प्रचण्डले भने-हाम्रा दाह्रा, नंग्रा सबै भाँचिए, सबै माओवादीहरु मिलौं’
सारांश
- काठमाडौं ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाशक्ति नेपालका नेताहरुलाई पार्टिमा स्वागत गर्दै अब कुनै पनि तागतले माओवादीलाई हराउन नसक्ने बताएका छन् ।
- प्रचण्डले माओवादी धाराका सम्पूर्ण क्रान्तिकारी घटकहरुलाई एक हुन अपिलसमेत गरे ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाशक्ति नेपालका नेताहरुलाई पार्टिमा स्वागत गर्दै अब कुनै पनि तागतले माओवादीलाई हराउन नसक्ने बताएका छन् । प्रचण्डले माओवादी धाराका सम्पूर्ण क्रान्तिकारी घटकहरुलाई एक हुन अपिलसमेत गरे ।
नयाँशक्तिबाट विद्रोह गरेका देवेन्द्र पौडेल नेतृत्वको समूह र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका पदम खड्का ‘जीवन’को समूहलाई प्रचण्डले मंगलबार पार्टीमा स्वागत गरे । कार्यकर्ताहरुले खचाखच भरिएको कोटेश्वरको एक पार्टी प्यालेसमा नवप्रवेशी नेताहरुलाई स्वागत गर्दै प्रचण्डले भने, ‘पार्टी पुनर्निर्माणको अभियान सुरु भयो, तपाईंहरु आउँदै हुनुहुन्छ, अझै आउँदै हुनुहुन्छ, हजारौं आउँदै हुनुहुन्छ । कांग्रेस, एमाले जस्ता रुढिवादी दक्षिणपन्थीहरु आउट । उनीहरु आउट ।’
माओवादी धाराका पार्टी र समूहहरु एकढिक्का भएमा कुनै पनि शक्तिले माओवादीलाई हराउन नसक्ने प्रचण्डको विश्वास छ । ‘हामी एकपटक एक भएर जाग्यौं भने कसैको केही लाग्दैन । त्यसका लागि आउनुस् अझै अभियान चलायौं,’ उनले भने ।
विगतमा माओवादी सबैभन्दा ठूलो पार्टी हुँदा अहंकार र दम्भ बढेको प्रसंग कोट्याउँदै प्रचण्डले त्यसैको परिणाम माओवादी पार्टी बिभाजित भएको बताए । तर अब त्यसबाट पाठ सिकेको प्रचण्डले बताए । माओवादी आन्दोलनबाट प्राप्त उपलब्धी संस्थागत गर्नुपर्ने चुनौति रहेकाले फेरि ध्रुविकरण र एकता अभियान सुरु गरेको प्रचण्डको भनाइ छ ।
‘हामी भुक्त भोगी भएर आएका छौं । हण्डर ठक्कर खाएर यो देशको आवश्यकता के हो र यथार्थ के हो भन्ने थाहा पाएर एकीकृत भएका छौं,’ प्रचण्डले भने, ‘हिजो ठूलठूलो अहंकार र दम्भ हामी सबैमा थियो । हाम्रा दाह्रा, नंग्रा, सिंग, जुरा सबै भाँचिएका छन् । हामी कसैले अब घमण्ड गर्नुपर्ने केही पनि छैन । अब हामी सबै मिलौं ।’
प्रतिक्रिया