नरेन्द्र मोदीले लिए दोस्रो कार्यकालका लागि सपथ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १७, २०७६
|
|
१७ पटक हेरिएको
Shares
नरेन्द्र मोदीले लिए दोस्रो कार्यकालका लागि सपथ

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार साँझ दोस्रो कार्यकालका निम्ति पद तथा गोपनियताको सपथ लिएका छन् ।
  • हालै सम्पन्न लोकसभा निर्वाचनमा अत्यधिक बहुमत पाएको भारतीय जनता पार्टी भाजपाका नेता मोदीलाई राष्ट्रपति रामनाथ कोविन्दले आमन्त्रित हजारौँ पाहुनाको उपस्थितिमा सपथ गराएका थिए ।
  • मोदीसँगै उनको दलका अध्यक्ष अमित शाह सहितका वरिष्ठ नेताहरूले मन्त्री पदको सपथ लिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार साँझ दोस्रो कार्यकालका निम्ति पद तथा गोपनियताको सपथ लिएका छन् । हालै सम्पन्न लोकसभा निर्वाचनमा अत्यधिक बहुमत पाएको भारतीय जनता पार्टी भाजपाका नेता मोदीलाई राष्ट्रपति रामनाथ कोविन्दले आमन्त्रित हजारौँ पाहुनाको उपस्थितिमा सपथ गराएका थिए । मोदीसँगै उनको दलका अध्यक्ष अमित शाह सहितका वरिष्ठ नेताहरूले मन्त्री पदको सपथ लिएका छन् ।

मोदीले सूर्यास्तभन्दा केही अघि प्रधानमन्त्री पदको सपथ लिएका हुन् । गत साता सम्पन्न चुनावमा मोदीको दल भाजपाले सन् २०१४ को निर्वाचनमा भन्दा पनि बढी सीटकासाथ बहुमत प्राप्त गरेको हो ।

राष्ट्रपति भवनको खुला प्राङ्गणमा प्रधानमन्त्रीलाई सपथग्रहण गराइएको यो तेस्रो पटक हो । भारतीय प्रधानमन्त्री मोदीले सपथग्रहण गर्दै भने, “मैले भय वा पक्षपात, अनुराग वा द्वेषविना सबै व्यक्तिहरूप्रति संविधान र विधिअनुसार न्याय गर्नेछु।“

मोदीको सपथ ग्रहण समारोहमा नेपाल सहित बाङ्गलादेश, श्रीलङ्का, भुटान, म्यानमारलगायतका सरकार प्रमुख र नेताहरू उपस्थित रहेका थिए । तर मोदीले सन् २०१४ मा पहिलो पटक सत्तारोहण गर्दा निम्ता गरिएका पाकिस्तानका सरकार प्रमुख यसपटक निम्त्याइएका थिएनन् ।

समारोहमा बलिउड कलाकार, खेलाडी, उद्यमी र समाजका प्रतिष्ठित व्यक्तिहरू पनि सहभागी थिए । मोदीपछि सोही समारोहमा उनको मन्त्रिमण्डलका सदस्यहरूले पनि सपथ लिएका छन् । जसमा मोदीका विश्वासपात्र मानिएका भाजपाका अध्यक्ष अमित शाह पनि छन्।

पार्टीका पूर्व अध्यक्षद्वय राजनाथ सिंह र नीतिन गडकरी लगायतका नेताहरूले मोदीको मन्त्रिमण्डलमा पुनः प्रवेश पाएका छन् । मोदीले मन्त्रिमण्डलमा नयाँ अनुहारलाई पनि समावेश गरेका छन् । त्यसमा पूर्व्विदेश सचिव एस जयशंकर पनि परेका छन् ।

नेपालमा संविधान जारी हुनुअघि काठमाण्डू आएका जयशंकरले केही दिन संविधान जारी नगर्न आग्रह गरेको नेपाली नेताहरूले बताएका थिए । लोकसभा चुनावमा धेरैको अपेक्षा विपरीत मोदीको दलले अत्यधिक बहुमत प्राप्त गरेको थियो । बिबिसीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?