पूर्व प्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था झन् नाजुक
सारांश
- भारतका पूर्व प्रधानमन्त्री अटलविहारी बाजपेयीको स्वास्थ्य अवस्था झन् नाजुक बनेपछि भारतका शीर्ष नेताहरु बाजपेयीलाई राखिएको अस्पताल पुग्न थालेका छन्।
- बाजपेयी दुई महिनादेखि दिल्लीस्थित अल इण्डिया मेडिकल साइन्सेस (एम्स) मा उपचाररत छन्।
- भारतीय टेलिभिजन च्यानल एनडिटिभीले बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनलाई भेन्टिलेटरमा राखिएको बताउँदै बुधबार (३० साउन) देखि नै शीर्ष नेताहरु बाजपेयीलाई हेर्न तथा उनको स्वास्थ्य अवस्थ बुझ्न अस्पताल पुग्न थालेको बताएको छ।
भारतका पूर्व प्रधानमन्त्री अटलविहारी बाजपेयीको स्वास्थ्य अवस्था झन् नाजुक बनेपछि भारतका शीर्ष नेताहरु बाजपेयीलाई राखिएको अस्पताल पुग्न थालेका छन्। बाजपेयी दुई महिनादेखि दिल्लीस्थित अल इण्डिया मेडिकल साइन्सेस (एम्स) मा उपचाररत छन्।
भारतीय टेलिभिजन च्यानल एनडिटिभीले बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनलाई भेन्टिलेटरमा राखिएको बताउँदै बुधबार (३० साउन) देखि नै शीर्ष नेताहरु बाजपेयीलाई हेर्न तथा उनको स्वास्थ्य अवस्थ बुझ्न अस्पताल पुग्न थालेको बताएको छ। मृगौला र छातिमा समस्या देखिएपछि पूर्व प्रधानमन्त्री बाजपेयीलाई २८ जेठमा सो अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले बिहीबार बिहान विज्ञप्ती जारी गरी पूर्व प्रधानमन्त्री बाजपेयीको अवस्था चिन्ताजनक रहेको र ‘लाइफ सपोर्ट सिस्टम’ मा राखिएको बताएको छ।
बाजपेयीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएपछि बुधबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अस्पताल पुगेका थिए। यसैगरी रेलवे मन्त्री पियुष गोयल, टेक्सटायलमन्त्री स्मृति इरानीले पनि बुधबार नै अस्पताल पुगेका थिए। बाजपेयी प्रधानमन्त्री हुँदा उपप्रधान तथा गृहमन्त्री रहेका लालकृष्ण आडवाणीले पनि अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। यसैगरी सोमबार भाजपा अध्यक्ष अमित शाह, गृहमन्त्री राजनाथ सिँह, मन्त्री बैंकैया नायडु लगायत पनि बिहीबार बिहान अस्पताल पुगेका छन्।
बाजपेयीको अवस्था कति चिन्ताजनक छ भन्ने कुरा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले बनाएको दिल्ली जाने कार्यक्रमले पनि देखाउँछ। बापपेयी प्रधानमन्त्री हुँदा मन्त्री रहेकी बेनर्जी बाजपेयीको स्वास्थ्य अवस्था बुझ्न आजै नयाँदिल्ली जाँदैछिन्। ‘बाजपेयीबाट स्नेह पाएकोमा म आफूलाई भाग्यमानी सम्झन्छु’ यसैक्रममा विहारका मुख्यमन्त्री नीतिश कुमारले भनेका छन्, ‘उहाँ मेरो अविभावक हुनुहुन्थ्यो, म उहाँको शीघ्र स्वास्थ्यलाभको काम गर्दछु।’
जम्मु कास्मिरकी पूर्व मुख्यमन्त्री मेहबुबा मुफ्तीले ट्वीट गर्दै भनेकी छन्, ‘हरेक भेटमा उहाँले मप्रति दर्शाउनु भएको मायाँ र स्नेह म कहिल्यै बिर्सन सक्दिन।’ भारतीय सञ्चारमाध्यमहरुले भारतीय राजनीति र व्यक्तिगत जीवनमा समेत बाजपेयीको योगदानबारे विभिन्न नेताहरुको भनाई लिएर यस्ता समाचार दिन थालेबाट संकेत मिल्छ कि, पूर्व प्रधानमन्त्री बाजपेयी जीवनको अन्तिम अवस्थामा छन्।
स्वतन्त्रतापछि सन् १९९६ मा पहिलो पटक भारतको दशौँ प्रधानमन्त्री बनेका बाजपेयीको पहिलो कार्यकाल जम्मा १३ दिनको थियो। त्यसपछि भएको निर्वाचनमा विजय हासिल गरेपछि उनको प्रधानमन्त्रित्वकाल १३ महिनाको थियो। सन् १९९९ मा भएको निर्वाचनपछि चाहिँ उनको सरकारले ५ बर्षे कार्यकाल पुरा गर्यो, यो नै गैरकांग्रेस सरकारले पुरा अवधि शासन गरेको भारतको पहिलो सरकार थियो।
प्रतिक्रिया