउ परेपछि अन्य माननीयहरू तथा शक्तिमा रहेका अन्य विरुद्ध परेका उजुरीउपर समेत प्रहरीले धमाधम पक्राउ पुर्जी जारी गर्न थालेको छ भने केही सांसद पक्राउ परिसकेका छन्।

तत्कालीन माओवादीबाट दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका महरा यौन दुव्र्यवहारको आरोपपछि हाल प्रहरी हिरासतमा छन्। उनीमाथि प्रहरीले हिरासतमा नै राखेर अनुसन्धान अघि बढाइरहेको छ। महरापछि नेपाली कांग्रेसका तर्फबाट रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित मोहम्मद अफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ।

उनीमाथि १२ वर्षअघि पहिलो संविधानसभा चुनावका समयमा बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोग छ। प्रहरीले कांग्रेस सांसद आलमलाई २६ असोजमा रौतहटबाटै पक्राउ गरेको थियो। उनीमाथि समेत जिल्ला अदालत रौतहटबाट म्याद थप गरेर अनुसन्धान हुँदै छ।
यसैगरी राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रमोदकुमार साहलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले २८ असोजमा काठमाडौंबाट पक्राउ गरेको थियो ।

जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा प्रहरीले साहलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले जनकपुरमा नै हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। राजपाका सांसद रेशमलाल चौधरीसमेत हाल जेल सजाय भोगिरहेका छन्। उनलाई टीकापुरमा भएको जघन्य हत्याको घटनामा अदालतले दोषी ठहर गरेको थियो। उनी प्रतिनिधिसभा निर्वाचनका क्रममा राजपाका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।

यसैगरी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङलाई पक्राउ गर्न दोलखा प्रहरीले ३५ दिने म्याद जारी गरेको छ। दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङलाई ज्यान मार्ने उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले २२ दिनअघि अर्थात् ८ असोजमा नै पक्राउ पुर्जी तामेल गरेको हो। उनीसहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?