नवौंपटक सरकार विस्तार, थपिए तीन मन्त्री, आज शपथ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०८०
|
|
२७ पटक हेरिएको
Shares
नवौंपटक सरकार विस्तार, थपिए तीन मन्त्री, आज शपथ

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका तीन सांसद मन्त्री नियुक्त भएका छन् ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार कांग्रेस सांसद धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बूलाई मन्त्री नियुक्त गरेका हुन् ।

काठमाडौं । नेपाली कांग्रेसका तीन सांसद मन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार कांग्रेस सांसद धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बूलाई मन्त्री नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र लिम्बूलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनीहरूको पद तथा गोपनीयताको शपथ बिहीबार (आज) हुँदै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लोपटक ३ वैशाखमा आठौंपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यसबखत कांग्रेस सांसद एनपी साउदलाई परराष्ट्रमन्त्री र नेकपा एकीकृत समाजवादीका सांसद नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त गरिएको थियो ।

यस्तै, त्यसअघि १७ चैतमा कांग्रेसका तर्फबाट चार सांसद सातौंपटकको विस्तारमा मन्त्री नियुक्त भएका थिए । त्यसबखत पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा. प्रकाशशरण महत अर्थ, सीता गुरुङ शहरी विकास र रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका थिए ।

त्यसअघि १६ फागुन, १४ फागुन, २३ माघ, १४ माघ र ३ माघमासमेत मन्त्रिपरिषद् विस्तार भएको थियो भने प्रधानमन्त्री प्रचण्डले ११ पुसमा प्रधानमन्त्रीका रूपमा शपथ लिएका थिए ।

नवौंपटक सरकार विस्तार गर्दासमेत मन्त्रिपरिषद् अझै अपूर्ण छ । अझै पनि प्रधानमन्त्री मातहत वन मन्त्रालय र खानेपानी मन्त्रालय छ । सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डा गर्दा वन मन्त्रालय जनता समाजवादी पार्टीको भागमा परेको थियो भने खानेपानी मन्त्रालयबाट जनमत पार्टीका अब्दुल खान बाहिरिएपछि प्रधानमन्त्री आफैंले सम्हाल्दै आइरहेका छन् । जसपाले वन मन्त्रालयमा कसलाई पठाउने अझै निर्णय लिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?